१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

सुधारको बाटोमा उपत्यकाको ट्राफिक व्यवस्थापन



काठमाडौ । ‘आहा कति राम्रो सडक, देशभरि यस्तै सडक बनाए कति काइदा होला’ भक्तपुरको जडीबुटी हुँदै सूर्यविनायक जाने सडकमा यात्रा गर्ने यात्रुका मुखबाट बेलाबेलामा फुत्त निस्किने शब्द हुन् यी । यसलाई व्यवस्थित सडक भनेर चिनिन्छ पनि । पछिल्लो समयमा भने नारायणगढ–मुग्लिन सडकको यसैगरी प्रशंसा हुने गरेको छ ।

गाडीको भीडभाड कम हुने भएकाले भक्तपुरको चिल्लो सडकमा सवारी चलाउन पाउँदा औधी खुशी हुने चालक सवारी लेन व्यवस्थापन नहुँदा खिन्न हुन्थे । लोकल सवारी, ढिलो हिँड्ने सवारी, साना र ठूला जुनसुकै सवारीले एउटै लेन प्रयोग गर्दा यातायात आवागमन अस्तव्यस्त मात्रै होइन, दुर्घटनाको जोखिम पनि थियो ।

फागुन १४ गतेदेखि भने उक्त जोखिम विस्तारै कम हुन थालेको छ । लेन व्यवस्थापनको नयाँ नियम लागू भएपछि चालकहरुले पहिलेजस्तो सास्ती बेहोर्नुनपरेको प्रतिक्रिया दिएका छन् । यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधन यहाँको सडकमा बायाँ सर्भिस लेनबाट गुड्छ । निजी तथा साना सवारी साधन दायाँ (द्रुत) लेनबाट मात्र चल्छ । जसले यातायात आवागमनमा सहज भएको अनुभव सुनाउनुहुन्छ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल ।

चालकमा चेतना नहुँदा र लापरवाही गर्दा कार्यान्वयनमा केही समस्या यथावत छ । प्रभावकारी कार्यान्वयनका लागि ट्राफिक प्रहरीले भूमिका बढाउनुपर्ने देख्नुहुन्छ, दैनिक स्कुटर चलाउने भक्तपुरकी सुजाता भट्टराई ।

महाशाखाका प्रमुख ढकालका अनुसार उक्त सडकमा ट्राफिक प्रहरी बढाएर लेन अनुशासन कायम गर्न नियमित सचेतना चलाइएको छ । पहिलो चरणमा लेन अनुशासन पालना गर्न अनुरोध गरिएको र त्यसपछि उल्लङ्घन गरे कारवाही गर्ने महाशाखाको तयारी छ । लेन अनुशासन कार्यान्वयनको अवस्था ९० प्रतिशत प्रगति भएको उहाँको दाबी छ ।

कोटेश्वर–कलङ्कीमा पनि लेन व्यवस्थापन

प्रहरीले जडीबुटी–सूर्यविनायकमा झैँ आइतबारदेखि लागू हुनेगरी कोटेश्वर–कलङ्की सडकमा समेत लेन व्यवस्थापन गर्दैछ । त्यसको तयारीमा आज यहाँ बोर्ड राख्ने काम र प्रचारात्मक कार्यक्रम गरिएको छ । काठमाडौँ उपत्यकाको सवारी आवागमन सहज पार्दै दुर्घटना न्यूनीकरण गर्न यसरी चक्रपथको सडकबाट लेन प्रयोगलाई व्यवस्थित गर्न थालिएको छ । नयाँ नियम लागू भएपछि यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधन बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधन दाहिने (द्रुत) लेनबाट मात्र चलाउनु पर्नेछ ।

भक्तपुरको जडीबुटीबाट सूर्यविनायकसम्मको सात किलोमिटर सडक लेन व्यवस्थापन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारदेखि १० किलोमिटर रहेको कोटेश्वर–कलङ्की आठ लेन सडकखण्डमा पनि लेन व्यवस्थापन गर्न लागेको हो । उक्त अभियानलाई नियमित गराउँदै उपत्यकाको मुख्य सडक क्षेत्रमा लेन व्यवस्थापन गर्ने तयारी छ । अबको अर्काे चरणमा कोटेश्वर–गौशालामा लागू गरिने र त्यसपछि कलङ्की–नागढुङ्गामा व्यवस्थापन गरिने एसएसपी ढकालले बताउनुभयो ।

महाशाखाले पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडक लेनलाई अनुशासित एवं व्यवस्थितरूपमा पालना गराउन अभियान थालेको छ । लेन व्यवस्थापन हुँदा सवारी आवागमन सहजता हुने र ट्राफिक नियम पालनामा प्रगति हुने विश्वास छ । “यहाँको सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुवाहक, मालवाहक र बिस्तारै गुड्ने गाडी एउटा लेन र साना, हलुका तथा द्रुतगतिमा गुड्ने सवारी साधन अर्काे लेनबाट चलाइनु अन्तरराष्ट्रिय अभ्यास हो, त्यसैलाई कार्यान्वयन गर्न खोज्दैछौँ, लेन व्यवस्थापन हुँदा दुर्घटना न्यूनीकरण हुन्छ”, महाशाखा प्रमुख ढकालले भन्नुभयो । अभियान शुरु गर्नुअघि यातायात व्यवसायीसँग छलफल गरिएको र चालकलाई जानकारी गराइएको थियो ।

ट्राफिक प्रहरीले उपत्यकाको सडकखण्डलाई व्यवस्थित गर्न, ट्राफिक नियमको पालना गराउन, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि गर्न र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको विकास गर्न प्रयास गरिरहेको छ । उपत्यकाको विभिन्न क्षेत्रमा ट्राफिक लाइटको व्यवस्थापन भएकाले सवारी र बटुवा आवागमनमा सहज देखिँदै आएको छ ।

सरकारले पछिल्लो समयमा उपत्यकाको सडक मर्मतदेखि खाल्डाखुल्डी पुर्ने काम गरेकाले पनि छिटफुटबाहेक सडकको अबस्थासमेत सुधारिएको छ । लेन व्यवस्थापन नहुँदा जथाभावी उछिल्ने, ‘यू–टर्न’ गर्ने, ढिलो हिँड्ने सवारीले बाटो ओगट्ने समस्या छ । यसले सवारी दुर्घटना बढाउँछ । त्यसैले लेन व्यवस्थापन गरी छिटो जानेलाई प्रतिघण्टा ५० किलोमिटर र ढिलो हिँड्ने गाडीलाई प्रतिघण्टा २० किलोमिटर गति तोकेको महाशाखाले जनाएको छ । सचेतना दिन ठाउँठाउँमा ट्राफिक प्रहरी प्लेकार्ड बोकेर उभिने गरेका छन् ।

यस्तो छ सुधारको प्रयास

केही महिनाअघि उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त थियो भने खाल्डाखुल्डीका कारण ठूलो समस्या थियो । खाल्डाखुल्डी पुर्न सरकारले निर्देशन नै दिनुपरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालको संयोजकत्वमा सरकारले ट्राफिकमैत्री भौतिक पूर्वाधारसम्बन्धी अल्पकालीन योजना निर्णाणका लागि समिति नै गठन गरेको थियो । जसमा ट्राफिकसम्बन्धी सरोकार राख्ने १० निकायको सहभागिता छ । समितिको लगातारको बैठकले विभिन्न विषय समेटेर ३७ बुँदे सुधार योजना सार्वजनिक गरेको थियो ।

उपत्यकाको सडक कालोपत्र गर्ने, खाल्डाखुल्डी पुर्ने, रोड मार्किंङ गर्ने, लेन कायम गर्ने, पार्किङ व्यवस्थापन गर्ने, आकाशे पुल र करिडोरका सडक व्यवस्थापन, जाम व्यवस्थापन र सडकमा परेका पम्प हटाउने उक्त योजनामा समेटिएका थिए । अहिले त्यही योजना कार्यान्वयनको चरणमा लगिएको समितिका सदस्यसचिवसमेत रहनुभएका एसएसपी ढकालले बताउनुभयो । केही पूरा भएको, केही जारी रहेको र केही प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा दुई हजार १४ किमी बाटो छ । यहाँ दैनिक १२ लाख गाडी गुड्छन् । सडक कम तर गाडी धेरै हुँदा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ । यहाँ ८७ प्रतिशत निजी र आठ प्रतिशत सार्वजनिक सवारी गुड्छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : ३५ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका