३२ जेष्ठ २०८१, शुक्रबार | June 14, 2024

बुटवलले खर्लप्पै निलेको बटौलीको इतिहास



बुटवल ।  कुनैबेला सिङ्गो पश्चिम नेपालका जनताको सबै आवश्यकताको आपुर्ति क्षमता राख्ने बटौली यतिबेला एकादेशको कथा जस्तै बनेको छ । बजारभरी सामान खरिद गर्ने ढाक्रेहरुले भरिभराउ हुने बटौलीका सडक सुनसान बनेकाछन् भने आजको नयाँ पुस्तालाई जन्माएका पुराना भग्नावशेष घरहरुले नयाँ पुस्तालाई गिज्याईरहेको छ ।

बुटवलको पुरानो वास्तविक नाम हो बटौली । कुनै बेला करिव आधा नेपाल ओगटेको पश्चिम नेपालका जनताहरुको आपुर्तिको प्रमुख केन्द्र थियो बटौली । चीनको कोराला नाकादेखि पश्चिमको सुर्खेत आसपासका जनताहरुको मुख्य खरिद बिक्रीको नाका नै बनेको थियो बटौली । पहाडबाट झर्दा जडीबुटी, घ्यु, काम्लो लिएर बुटवलमा ढाक्रेहरु आउँथे भने बुटवलबाट नुन, मट्टीतेल, कपडा, साबुन, चिनी जस्ता सामानहरु लिएर जाने गर्दथे । सामान किन्न आउने ग्राहकहरुलाई तत्कालिन अवस्थामा ढाक्रे भन्ने गरिन्थ्यो ।

बटौलीको व्यसायीहरुले त्यसरी सामान किन्न आउने ढाक्रेहरुलाई दाउरा, तेल, चामल दिन्थे र उनीहरुले स्थानीय धर्मशाला पौवामा पकाएर खाने गर्दथे । जस्ले खाने र बस्नेको ब्यवस्था मिलाउँथे उनै ब्यापारीको पसलबाट ढाक्रेहरुले सामान किन्नु पर्दथ्यो । ढाक्रेहरुले ल्याएको सामान पनि तीनै ब्यवसायीले किनिदिन्थे ।

अहिलेको पश्चिम नेपालकै व्यापारिक केन्द्र मानिने बुटवल बटौली अथवा त्यसभन्दा पनि अझ प्राचीन नामबाट विकसित भएको हो। यो अहिले मात्रै होइन, सयौं वर्षअघि पनि गणराज्यको राजधानी र व्यापारिक नाका पनि थियो।

चीनको तिब्बत र भारतको गोरखपुरको व्यापारिक थलोको विश्राम नाका पहाडको फेदी मधेसको सिरान नै बटौली थियो। बुटवललाई रामदेखि बुद्धसम्म जोडेर इतिहास लेखिएका छन्। हिन्दु धर्मका भगवान् राम बटौली (तिनाउ पश्चिम) हुँदै गण्डकी नुहाउन गुल्मीको रिडी, पाल्पा रामपुरको रामनदी हुँदै गण्डकको भ्रमण गरी खस्यौली (तिनाउ पूर्व) हुँदै अयोध्या पुगेका प्रसंगहरू छन्। योगी नरहरिनाथको (हाम्रो देश दर्शन) पुस्तकले बुटवलको इतिहासलाई द्वापर युगदेखि बुद्धकालसम्मको प्रसंगमा व्याख्या गरेको छ।

बुटवल बुद्धकालमा बुद्ध खेल्ने बुद्धवल्ली थियो। योगी नरहरिनाथको प्रसंग कोट्याउँदै डा. टीकाराम पन्थीले लेखेका छन् ‘बुद्धवल्लीबाटै बुटवल नामकरण भएको हो।’ यस नगरको नामाकरण सम्बन्धमा बिभिन्न जनश्रुतिहरू सुन्न पाइन्छ । बिभिन्न ठाँऊहरूबाट मानिसहरू बटुलिएर बसेको हुनले बटौली भनिएको र अपभ्रम्स भई बुटवल भएको भनिन्छ ।

इतिहासको सहर हालको बुटवल नभई बटौली थियो। जुन तिनाउ तिरको जितगढी किल्लाको छेउमा खुम्चिएर बसेको छ। बटौली र खस्यौली नाम अहिलेको आधुनिक बुटवलमा विलय भए। खस्यौली गुल्जार हुँदै गयो। नुन र घिउ साटेर व्यापार चम्काउने बटौली सुनसान बन्यो। प्रशासनिक रूपमा बटौली–खस्यौली पञ्चायत पनि बनेको थियो कुनै बेला। पछि प्रशासनिक नाममा पनि बटौली हरायो। अहिले बुटवल उपमहानगरपालिकाका नामले चम्किएको छ। कथ्यमा बटौली जीवित रहेपछि लेख्यमा बटौली हराइसकेको छ।

वि.सं. २०१६ मा बुटवल खस्यौली नगरपालिका स्थापना भएपछि हालसम्म १५ व्यक्तिले त्यसको नेतृत्व प्रदान गरे। वि.सं. २०१७ मा बहुदलीय व्यवस्था विघटन भएपछि यसको नाम फेरियो र बुटवल खस्यौली नगरपञ्चायत राखियो। त्यसलाई बोलीचालीमा बुटवल नगरपञ्चायत भनियो। बहुदलीय व्यवस्था पुनःस्थापना भए पश्चात् त्यसको नाम बुटवल नगरपालिका रहन गयो। बुटवल नगरपालिकाको पहिलो नेतृत्व दिने व्यक्तित्वमा मुन्नीलाल शाक्य (२०१६-२०१७ साल) दोस्रामो ओमशङ्कर श्रेष्ठ (२०१९-२०२३ साल) तेस्रोमा परीक्षितप्रसाद लाकौल (२०२४-२०२६ साल), चौथोमा सरस्वतीप्रसाद शेरचन (२०२६-२०२८ साल र पुनः २०३३ देखि २०३६ सालं)भएका थिए। यसैगरी हरिबहादुर सिंह वि.सं. २०२८ मा प्रधानपञ्चमा निर्वाचित भएका थिए। उनले चार पटकसम्म नगरपञ्चायतको प्रधानपञ्च चलाए। त्यस्तै बुटवल नगरपालिकाको प्रधानपञ्चमा पत्रकार सूर्यलाल वि.सं. २०३० मा, बृजमान श्रेष्ठ, २०३६ देखि २०३९ सालसम्म तथा सू्र्यप्रसाद प्रधान (२०४९(२०५३) र भोज प्रसाद श्रेष्ठ (२०५४-२०५९) नगरप्रमुख भएका थिए।

इतिहासको यस्तो कालखण्ड गुजारेको बटौली यतिबेला भने एकादेशको कथा जस्तै बनेको छ । अहिले पनि बटौलीमा ती कालखण्डका घरहरु छन् । तीनै घरमा जन्मेका धेरै स्थानीबासी मुलुकका प्रतिस्थित ओहोदामा समेत पुगिसकेकाछन् । तर बटौलीको अवस्था भने दिनप्रतिदिन बिग्रंदै गएको छ ।

इतिहासको योगदानलाई जोगाउने जिम्मा राज्यका तीनै तहको भएपनि राज्य बटौलीको योगदानलाई जोगाउन उदाशिन देखिएको बटौली संरक्षण समितिका अध्यक्ष रबिन्द्र गोपाल लाकौल आरोप लगाउँछन् ।

बटौलीको सामाजिक र सांस्कृतिक स्वरूप निकै बेग्लै छ। यहाँको रैनाथे जाति के हो भन्न सकिने अवस्था छैन। बुद्धकालमा थारू र शाक्यवंशका मानिस बसोबास गर्थे भन्ने ग्रन्थहरूमा लेखिएका छन्। पाँच सय वर्षअघि पाल्पाका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधन (मधेसी) जातिलाई व्यापारका लागि बटौली ल्याएका थिए। कशौधनपछि नेवार जातिको बसोबास बटौलीमा रहेको देखिन्छ।

बटौलीबाट हिजोका व्यापारीहरु शहर छाडेर अन्यत्र गएपनि बुटवलको इतिहास जोगाउँदै गयाप्रसादको मिठाई पसल र केहि सिद्रा ब्यापारीले भने बटौली छाडेका छैनन् । बुढा पुरानाहरु अहिले पनि गयाप्रसादको मिठाई पसलमा जेरी खान आउँछन् भने धेरै टाढाटाढाबाट बटौलीमा सिद्रा खरिद गर्न उपभोक्ताहरु पुग्ने गर्दछन् ।

पुरानो बटौलीलाई स्मरण गर्दै तेस्रो पुस्ताकारुपमा बटौलीमा मिठाई पसल गर्दै गरेका गया प्रसाद हल्वाई पहिलेको बटौली अव त बुटवल बनि सक्यो भन्छन् ।

गया प्रसादका बाजे असर्फिलालले खोलेको मिठाईपसललाई पिता सिताराम हल्वाई देखि हाल ६२ वर्षमा गयाप्रसादले सञ्चालन गर्दै आएका छन् । उनका २ छोरा पनि मिठाई बनाउने काममा नै रहेकाछन् ।

इतिहासमा नेपालको व्यापार व्यवसायमा ठूलो योगदान गरेको बटौलीको अस्तित्वलाई जोगाउने हो भने पुरानै शैली र आकारका घरहरुको नक्सांकन गरि बटौलीको अस्तित्व जोगाउन उपमहानगर तयार हुनु पर्दछ ।

बिगतमा ढाक्रे भएर आउँदा बसेका घरहरु उस्तै कलामा बनाउन सके, उहिले घिउ खार्ने कराई उस्तै सजाउन सके र उहिले बनेका कलात्मक घरलाई उस्तै आकार दिन सके बटौली फेरी एक पटक इतिहास अन्वेशकहरुलाई अध्ययनको केन्द्र बन्न सक्दछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ६ : ४१ बजे

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति

नेपालगन्ज । जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु

संसद् सञ्चालनका कतिपय प्रक्रियामा पुनःविचार गर्नुपर्छ : एमाले सचिव भट्टराई

काठमाडौं । विद्यार्थी जीवनदेखि मुलुकको रूपान्तरण र अग्रगतिका लागि आन्दोलनमा

बस दुर्घटना अपडेट : उपचारका क्रममा कार चालकको मृत्यु

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज

दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-भारतबीचको दीर्घकालीन विद्युत व्यापार

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन