३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?



पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवद्र्धनसम्मका कार्यक्रम समावेश छन् ।

निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि नियमित अन्तरराष्ट्रिय उडान हुन नससेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिने अर्थमन्त्री वाग्लेले बताए । एक हजार २०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण ढाँचामा निर्माण अगाडि बढाइने उनले उल्लेख गरे।

लामो समयदेखि चर्चामा रहेको बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा जलाशयुक्त जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गरिने बजेटमा उल्लेख छ । म्याग्दीस्थित ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने जनाइएको छ । निर्माणाधीन तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइने अर्थमन्त्री वाग्लेले बताए ।

काठमाडौँलाई पर्यटकीय राजधानी पोखरासँग जोड्ने पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–दमौली–पोखरा खण्ड शीघ्र सम्पन्न गरिने उनले बताए । सिद्धार्थ राजमार्गको अन्तरराष्ट्रियस्तरमा रुपान्तरण सुरु गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ–उद्यम व्यवसायी केन्द्रित ‘गण्डकी चतुर्भुज’ बनाइने बजेटमा उल्लेख गरिएको छ । त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै ‘शालिग्राम पथ’ विकास गरिने अर्थमन्त्री वाग्लेले बताए ।

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा आधारित ‘निर्वाण पथ’ प्रवद्र्धन गर्दै ध्यान, साधना, योग, बौद्ध–बैद्धिक दर्शन तथा मुस्ताङ, मनाङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गरिने भएको छ । गोरखामा रहेको गोरखकाली रबर उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी निजी–सार्वजनिक साझेदारी ढाँचामा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र पूरा गरिने अर्थमन्त्री वाग्लेले बताए ।

पोखरा उपत्यकामा सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न इ–मोबिलिटी सेवा छिट्टै सुरु गरिने बजेटमा उल्लेख छ । सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई दु्रतमार्गका रुपमा निर्माण सुरु गरिने जनाइएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरनीदेखि पोखरासम्मको चार लेन सडक शीघ्र सम्पन्न गरिने भएको छ । आँबुखैरेनी–मुग्लिन सडक निर्माण सुरु गरिने अर्थमन्त्री वाग्लेले बताए ।

खप्तड–रामारोशन–बढिमालिका–बूढीनन्दा–रारा–स्वर्गद्वारी हुँदै मुक्तिनाथ जोड्ने गरी उच्च पहाडी पर्या–पर्यटन पदमार्ग ‘डाँफे रुट’को विकास गरिने उनले बताए ।

यस्तै, अपि हिमाल, दोर्दी हिमाल, सिकलेस–कहुपुचे–मनाङ जोड्ने पदमार्ग विकास गरिने जनाइएको छ । साइकल ट्रेलका लागि कास्कीको लिपेनी–थुम्सीकोट–भाचोक–लम्तरी (प्रिन्स चाल्स रुट हुँदै करापुसम्म) र ब्यास–छाब्दी बाराही–बन्दीपुर–छिम्केश्वरी–लाब्दी–देवघाट रुट निर्माण गरिने बजेटमा उल्लेख छ ।

पोखरा, काडमाडौँ, विराटनगरलगायत सहरमा दुई हजार क्षमताको इन्डोर मल्टीपर्पोज स्टेडियम तीन वर्षभित्र निर्माण गरिने अर्थमन्त्री वाग्लेले बताए । पोखरामा रहेको प्राकृतिक तथा वैकल्पिक चिकित्सासहितको आयुर्वेद अस्पताललाई सञ्चालनमा ल्याई आयुर्वेद तथा प्राकृृतिक चिकित्सालाई स्वास्थ्य पर्यटनसँग जोडिने भएको छ । मुस्ताङ र मनाङमा रहेको ऐतिहासिक गुम्बाहरुको संरक्षणका लागि विशेष परियोजना सञ्चालन गरिने बजेटमा उल्लेख छ । देवघाट–मुक्तिनाथ–तिलिचो जोड्ने गरी प्रादेशिक पर्यटकीय करिडोर निर्माण गरिने अर्थमन्त्री वाग्लेले बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  १० : ०३ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका