८ बैशाख २०८१, शनिबार | April 20, 2024

गौतमबुद्ध विमानस्थल र बुटवल–नारायणगढ सडक आयोजनालाई कोरोनाको ‘धक्का’ !



बुटवल । यस क्षेत्रमा निर्माणाधीन २ ठूला आयोजनाको काम अगाडि बढाउन समस्या देखिएको छ ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल–नारायणगढ सडक खण्डमा कार्यरत प्राविधिक सहितका चिनियाँ कामदार फर्किन नसक्दा पूर्वाधार निर्माणमा समस्यासँगै चिन्ता थपिएको हो ।

ती प्राविधिक तथा कामदारहरू चिनियाँ नयाँ वर्ष (जनवरी २५) मनाउन गएको समयमा चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि फिर्ता हुन पाएका छैनन्, त्यसको प्रत्यक्ष प्रभाव यी २ ठूला आयोजनामा परेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले कामदारहरू फर्किन नपाउँदा टर्मिनल भवनभित्रको कन्भेयर वेल्ट र धावनमार्गमा लाइट जडानको काम ठप्प भएको बताउनुभयो ।

‘हामी उपकरण जडानको अन्तिम फेजमा थियौं’ अधिकारीले भने, ‘घर गएका कामदारहरू फर्किन पाएनन्, अन्य भौतिक संरचनाहरूको काम भइरहेपनि प्राविधिक क्षेत्रको काम ठप्प भएको छ ।’

सन् २०१९ डिसेम्बर ३० मा निर्माण सम्पन्न गर्ने भनिएपनि काम नसकिँदा फेरि विमानस्थल निर्माणको म्याद ३ महिना थपिएको छ ।

अहिलेकै अवस्था रहने हो भने थपिएको समयमा पनि विमानस्थल निर्माण पूरा हुनेमा आशंका बढेको । हालसम्म ८७ प्रतिशत काम सकिएको आयोजना प्रमुख अधिकारी बताउनुहुन्छ ।

कोरोना भाइरसको महामारीपछि चीनले हवाई र सडक यातायातमा रोक लगाउनुका साथै सीमा नाका बन्द गर्दा नेपालको पर्यटन र पूर्वाधार विकासमा प्रत्यक्ष असर देखिन थालेको छ ।

शिलान्यास भएको झण्डै एक वर्षपछि बल्ल काम शुरू हुन लागेको बुटवल नारायणगढ सिक्स लेन सडक विस्तारको कामलाई पनि कोराना भाइरसले अप्ठ्यारोमा पारेको छ ।

चिनियाँ कामदारहरू फर्कन समस्या भएपछि नेपाली प्राविधिकसहितका कामदारले कामलाई अघि बढाएका छन् । अहिले बुटवलदेखि नारायणगढसम्मको कुल १ सय १३ किलोमिटर सडक विस्तारको काम भइरहेको छ ।

सडक विस्तारको काम चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले लिएको छ । सडक विस्तारको कामअन्तर्गत बुटवलदेखि पश्चिम नवलपरासीको दाउन्नेसम्मको ४८.५ किलोमिटर सडकको एक खण्डमा काम शुरू भएको छ । त्यसैगरी पूर्वी नवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकलाई दोस्रो खण्डमा विभाजन गरी काम भइरहेको छ । दुवै खण्डमा हालसम्म रूख कटानको काम भइरहेको छ ।

केही स्थानमा रूख कटानको काम सकिएको छ । बर्दघाटदेखि खैरहनीसम्मका रूख काटिसकिएको छ । खैरहनीबाट बुटवलसम्मका रूख काट्ने काम केही दिनमा शुरू हुने नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्ड बर्दघाटका सूचना अधिकारी इञ्जिनीयर युवराज पाण्डेले बताउनुभयो । ड्रेन, पुलको काम पनि अघि बढेको छ । बिजुली र खानेपानीको पाइप व्यवस्थापनको काम अगाडि बढाउन थालिएको छ ।

व्यवस्थापन र प्राविधिक गरी २० जनाको हाराहारीमा चिनियाँ कामदार रहेको आयोजनाको काममा मुख्य प्राविधिक र प्रशासनिकमा चिनियाँ नै छन् ।

आधाभन्दा बढी प्राविधिक र कामदार चीन गएका छन् । ‘केही प्राविधिक र कामदारहरू घर छुट्टीमा गएका छन् । केहीको डकुमेन्ट नमिलेकाले मिलाउन गएका छन् । रोगको संक्रमण देखिएपछि उनीहरू चीनमै रहेका छन्,’ इन्जिनियर पाण्डेले भन्नुभयो ।

नेपालमा आएपनि दुई हप्ता स्वास्थ्य क्याम्पमा बसेर परीक्षण सकिएपछि मात्र आउन भनेर प्राविधिकसहित अन्य कामदारलाई भनिएको पाण्डेले बताउनुभयो ।

‘चाइनिज कामदारहरू नआएपछि उनीहरूको ठाउँमा नेपालीले काम हेरेका छन् । केही समस्या भएपनि शुरूआती चरण भएकाले त्यति ठूलो समस्या भने छैन । तर केही दिनपछि पनि फर्किएनन् भने समस्यै हुन्छ,’ उहाले भन्नुभयो ।

उक्त खण्ड विस्तारको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सन् २०२२ अगस्त १ मा सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सडक विस्तारका क्रममा नदीजन्य पदार्थको अभावले पनि समस्या भएको पाण्डे बताउनुहुन्छ ।

‘सडकका लागि उपयुक्त माटो पाउन समस्या छ । अहिले पश्चिम नवलपरासीको ज्यामिरे र बाँसाबसहीको माथिल्लो भागबाट माटो ल्याएर काम भइरहेको छ, त्यहाँ सकियो भने समस्या हुन्छ,’ पाण्डेले भन्नुभयो ।

पूर्वाधारसँगै पर्यटन क्षेत्रमा पनि कोरोनाले प्रत्यक्ष असर पुर्‍याएको छ । लुम्बिनी आउने पर्यटकको संख्या पनि घट्दै गएको छ ।

भारतले पनि नेपाल–भारत सीमा नाका बेलहिया (सुनौली)मा चिनिया पर्यटकलाई प्रवेशमा रोक लगाएको छ ।

यो समाचार लोकान्तरका लागि प्रकाश आचार्यले लेख्नुभएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ४० बजे

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच