गम्भीर मनोवैज्ञानिक समस्या बन्दैछ इन्टरनेट कुलत

इन्टरनेट प्रयोगले बढाउँदै इन्टरनेटप्रतिको निर्भरता
विनोद पौडेल
२२ असार २०७७, सोमबार
                 

लेखक

डिजिटल २०२० : ग्लोबल डिजिटल ओभरभ्यूको तथ्य अनुसार संसारभरिका लगभग ४ अरब ५० करोड वा सम्पूर्ण जनसंख्याको ६० प्रतिशत मानिसहरु इन्टरनेटको प्रयोग गरिरहेकाछन् । संसारभरिका आधा जनसंख्याले सामाजिक सञ्जाल (सोसियल मिडिया)को प्रयोग गर्ने गरेका छन् । गतसालको तुलनामा इन्टरनेट प्रयोग गर्ने संख्या ७ प्रतिशतले वृद्धि भएको र सोसियल मिडिया प्रयोग गर्ने संख्या ९ प्रतिशत ले वृद्धि भएको छ । प्रत्येक दिन सरदर मानिसले ७ घण्टा ४३ मिनेट समय अनलाइनमा बिताउँछन् यदि ८ घण्टा सुत्ने समय घटाउने हो भने दिनको समयको ४० प्रतिशत समय अनलाईनमा बिताउने गरेको देखिन्छ ।

गोलबल डिजिटल ओभरभ्यूको तथ्य अनुसार नेपालकोमा लगभग १ करोड २१ लाख जनसंख्याले इन्टरनेटको प्रयोग गर्ने गरेका छन् । गत वर्षको तुलनामा ३ दशमलव २ प्रतिशत वृद्धि भएको छ । साथै, लगभग १ करोड जनसंख्याले सोसियल मिडिया प्रयोग गर्ने गरेका छन् । यसमा पनि ९ प्रतिशतले वृद्धि भएको छ । नेपालीहरुमा मोबाइलको प्रयोग पनि गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएको छ । यी सबै तथ्याङ्कलाई विचार गर्दा दिन प्रतिदिन इन्टरनेट र सोसियल मिडियामा समय बिताउने मानिसहरुको संख्या वृद्धि हुँदै गएको देखिन्छ ।

इन्टरनेटप्रतिको निरर्भता
नोबल कोरना भाइरस(कोभिड–१९)को कारण बन्दाबन्दीको अवस्थाले पनि इन्टरनेट प्रयोग गर्नेको संख्या अझ वृद्धि हुँदै गएको कुरा विभिन्न अध्ययनहरुले देखाएको छ । अहिलेको अवस्थामा मानिसहरु इन्टनेटको प्रयोग गरेर अथवा अनलाइनमा नै बसेर धेरै समय बित्ने गरेको कुरा बताउन थालेका छन् । अनलाइनमा नै धेरै समय बिताउनाले गर्दा विभिन्न प्रकारका शारीरिक तथा मानसिक समस्याबाट प्रभावित भएको गुनासोहरु व्यक्त गर्ने गर्दछन् । लामो समयसम्म अनलाइनमा नै बित्ने, आफुले चाहेर पनि आफुलाई कन्ट्रोल गर्न नसक्ने समस्यालाई इन्टरनेटको बाध्यता, समस्याग्रस्त इन्टरनेटको प्रयोग भनेर व्याख्या गर्ने गरिन्छ ।

बालबालिका माथि गरिएका अध्ययनहरुले के देखाएको छ भने धरै समय अनलाइनमा बिताउने बालबालिकाहरु पढाइमा ध्यान नदिने, परीक्षादेखि डराउने, एक्लोपनको महशुस गर्ने आदि हुने गर्दछन् । जर्नल अफ कम्प्युटर असिस्ट लर्निङका अनुसार लगभग २५ प्रतिशत विद्यार्थीले प्रतिदिन ४ घण्टा अनलइनमा बिताउने र अन्यले १ देखि ३ घण्टासम्म अनलइनमा बिताउने कुरा उल्लेख गरेको छ ।

जुन व्यक्तिहरुको सामाजिक अन्तरक्रियामा कमि हुन्छ त्यस्ता व्यक्तिहरु इन्टरनेटको कुलतमा फस्न सक्ने कुरा अध्ययनकर्ताहरुले उल्लेख गरेका छन् । साथै, विश्वमा लगभग २ प्रतिशत जनसंख्या इन्टरनेटको कुलतमा फस्न सक्ने तथ्य उन्लेख गरेका छन् । डा. रोबर्टो पोलीले २०१७ मा इन्टरनेटको कुलतको पाँच किसिमको बारेमा उल्लेख गरेका थिए, जुन यस प्रकारका छन् :

साइबर यौन कुलत : यस विकारबाट प्रभावित व्यक्ति बढि भन्दा बढि यौनजन्य भिडियोहरु हेर्ने, भिडियोहरु डाउनलोड गर्ने, यौन सम्बन्धको लागि प्रचारप्रसार गर्ने आदि गर्दछ ।

साइबर सम्बन्ध सम्बन्धी कुलत : यस विकारबाट प्रभावित व्यक्ति अनलाइनमार्फत सम्बन्धहरु राख्ने, नयाँ नयाँ सम्बन्ध स्थापित गर्न सर्च गरिरहने, आफ्नो वास्तविक सम्बन्धलाई महत्व नदिने गर्दछन् । यस्ता व्यक्तिहरुको वैवाहिक तथा पारिवारिक सम्बन्धहरुमा समस्या आउने गर्दछ ।

इन्टरनेटको बाध्यता : यस विकारबाट प्रभावित व्यक्तिहरु इन्टरनेटमा गेम खेलिरहने, अनलाइन किनमेल (सामान छान्ने तथा किन्नको लागि मगाउने) मा बढी समय बिताउने र आफ्नो सामान बिक्रिको लागि प्रचार गरिरहने आदि गर्दछन् ।

अत्याधिक सुचनाको खोजी गर्नै : यस विकारबाट प्रभावित व्यक्तिहरु धेरै भन्दा धेरै जानकारीहरु खोज्ने जम्मा गर्ने जसको लागि लामो समय अनलाइनमा बिताउने गर्दछन् ।

कम्प्युटर कुलत : यस विकारबाट प्रभावित व्यक्तिहरु पहिला नै कम्प्युटरमा राखिएका गेम खेलेर धेरै समय बितउने गर्दछन् ।

हामी आफुले पनि इन्टरनेटको लत बस्न लागेको छ कि छैन भन्ने कुरा पहिचान गर्नु जरुरी हुन्छ जसको लागि केहि प्रश्नहरु आफूले आफूलाई गर्ने जस्तै स् के मेरो धेरै समय भिडियो गेम खेलेर बित्ने गरेको छ ?, के मेरो धेरै समय अनलाइनमा सामान छान्ने, अर्डर गर्ने, र किन्नेमा बित्ने गरेको छ ?, के म फेसबुक नहेरी बस्न नसक्ने वा आफूलाई फेसबुक नहेर्नको लागि नियन्त्रण गर्न नसक्ने भैसकेको छु ?, के मेरो दैनिकीमा नकारात्मक परिवर्तन आउन थालेको छ?, यी प्रश्नहरुको उत्तर हो वा छ मा आएमा विचार गर्नुस तपाई इन्टरनेटको कुलतमा फस्नु भएको छ ।

इन्टरनेट कुलतको कारण
इन्टरनेटको कुलतको विकास पनि अन्य कुलतका विकास जस्तै हुने गर्दछ । कुलतमा फसिसकेपछि जसले हाम्रो मस्तिष्कको आनन्द लाग्ने केन्द्रमा प्रभाव पार्दछ र हामीलाई आन्नदित बनाउँछ । व्यक्तिको कुलतको व्यवहारले डोपामिन (मन आन्नदित बनाउने रसायन) उत्पादन हुन्छ जसले मस्तिष्कलाई आन्नदित बनाउँछ । यस्ता व्यवहारले मनमा आन्नद ल्याउने भएकोले व्यक्तिले बार बार ती व्यवहारहरू (क्रियाकलाप) दोहोर्याउँछ अनि कुलतमा फस्न पुग्छ ।

अध्ययनहरुले के देखाएको छ भने शारिरीक रुपमा हेर्दा जुन व्यक्तिहरुको डोपामिन र सेरोटोनिन जस्ता रसायन अन्य व्यक्तिको तुलनामा कम उत्पादन हुन्छ ती व्यक्तिहरु कुलतमा फस्न सक्ने सम्भवना बढी हुन्छ । यसका अलावा अन्य मनोवैज्ञानिक कारणहरु पनि छन् जस्तै न्युन आत्मासम्मान, सामाजिक चिन्ता, उदासिनता, आघात आदि ।

इन्टरनेट कुलतको लक्षणहरु
इन्टरनेटको कुलतबाट प्रभावित व्यक्तिहरुमा विभिन्न किसिमका शारिरीक तथा संवेगात्मक लक्षणहरु देखिने गर्दछ जुन निम्न छन् :

उदासिनता

इमान्दार नहुने

हिनताबोध हुने

दुश्चिन्ता

एक्लै बस्न मनपराउने

समयको कुनै ख्यालै नहुने

प्रतिरोध गर्ने

कामकाजबाट पन्छिने

मन स्थिर नहुने

सधैं डरको महशुस गर्ने

एक्लोपनको महशुस गर्ने

छिटै नै बोर हुने

शारिरीक लक्षणहरु

हात पाखुराको माङ्सपेशी लाटो हुने, जोर्नीहरु दुख्ने

ढाड दुख्ने, टाउको दुख्ने,

निन्द्रा कम हुने

खान मन नलाग्ने

आफ्नो स्याहारसुसारमा ध्यान नदिने

गर्धन दुख्ने

आँखा सुख्खा हुने, आँखा कमजोर हुने

तौल घटबढ् हुने आदि

व्यवस्थापन
केही उपचारकर्मीहरु के कुरामा सहमत छन् भने इन्टरनेटको कुलतसँगसँगै व्यक्तिमा उदासिनता तथा चिन्ता विकास पनि हुन सक्छ । यदि उदासिनता तथा चिन्ताको प्रभावकारी उपचार गरियो भने इन्टनेटको कुलत पनि व्यवस्थापन हुन सक्छ ।

यसै सन्दर्भमा गरिएको अध्ययनहरुले पनि के देखाएको छ भने इन्टनेटमा समय बिताउने ३५ घण्टा प्रति हप्ताबाट १६ घण्टा प्रति हप्ता झार्न सक्ने कुरा उल्लेख गरिएको छ ।

तर महत्वपूर्ण कुरा के छ भने शारिरीक रुपमा व्यस्त रहँदा तथा दैनिक रुपमा शारिरीक कसरत गर्दा यसले सेरोटोनिन को तहलाई बढाइदिन्छ, जसले दिमागलाई आनन्दित बनाउँछ, यसबाट इन्टरनेटको कुलतबाट जोगिन पनि सकिन्छ । यसका साथै केहि महत्वपूर्ण मनोवैज्ञानिक उपचार पद्दती पनि छन् जुन इन्टरनेटको कुलतबाट जोगाउन लागि प्रभावकारी साबित भएका छन् । ती यस प्रकारका छन् :

१. व्यक्तिगत, समुहगत तथा पारिवारिक मनोपरामर्श

२. व्यवहार परिवर्तन गराउने तरिका

३. संज्ञानात्मक व्यवहारगत उपचार पद्दती

४. चित्रलेखन तरिका

५. श्रृजनात्मक बनाउने तरिका

६. वास्तविकतासम्बन्धी उपचार पद्दती

नोटस : यी मनोवैज्ञानिक उपचार पद्दतीहरु मनोविद् तथा मनोपरामर्शदाताहरूले गराउन सक्नेछन् ।

सुझाब लागि Twitter: @binod_pdl

विनोद पौडेल मनोविद् हुन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*