७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना महामारीका कारण वैदेशिक लगानीका अधिकांश सडक योजना ठप्प



काठमाडौं । कोभिड–१९ र सरकारले जारी राखेको बन्दाबन्दीका कारण वैदेशिक लगानीका अधिकांश सडक योजना ठप्प बनेका छन् ।

वैदेशिक लगानी र निर्माणको जिम्मेवारी विदेशी कम्पनीलाई नै दिइएको योजनामा कम्पनीका अधिकांश कर्मचारी आआफ्नो देश फर्किएकाले निर्माण ठप्प बनेको हो । गत चैतको पहिलो साता रोकिएका योजना तत्काल सञ्चालन गर्ने अवस्था नरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । सरकारले तत्काल अन्तरराष्ट्रिय उडान खुलाउने अवस्था नभएकाले आफ्नो देश फर्किएकाहरु नेपाल आउन नसक्ने महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो ।

त्यसो त नेपालमा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले उनीहरु आफैँ पनि निर्माणका लागि नेपाल नआउन सक्छन् । उहाले भन्नुभयो, ‘सङ्क्रमण कम भएर अवस्था सामान्य नहुँदासम्म काम शुरु नहुन सक्छ ।’ हाल नेपालमा वैदेशिक सहयोगमा कतिपय योजना निर्माणाधीन छन् भने कतिपय अध्ययनका क्रममा र कति अध्ययन सकिएर ठेक्का प्रक्रियामा जाने अवस्थामा छन् ।

सबै अवस्थामा रहेका योजनामा बन्दाबन्दीको प्रभाव परेको छ । नागढुङ्गा सुरुङमार्ग, नौबिसे–नागढुङ्गा सडक विस्तार, काठमाडौं चक्रपथ सडक विस्तार (कलङ्की–चाबहिल खण्ड), स्याफ्रुबेंसी सडकलगायतका योजना बन्दाबन्दी कारण प्रभावित बनेका हुन् । सरकारले गत चैत ११ मा बन्दाबन्दी घोषणा गरेसँगै देशभरका अधिकांश सडक योजनासहितका वैदेशिक सडक योजनाको पनि निर्माण रोकिएको थियो ।

सरकारले अन्तरराष्ट्रिय उडान बन्द गर्नु पहिले निर्माणस्थलमा रहेका विदेशी आआफ्नो देश फर्किएको प्रमुख थापाले बताउनुभयो । उहाले भन्नुभयो, ‘यहाँ भएका कम्पनीले पनि काम शुरु गर्न सकिरहेका छैनन् ।’ बन्दाबन्दीको कही सातापछि सरकारले कृषि, उद्योगसँगै विकास निर्माणलाई निरन्तरता दिने निर्णय गरेको थियो । सम्बन्धित जिल्ला प्रशासनसँगको समन्वयमा निर्माण शुरु गरिए पनि विरोधका कारण निरन्तरता दिन नसकिएको उहाले बताउनुभयो ।

बन्दाबन्दीसँगै निर्माण कम्पनीले स्थानीय कामदारलाई सम्बन्धित जिल्लामा पुर्‍याएको थियो । बन्दाबन्दीमै सरकारले निर्माण जारी राख्ने निर्णयसँगै उनीहरुलाई निर्माणस्थलमा फर्काइएको प्रमुख थापाले बताउनुभयो । कामदारको आरडिटी विधिबाट कोभिड–१९ परीक्षण भए पनि स्थानीय तहले निर्माण जारी राख्दा सङ्क्रमण फैलने भन्दै त्यसको विरोध गरेका थिए । उहाले भन्नुभयो, ‘स्थानीय तह र स्थानीयवासीले हुँदैन भनेकाले काम शुरु गर्न सकिएको छैन ।’

चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरेको चीन सरकारले दोस्रो खण्ड बिस्तारका लागि अध्ययन गरिसकेको छ । पहिलो खण्डमा संरचना हटाउँदै निर्माण अघि बढाउँदा समयभन्दा केही ढिलाई भएको थियो । दोस्रो खण्डमा भने सरकारले सडक निर्माणस्थल खाली गरेपछि मात्रै निर्माण शुरु गर्ने चिनियाँ पक्षसँग सहमति भएको थियो । सरकारले निर्माणस्थल खाली गरेर चिनियाँ पक्षलाई हस्तान्तरण गरेभन्दा पहिले नै कोभिड–१९ को त्रासका कारण उनीहरु चीन फर्किएका थिए ।

आगामी आवमा सो सडकमा चिनियाँ पक्षले काम शुरु गर्ने उहाको भनाइ छ । उहाले भन्नुभयो, ‘सामान्य अवस्था भएपछि उनीहरु आएर काम शुरु गर्नेछन् ।’ जापान सरकारको सहयोगमा निर्माण शुरु भएका र अध्ययन भइरहेका योजना पनि अघि बढेका छैनन् । काठमाडौ‌ उपत्यकाको सबैभन्दा बढी जाम हुने जडिबुटीमा फ्लाई ओभर वा सुरुङमार्ग निर्माणका लागि जापान सहयोग नियोग (जाइका) ले अध्ययन गरिरहेको थियो ।

त्यस्तै तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जाइकासँग सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागिसमेत सरकारसँग छलफल भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं भित्रने मुख्य नाका नागढुङ्गाको सडक चापको समस्या समाधानको उपायका रुपमा अघि बढाइएको नागढुङ्गा सुरुङमार्ग निर्माण पनि अहिले ठप्प छ । जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माणाधीन सो सुरुङमार्ग निर्माण शुरु भएको केही महिनामा नै रोकिएको छ । अहिले पनि थोरै व्यक्ति त्यहाँ कार्यरत रहेका प्रमुख थापाले बताउनुभयो ।

विश्व बैंकको सहयोगमा नौबिसे–नागढुङ्गा सडक विस्तारका लागि अध्ययन भइसकेको छ । उहाले भन्नुभयो, ‘यो सडकमा आगामी आवमा ठेक्का सम्झौता भएर काम अघि बढाइनेछ ।’ सरकारले निर्माण गरिरहेका सडकमा समेत बन्दाबन्दीको प्रभाव परेको छ । सङ्घीय सरकारले निर्माण गरिरहेका अधिकांश सडक र पुल निर्माण अपेक्षानुसार अघि नबढेको सडक विभागले जनाएको छ ।

हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तर–दक्षिण करिडोरलगायतका राष्ट्रिय गौरवका आयोजनामा निर्माण जारी राख्ने सरकारले निर्णय गरे पनि थोरै स्थानमा मात्रै निर्माण शुरु गरिएको आयोजना निर्देशनालयले जनाएका छन् ।

सरकारको आर्थिक सर्वेक्षणअनुसार सङ्घीय सरकारले गत फागुनसम्ममा ५५९ किमी सडक कालोपत्र, ६५७ किमी ग्राभेल र २५२ किमी कच्ची सडकको निर्माण गरेको छ । चालू आवको गत फागुनसम्ममा नै १५७ किमी सडक आवधिक मर्मत भएको थियो । रासस

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : १२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११