१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कसरी स-यो सुत्केरी महिलालाई कोरोना भाइरसको संक्रमण ?



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको छ ।

यो ज्यानमारा भाइरसले एक जना ९ दिनकी सुत्केरीको ज्यान लिएको छ । मृत्यु त भैहाल्यो, अब ति सुत्केरीलाई कोरोना भाइरस कसरी स-यो भन्ने प्रश्न गम्भीर बनेको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ९ राम्चे चालिसे गाउँकी २९ वर्षीया महिला काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सामान्य अवस्थामा बैशाख २४ गते सुत्केरी भइन ।

बैशाख २३ गते सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएकी उनको नर्मल डेलिभरी भएकै कारण अस्पतालले २५ गते डिस्चार्ज गरिदियो । त्यसपछि उनको परिवार आफ्नो गाउँ सिन्धुपाल्चोक पुग्यो ।

सुत्केरी हुनुअघि काठमाडौंको टोखा नगरपालिका वडा नं. ९ गोंगबु बसेकी ती महिलाको सुत्केरी हुनु र सुत्केरी पछिको अवस्था सामान्य नै रहेको उनको परिवारले जनाएको छ ।

गोंगबुमा तरकारी पसल गरेर बस्ने उनीहरु लकडाउनका बीचमा गाउँ जान सकेका थिएनन् । किनकी जेठ २२ गते सुत्केरी हुने समय दिएका थिए डाक्टरले । गाउँमा गएर सुत्केरी गराउन गा-हो हुने कारण काठमाडौंमै जसोतसो बस्ने निर्णय भएको थियो ।

तर, सुत्केरी पछि आमा र वच्चाको स्याहार गर्न समस्या हुने भएकै कारणले उनीहरु गाउँ फर्किएका थिए । बाह्रबिसेबाट आएको एम्बुलेन्समार्फत उनीहरु घर पुगे । घर पुग्दा माइतीबाट पनि खुशी हुँदै छोरी र वच्चालाई हेर्न आफन्त आए । सबैले खुशीयाली साटे ।

तर, गाउँमा फर्केपछि बैशाख ३१ गते उनलाई स्वाश्वप्रवासमा समस्या देखिन थाल्यो । जेठ १ गते बिहानै उपचारका लागि बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइयो । चिकित्सकले एक्सरे गर्दा छातीमा खराबी देखिएपछि थप उपचारका लागि धुलिखेल अस्पताल लैजान रिफर गरे । समयमै एम्बुलेन्स नपाईंदा साँझसम्म कुर्नुपर्यो । धुलिखेल अस्पताल पुर्याउँदा रातिको साढे ९ भइसकेको थियो । अस्पतालसम्म पुग्दा उनलाई झन बढी अप्ठेरो भैसकेको थियो । अस्पताल पुग्ने वित्तिकै चिकित्सकहरुले उनको उपचारका लागि सबै प्रक्रिया अपनाए । तर आधा घण्टामै मृत्यु भयो ।

अस्पतालले मृतकको स्वास्थ्यसमस्या कोरोना भाइरसँग मिल्दोजुल्दो भएकाले तत्कालै आरडीडी टेस्ट अघि बढायो । रिपोर्ट पोजेटिभ देखियो । त्यसपछि पीसीआर टेस्ट भयो । त्यो पनि पोजेटिभ देखिएपछि शव लैजान खोजेका आफन्तलाई सम्झाएर शनिवारसम्म कुर्न लगाएको थियो । त्यसबीचमा अन्तिम निस्कर्षका लागि मृतक महिलाको स्वाव टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भयो । रिपोर्ट पोजेटिभ नै आयो ।

त्यसलगत्तै सरकारले जारी गरेको कोरोनाबाट मृत्यु भएकाको दाहसंस्कार कार्यविधिअनुसार नेपाली सेनाको रेखदेखमा आइतबार राति पशुपति आर्यघाटमा उनको दाहसंस्कार भयो । दाहसंस्कारमा परिवारका सीमित सदस्य मात्र उपस्थित हुनसके ।

कसरी सर्यो भाइरस ?

सुत्केरीका श्रीमानका अनुसार उनीहरु लकडाउनको बेलामा घरभन्दा बाहिर कतै गएका थिएनन् । न त उनीहरु कसैको सम्पर्कमा थिए ।

यदि यो सत्य हो भने उनलाई कोरोनाको संक्रमण कहाँबाट सर्यो त ? यो प्रश्न अहिले नेपालको स्वास्थ्य क्षेत्रका लागि गम्भीर बनेर उब्जिएको छ ।

मृतक महिलाको कोरोना प्रमाणित भएपछि परिवार र सम्पर्कमा आएजति सबैको कोरोना परिक्षणका लागि स्वाव लिइएको छ । तर, कोरना उनलाई कसरी सर्यो भन्ने भेद नखुलेसम्म सरकार र नेपाली चिकित्सकका लागि भने टाउको दुखाईको विषय बनिरहने देखिन्छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको अनुसन्धान गरिरहेको जनाएको थियो । आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीहरुसहित नेकपाबाट संसदका दुबै सदनमा प्रतिनिधित्व गर्ने संसदीय दलका पदाधिकारीहरुको बैठक बसेको थियो । सो बैठकमा ती सुत्केरी महिलाको मृत्युबारे अनौपचारिक रुपमा चासो व्यक्त गरिएको थियो । जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उनको मृत्यु कोरोना भाइरसबाटै भएको पुष्टि गर्दै उनको सम्पर्कको बारेमा गम्भीरतापूर्वक खोजविन गर्न निर्देशन भैसकेको बताउनुभएको थियो ।

स्वास्थ्य मन्त्रालयले राति ९ बजे सुत्केरी महिलाको मृत्युको औपचारिक पुष्टि गरे पनि दिउसै ‘कोरोनाबाट मृत्यु भएको’ समाचार त हावा सरी फैलिइसकेको थियो । तर, सरकारले भने धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिने वित्तिकै खोजविन सुरु गरिसकेको मन्त्री ढकालले बालुवाटारमा दिएको जवाफबाट प्रष्ट हुन्छ । सरकारले शुक्रबारबाटै कोरोना भाइरसको संक्रमण कहाँबाट सर्यो भन्नेबारेमा कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको थियो । थप पुष्टिका लागि भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि स्वाव परीक्षण गरिएको थियो ।

मृतकका श्रीमानको अनुमान त्रिवि शिक्षण अस्पतालबाटै कोरोना सरेको हुनुपर्छ भन्ने छ । लकडाउनका बेला कतै ननिस्कि घरमै बसेका कारण अन्तबाट कोरोना सरेकोमा उनी विश्वास गर्दैनन्। उनले कोही आफन्तलाई पनि नभेटेको दाबी गरेका छन् । त्यसैले उनको शंकाको सुई टिचिङ अस्पताल तिरै सोझिएको छ ।

कोरोनाबाट मृत्यु नेपालको पहिलो घटना भएको छ । विश्वभरिमा ९६ जना नेपालीको कोरोना भाइरसकै कारण मृत्यु भैसकेको छ । तर, नेपाल अहिलेसम्म सुरक्षित थियो ।

त्यसो त नेपालमा कोरोना भाइरसको रुप पनि विश्वका अन्य मुलुकको भन्दा फरक देखिएको छ । कोरोना संक्रमण विशेषतः वृद्धवृद्धालाई हुन्छ भन्ने विश्वव्यापी तथ्यलाई नेपालका घटनाक्रमले फरक देखाएका छन् । वच्चादेखि विशेषत युवा उमेर समुहलाई नै बढी कोरोना लागेको छ । नेपालको कोरोनाको फरक स्वरूपको अध्ययन गर्नैका लागि पहिलो कोरोना संक्रमितको जिन अनुसन्धान भैरहेको छ । यद्यपी, संक्रमित युवाको सहमति विना उनको जिन अनुसन्धानका लागि विदेश पठाएको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका वरिष्ठ विज्ञ रिना झासहित पाँच जनालाई स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेको छ ।

सिन्धुपाल्चोककी मृतक महिलाको सम्बन्ध विदेशबाट आएकाहरुसँग नरहेको प्रष्ट छ । त्यसकारण यो मृत्युसँग जोडिएको कोरोना संक्रमणको डोरीको टुप्पो यथाशिघ्र खोजी हुन जरुरी छ । यसको खोजि समयमै हुन सकेन भने र सरकारले पारदर्शी ढंगले सूचना प्रवाह गरेन भने जनमानसमा भय उत्पन्न भैरहनेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ८ : ०४ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७