नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा भएको दुईदिने प्रतियोगितामा सगरमाथाले ४२९ अङ्क ल्याएर प्रथम भएको हो ।
नेपालगञ्ज स्वीमिङ क्लबले यसअघि आयोजना गरेको ‘दोस्रो नेपालगञ्ज राष्ट्रिय पौडी प्रतियोगिता’को उपाधि पनि सगरमाथा स्वीमिङ क्लब विजेता हो । प्रतियोगितामा नयाँदिल्ली, भारतको इलाइट स्वीमिङ एकेडेमीले १७४ अङ्क ल्याएर दोस्रो भएको हो । त्यसैगरी कोहलपुर, बाँकेको शिखा एकेडेमीले ९५ अङ्क ल्याएर तेस्रो भएको छ ।
त्यसैगरी ललितपुरको जेम्स स्कुल ५९ अङ्कसहित चौथो, भारतको लखनऊको ला मार्टिनेयर गल्र्स कलेज ३३ अङ्कसहित पाँचौँ, कोशी प्रदेश २३ अङ्कसहित छैटौँ र १८ अङ्क ल्याएर रातो बङ्गाल स्कुल, ललितपुर सातौँ भएको छ ।
प्रतियोगितामा पुरुष र महिलातर्फका सर्वोत्कृष्ट खेलाडी सगरमाथा स्वीमिङ क्लबका भएका छन् । सात वटा स्वर्ण जितेर पुरुषतर्फ निभान समन अवाले र १० वटा स्वर्ण जितेर राइजा अवाले महिलातर्फ सर्वोत्कृष्ट खेलाडी भएका हुन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही रु पाँच हजार ५५५ प्रदान गरिएको थियो । आयोजकले अण्डर–८ का खेलाडी कौतिक शर्मा (रातो बङ्गाल स्कुल, ललितपुर) र विधि नेपाल (मेम्पल क्यानेडियन स्कुल) लाई इमर्जिङ खेलाडीका रूपमा सम्मान गरेको थियो ।
विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्यसचिव तिरणराज गौतम, नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव ईश्वरकुमार कार्की, प्रतियोगिताको स्क्रिन पार्टनर ‘डर्मा अर्थ’का जीवन धमला, नेपालगञ्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपाने, इभेन्ट डाइरेक्टर तथा क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीलगायतले ट्रफी, मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए ।
अण्डर–८ देखि अण्डर–१७ तथा ओपन अर्थात् १७ वर्षभन्दा बढी उमेरका खेलाडीबीच पौडीका फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले गरी छ छुट्टाछुट्टै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा नेपालका सबै प्रदेशका साथै भारतको नयाँदिल्ली र लखनऊबाट गरी करिब १५० जना खेलाडी सहभागी भएका थिए ।
















प्रतिक्रिया