२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

कुखुरापालक मारमा : ‘मूल्य घट्यो, लगानी डुब्यो’



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका डेकबहादुर कार्कीको फार्ममा करिब दुई हजार कुखुरा बजारीकरणका लागि तयारी अवस्थामा छन् । लकडाउनको पूर्वसन्ध्यामा कार्कीको श्री केसी पोल्ट्री फार्ममा राखिएका ब्रोइलर कुखुराका चल्ला हुर्कँदै जाँदा खुशी हुनुपर्नेमा निराश हुनुहुन्छ । लकडाउनसँगै बजारमा कुखुराको माग र मूल्य दुवै घटेपछि कार्की निराश बन्नुभएको हो ।

दुई हजार ३५० वटा कुखुराका चल्ला र दानापानीसहित अहिलेसम्म रु साढे सात लाखको हाराहारीमा लगानी भइसकेको भए पनि बजारमा माग र मूल्य नै नभएकाले समस्यामा परेको कार्कीले बताउनुभयो । “हिसाब गर्ने हो भने प्रतिकिलो कुखुरामा रु २४० बढी हाम्रो नै लगानी हुँदो रहेछ, तर अहिले प्रतिकिलो रु २०० मा बिक्री गर्न पनि कठिन छ, यस पटक लगानी उठाउन पनि कठिन हुने भएको छ”, उहाँले भन्नुभयो ।

लागतअनुसारको मूल्य नपाउँदा यस पटक कम्तीमा रु दुई लाख घाटा हुने निश्चित भएको उहाँले दुःखेसो पोख्नुभयो । विगत १५ वर्षदेखि व्यावसायिकरुपमा कुखुरापालन गर्दै आउनुभएका कृषक कार्कीलाई फार्ममा यस पटक ५०० बढी कुखुरा मरेको र लकडाउनका कारण मूल्य नपाउने समस्याले पिरोलेको छ । तीन हजार बढी कुखुरापालन गर्नसक्ने क्षमताका तीन वटा खोरलगायतका पूर्वाधार निर्माणमा कार्कीले अहिलेसम्म रु ५० लाख खर्च गरिसकेको उहाँको भनाइ छ ।

लकडाउनपछि दानामा समेत प्रतिबोरा रु ५० को दरले मूल्यवृद्धि भएपछि कृषको लागत बढेको छ । ब्रोइलर कुखुरा पालक कृषकसँगै अण्डा उत्पादन गर्ने लेयर्स कुखुरापालकसमेत समस्यामा परेका छन् । उत्पादन भएको अण्डाले बजार र उचित मूल्य नपाउने समस्या बढ्दै गएको कृषक आनन्द रिजालले बताउनुभयो । बेनपा–२ खवरामा चार हजार लेयर्स कुखुरा पालेका रिजालले दैनिक १७ कार्टुन अण्डा उत्पादन हुने भए पनि बजारमा खपत घटेका कारण समस्या सिर्जना भएको बताउनुभयो ।

उहाँका अनुसार लकडाउनअघि एक कार्टुन अण्डालाई रु दुई हजार २०० सम्ममा बिक्री हुने भए पनि अहिले एक हजार ९०० मा बिक्री गर्न थालिएको छ । यी केही प्रतिनिधिमूलक उदाहरण हुन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण कुखुरापालन गर्ने कृषक मारमा परेका छन् । लकडाउनसँगै बजार सुनसान बनेको र होटल तथा रेष्टुराँ बन्द भएका कारण बजारमा मासु र अण्डाको माग ह्वात्तै घटेको छ ।

लकडाउनको पूर्वसन्ध्यामा फार्ममा कुखुरा राखेकाको यतिबेला बिक्री गर्ने समय भइसकेको भए पनि बजार अभावले समस्या सिर्जना भएको म्याग्दी कुखुरा व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष शिव खड्काका अनुसार म्याग्दीमा दैनिक एक हजार क्विन्टल मासु खपत हुने भए पनि अहिले १०० क्विन्टलको हाराहारीमा मात्रै खपत हुने गरेको छ ।

म्याग्दीमा व्यावसायिकरूपमा कुखुरा पालन गर्ने ५० भन्दा बढी फार्म रहेका छन् । लकडाउनका कारण बाहिरबाट कुखुराका चल्ला नभित्रिएको भए पनि फार्ममा बिक्री गर्नका लागि तयारी भएका कुखुराले बजार पाउन नसकेको अध्यक्ष खड्काको भनाइ छ । यता ग्रामीण भेगमा कुखुरा पालन गरेका कृषक लकडाउनका कारण सवारी आवतजावतमा परेको प्रभावले दाना र उत्पादन भएका कुखुरा र अण्डा बजारीकरणका लागि ढुवानीको थप समस्यामा परेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १० : ०१ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न