११ बैशाख २०८१, मंगलबार | April 24, 2024

नेकपा स्थायी कमिटी बैठक : जमेर बहस गर्ने मुडमा नेताहरु, हेरौं पाँच नेताका पाँच अपेक्षा



काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पाँचौ स्थायी कमिटी बैठक बुधबारबाट सुरु भएको छ । बुधबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर बैठक समापन भएको बैठक शुक्रबार बिहान ११ बजेको लागि बोलाईएको छ ।

बुधबारको बैठकले कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा, नेपालको सिमा समस्या र समाधानको सम्बन्धमा, पार्टी एकताका बाँकी कामहरु पुरा गर्ने सम्बन्धमा, एम सी सी र विविध सम्बन्धमा छलफल गर्ने एजेण्डा तय गरेको थियो । अध्यक्षद्धय र महासचिव सम्मिलित छलफलबाट स्थायी कमिटी बैठक अघि एजेण्डा तय गरिएको हो । बैठकमा महासचिव विष्णु पौडेलले बैठकको एजेण्डाबारे बताएपछि सरकारको कामको समीक्षा अलग्गै गर्नुपर्ने अडान स्थायी कमिटी सदस्यहरुले राखेपछि थप एजेण्डा तय भएको थियो ।

त्यसैगरी रुकुममा भएको हत्या प्रकरण, नागरिकता विधेयकको सम्बन्धमा र कोरोना महामारीलाई मध्यनजर गर्दै संघ तथा प्रदेश सांसदहरुको बैठक भत्ता कटाउने विषयलाई विविध विषयको रुपमा छलफलमा समावेश गरियो ।

बुधबार अध्यक्षद्वयले आ–आफ्नो मन्तव्य राखे । दुवै अध्यक्षले एक अर्कालाई घोचपेच गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको राम्रो कामको समीक्षा नगरिएको, सरकारलाई पार्टीका शिर्ष नेताहरुबाट असहयोग गरिएको, अलग्गै समुह बनाएर घेराबन्दी गरिएको जस्ता विषयमा अध्यक्ष ओलीले चिन्ता व्यक्त गरे ।

ओली भन्दा अघि बोलेका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमतिबाट आफु पछि हटेकोमा आफैप्रति दुःख मनाउ गरे । सरकारले पार्टीसँग समन्वय नगरी मनलाग्दी गरेको भन्दै प्रचण्डले आक्रोश व्यक्त गरे । पार्टी र सरकार सञ्चालनको निम्ति गम्भीर समीक्षा गर्नुपर्ने प्रचण्डले जिकिर गरे ।

दुई अध्यक्षको कुरा सुनेर स्थायी कमिटी सदस्यहरुले बैठक समापनको सम्भावित अवस्थाबारे मूल्यांकन गरिसकेका छन् । तर, शुक्रबारबाट एजेण्डामा सुरु हुने बहसमा कत्तिको खरो उत्रिएलान स्थायी कमिटी सदस्यहरु ? हामीले पाइन नाप्ने प्रयत्न गरेका छौं ।

स्थायी कमिटीका पाँच नेताका पाँचथरी कुरा हेरौं उनीहरुकै शब्दमा :


गणेश साह
पार्टीलाई विधि, विधान र प्रक्रिया अनुसार अघि बढाउनुपर्यो । नियमित बैठक बोलाउनु पर्यो । पार्टीले गरेका कयौँ निर्णय कार्यान्वयन भएको छैन । ति निर्णयहरुलाई कार्यान्वयन गर्नुपर्छ ।

वर्तमान सरकार नेकपाको हो । घोषणापत्रमा उल्लेख गरिए अनुसारको काम हुनुपर्छ । पार्टीको निर्देशन मान्नुपर्छ ।

कोभिड १९ कोरोना भाइरसले पारेको बहुआयामिक प्रभावहरुको आँकलन गरेर, विश्लेषण गरेर त्यसको सम्बोधन गर्न यो बैठकले सक्नुपर्छ ।

नेपालको नयाँ नक्सा जारी गरेर राष्ट्रवादी देखिएको भएपनि भुमि फिर्ताको मामिला सहज छैन । भारतसँगको छिमेकी सम्बन्ध नबिग्रिने गरी वार्ता अगाडी बढाउने तर्फ ध्यान केन्द्रीत गर्नुपर्छ ।

एमसीसीका कारण पार्टीमा आन्तरिक द्वन्द्व बढ्न सक्छ । अहिले पनि आन्तरिक रुपमा संघर्ष भइरहेको छ । पार्टीभित्र यसबारे अझै गम्भिर छलफल आवश्यक छ । पार्टीले एउटै सोचाई नबनाएसम्म बल प्रयोग गरेर एमसीसी पास गर्नु हुँदैन । एमसीसीका कारण अशान्ति, अराजकता नभित्रिओस् । एमसीसी बारे व्यापक छलफल गरौँ हतारमा निर्णय नगरौँ ।


छविलाल विश्वकर्मा

कार्यसूचीमा रहेका विषयमा स्वतः छलफल हुनेछन् । यो बैठकले देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकतालाई थप मजबुद बनाउन पहलकदमी लिनेछ र सकारात्मक सन्देश प्रवाह गर्नेछ भन्ने अपेक्षा छ ।

कोभिड १९ को महामारी विरुद्ध लड्न पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ । जनताको जीउ, धनको रक्षा गर्न सक्नुपर्छ ।

पार्टी एकताको बाँकी कामलाई टुङ्ग्याउनुपर्छ । सरकारको स्थायित्व गराउनुपर्छ । स्थिरतामा जोड दिनुपर्छ । र नेता, कार्यकर्ता र जनतामा उत्साह जगाउनेगरी अघि बढ्नुपर्छ ।

एमसीसी बारे पार्टीमा छलफल, विमर्श गरी एकताबद्ध भएर अघि बढ्नुपर्छ । देश हितलाई ध्यानमा राखेर अघि बढ्नुपर्छ । पार्टी भित्र विवाद, मत मतान्तरको विषय एमसीसीलाई बनाउनु हुँदैन ।

रुकुम हत्याकाण्डबारे स्थायी कमिटी बैठकमा छलफल हुँदैछ । जातीय भेदभाव उन्मुलन गर्ने विषयमा अब पार्टी गम्भिर हुनुपर्छ । भोलिको दिनमा कहिँकतैबाट विभेद नहोस भन्ने विषयमा ध्यान पुराउनुपर्छ । निष्पक्ष छानविन होस् । पीडितले न्याय, क्षतिपुर्ति तथा पीडकले कारबाही भोग्नु परोस् । आगामी दिनमा यस्तो घटना नघटुन् भन्नेमा छलफल आवश्यक छ ।


हरिबोल गजुरेल

नेकपा झन्डैझन्डै फुटको अवस्थामा पुगेर अहिले बैठकको अवस्थासम्म आईपुगेको छ । बैठकहरु नियमित छैनन् । बैठकलाई निरन्तरता दिनुपर्छ ।

सरकारले राम्रो काम गरेको एकथरी आवाजहरु छन् भने अर्कोथरी आवाज सरकारको आलोचनामा छ । जनचाहाना अनुरुप सरकारको काम नभएको भन्ने गुनासोहरु पनि छन् । सरकारको कामको समीक्षा गहन रुपले गर्नुपर्दछ ।

एमसीसीको सम्बन्धमा बैठकले एउटा निष्कर्ष दिनैपर्छ ।


भिमप्रसाद आचार्य

कोभिड-१९ कोरोना संक्रमणको सम्बन्धमा के कति कमि कमजोरीहरु भएका छन् र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विशेष छलफलको आवश्यकता छ ।

सिमा समस्या आपसी वार्ताबाट समाधान गर्ने र नेपालको कुटनीतिक क्षेत्रको अन्तर्राष्ट्रिय क्षमता वृद्धि गर्ने तर्फ सोच्नुपर्छ । सरकारको कामको पक्ष र विपक्षमा आवाजहरु उठेका छन् । तर आम रुपमा सरकारको कामबाट जनता निराश छन् । सरकारको काम कारबाही परिमार्जन गर्नेगरी निर्णय गर्नुपर्दछ ।

एमसीसी कार्यदलले बुझाएको रिपोर्ट अनुरुप काम अघि बढ्नुपर्छ । एमसीसीका कतिपय प्रावधान सच्याउनुपर्छ । शैन्य वा अशैन्य कुनैपनि किसिमको स्ट्रटेजीमा हामि सामेल हुनु हुँदैन ।

एमसीसीको सम्बन्धमा पनि कतिपय कुराहरु कन्फ्युज छन् । तिनलाई स्पष्ट पारिनुपर्छ । अमेरिकाले एमसीसी बारे स्पष्ट पार्नुपर्छ । यदी देश हितमा छ भने जस्ताको त्यस्तै हैन, परिमार्जन गर्नुपर्दछ । पार्टीको निर्णय सरकारले मान्नुपर्दछ ।


बेदुराम भुसाल

यो बैठक पार्टी एकतालाई बलियो बनाउने तर्फ जानुपर्दछ । सरकारको कामको प्रभावकारिता बढाउन, स्थानीय तहलाई बलियो बनाउने, जनताको सेवामा बढीभन्दा बढी पार्टीलाई केन्द्रीत गर्ने, गराउने विषयमा पार्टीले योजना बनाउनुपर्छ ।

कार्यदलले एमसीसीको प्रतिवेदन सचिवालयमा बुझाएको छ । प्रतिवेदनमा के लेखिएको छ स्थायी कमिटीमा पनि आउला त्यही प्रतिवेदनको आधारमा स्थायी कमिटीमा छलफल हुनेछ र निर्णय गर्नेछौँ ।

एमसीसी संसदबाट पास गर्नु आवश्यक कि अनावश्यक भन्ने विषय पनि छलफलमै छ । तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदबाट पास गराउनुपर्ने सम्झौता नगरेको बताइरहनुभएको छ, यस बारे अझै छलफल गरौँ । एमसीसी राष्ट्रिय हितमा छ भने अघि बढाऔँ, होइन भने परिमार्जन गरौँ ।

एमसीसीमा पार्टीका नेताहरुले असहयोग गरेका छन् भन्ने कुरा होइन, छलफल विभिन्न कोणबाट भएका होलान्, त्यसलाई असहयोग गरेको भनेर भन्न मिल्दैन ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ८ : ५४ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना