११ बैशाख २०८१, मंगलबार | April 23, 2024

महाभ्रष्टाचारको पोल खुल्दै : ‘ओम्नी समुहलाई पोस्न स्वास्थ्यमन्त्री ढकाल र सल्लाहकार कार्कीको गतिविधि शंकास्पद’



काठमाडौं । कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदहरुले बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री, विज्ञ सल्लाहकार र मन्त्रालयका अधिकारीहरुको भूमिकामाथि आशंका गर्दै गम्भीर प्रश्न उठाएका छन् ।

समितिले सोमबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहसँग स्वास्थ्य सामग्री खरिद कार्यमा भएको अनियमितताका विषयमा छलफल गरेको छ । छलफलमा प्रतिपक्षी दलका सांसदहरुले मात्रै होइन, सत्तापक्षकै सांसदहरुले समेत स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई दिन मन्त्री र विज्ञ सल्लाहकारले गरेको हतारोले पनि अनियमितता भएको स्पष्ट हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले गत चैत १२ गते दिनभर हतामा बैठक गरेर काम गरेको देखिएकाले मन्त्री र सल्लाहकारलाई आशंका गर्ने ठाउँ देखिएको बताए । खतिवडाले १२ गते राती नै बैंकलाई, कम्पनीलाई, समूहलाई पत्राचार गरी काम गरिएको र पछि फेरी ठेक्का नै रोकेर क्यान्सिल गर्ने कार्यले अनियमितता भएको स्पस्ट हुने जिकिर गरे ।

उनले भने, ‘काम यति छिटो भएको देखिन्छ कि १२ गते दुईवटा बैठक एउटा एक बजे देखि कतिबजे सम्म, फेरी राती सातबजेपछि कति बजेसम्म बैठक बस्यो त्यो भन्न सकिदैन् । तर के चाहिं देखिन्छ भने राती सात बजेको बैठक सकिएर तय भएर अनेकौं पत्राचारहरु भएको छ । एउटा मात्रै होइन अनेकौं । बैंकलाई लेख्ने पत्र देखि लिएर समुहलाई लेख्ने पत्रदेखि लिएर अनि सम्बन्धित ओम्नी समुहले प्रतिवद्धता देखि लिएर जस्तो के भनिएको छ भने कोटेसनको बिल छनोट भएको र १२ गते साँझ बेलुका सात बजेबाट बैठक सुरु भएर वार्ता गरेर सिफारिस गरेको हो । १२ गते मन्त्रीस्तरबाट निर्णय भयो, छनौट भयो १२ गते नै कम्पनीलाई कार्य दिइयो । कम्पनीले १२ गते नै पत्राचार ग-यो १२ गते नै बैंकलाई पत्राचार भयो यस किसिमबाट राती १२/१ बजेसम्म यो सबै अड्डा कार्यालय बैंक कसरी खुला बस्यो मलाई आश्चर्य लागेको यहिं हो ।’

सांसद खतिवडाले ओम्नी समुहले ल्याएको स्वास्थ्य सामग्रीको गुणस्तर जाँच्नको लागि समेत ३/४ वटा कम्पनीलाई छनौट गरी पत्राचार भएको देखिएको तर ति संस्थाले सामग्रीहरु गुणस्तरीय छ भनेर जवाफ दिएको कतै नभेटिएको जिकिर गरे ।

नेकपा सांसद धर्मशिला चापागाईंले अनियमितताको आरेप आरोपका लागि मात्रै नलगाइएको प्रष्ट पारित । चापागाईंले महामारीका बेला अनियमितता गरेको कुरा आउँदा जनताले राम्रो नसोचेको भन्दै अनियमितता गर्ने छुट कसैलाई नभएको बताइन् । उनले भनिन, ‘यो आरोपका लागि आरोप होइन । कहाँकाहाँबाट हामीले कमजोरी ग-यौं यस्तो महामारीका बेला सत्य कति हो ? हाम्रो देशको प्रधानमन्त्रीलाई भन्न खोजेको होइन अरु देशको स्वास्थ्य मन्त्री र प्रधानमन्त्री त्यहाँका बिरामी देखेर रुन्छन हाम्रो देशको कर्मचारी साथीहरुले यो ढंगले अनियमितता गरेको कुरा बाहिर आउँदा जनताले के बुझ्छन ? यस्ता अनियमितताका कुरा हामीलाई गर्न छुट छ ?’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सूर्य प्रसाद पाठकले सामान ल्याउन नसकेको भन्दै ओम्नी समुहलाई रोक्ने काम भएकाले ओम्नीलाई समान ल्याउन दिने कमिटीले अनियमितताको जिम्मा लिनुपर्ने जिकिर गरे । सांसद पाठकले कानूनको मात्रै प्रश्न नभएकाले नैतिकताको आधारमा पनि कमिटिले जिम्मा लिनुपर्ने बताए ।

उनले भने, ‘मार्च ३० गते उसले केही सामानहरु ल्याएजस्तो लाग्छ । तर अर्को लटको सामान ल्याउन भन्दा पहिले ठेक्का रद्ध गरियो । किन रद्ध गरियो भने त्यो कम्पनीले समान ल्याउन सक्दैन त्यो कम्पनी विश्वसनिय रहेन त्यो कम्पनीले आफ्नो ड्युटी निभाएन भनेर ठेक्का रद्ध गरियो । त्यसो भए त्यो कम्पनीलाई सामान ल्याउनका लागि सिफारिस गर्ने कमिटिले यसको जिम्मा लिन पर्दैन । यो कानूनको मात्रै प्रश्न छैन् । यो नैतिकताको प्रश्न पनि हो । यसको नैतिक जिम्मेवारी कसले लिन्छ । आजको प्रमुख प्रश्न छ यो ।’

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले मन्त्रीका सल्लाहकारको भूमिका सन्देहपूर्ण देखिएको बताए । मन्त्रीका सल्लाहकारले गरेको निर्णयको जिमेवारी मन्त्रीले नै लिनुपर्ने बताउँदै रिजालले भने, ‘एकै दिन सबै निर्णय भयो रातारात सबै दौडधुप पनि भयो कि सल्लाहकारलाई नै प्रमुख जिम्मा दिएर काम गरेको थियो । मैले बुझ्ने के हो भने सल्लाहकारको नेतृत्वमा भएको निर्णयको सबै जिम्मेवारी उहाँले सल्लाह जसलाई दिनुपर्ने हो त्यहिं पुग्छ । जव त्यसको कुनै औचित्य रहदैन् । ’

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले राजन केसीले चैत ९ गते मनोनित भएका सल्लाहकारलाई खरिद प्रक्रियाको संयोजक नियुक्त गर्न नै कानून विपरित भएको बताए । सांसद केसीले यहि अनियमितताको विषय बाहिर आउने डरले तत्कालिन सचिव र डिजिलाई सरुवा गरिएको हुनसक्ने आशंका समेत व्यक्त गरे ।

उनले भने, ‘एउटा यहाँ उठेको कुरा के हो भने सचिव, मन्त्री, राज्यमन्त्री, डिजि सबै बसेको मिटिङमा चैत ९ गने मनोनित हुनुभएका सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न संयोजकका रुपमा उहाँलाई अधिकार अधिकार दिइयो त्यो कानून अनुसार मिल्छकि मिल्दैन त्यसको जवाफ सचिवले दिनु प¥यो । यद्यपी सचिवज्यू त्यहाँ भर्खरै नियुक्त हुनुभएको छ । सायद यसै कारणले होला पहिलाको सचिव र डिजि त्यहाँ हुनुहुन्न । डिजि पनि भर्खरै आउनुभएको छ । भर्खर आयो भन्दैमा प्रश्न नसोध्ने कुरा पनि रहेन् । अभिछिन्न अधिकारी पनि हो उहाँ । एउटा कुरा क्लियर गरिदिनुप¥यको कि यो सार्वजनिक खरिद ऐन २०६३ को १ सय ४५ आकर्षित भएको देखिन्छ ।’

केसीले कोरोना भाइरस रोगको सम्बन्धमा विज्ञको रुपमा नियुक्त गरिएको व्यक्तिलाईसामान खरिदको संयोजक बनाउनु नै अनियमितताको मनस्थिति देखिने स्पष्ट भएको जिकिर गरे ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले स्वास्थ्य सामग्री खरिद कार्यमा खरिद ऐनको धज्जी उठाएको बताए । सांसद यादवले मन्त्रीदेखि सचिव, कानूनी सल्लाहकार, विज्ञ सल्लाहकार सबैको मिलेमतो रहेको धारणा राखे । उनले भने, ‘स्वास्थ्य सामग्री खरिदमा खरिद ऐनको धज्जि उडाइएको छ । त्यसमा बहालवाला मन्त्री देखि सचिव सम्म निर्देशक सम्म निजी सचिव सम्म कानूनि सल्लाहकार सम्म सबैको मिलोमत हामी देखिरहेका छौं ।’

बैठकमा उपस्थित हुनुभएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिडारीले कोभिड १९ संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले खर्च गरेको रकमको विषयमा जानकारी गराएका थिए । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले आफु भर्खरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएकाले खरिद प्रक्रियाको क्रममा भएका गतिविधिका सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको धारणा राखे ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : ३४ बजे

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय