१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

बाढीले पुल र बाटो बगाएपछि २६ दिनदेखि मुस्ताङ सम्पर्कविहीन



बागलुङ । बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिनभयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा ।

सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ । यहाँका सर्वसाधारणलाई यस वर्षको वर्षाले निकै दुःख दियो । हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका यहाँका किसानले वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा समस्या भोग्नुपरेको छ ।

गत असार १९ गते भीषण वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो । सडक बगाएको झण्डै एक महिना बित्न लाग्दासमेत मर्मत गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत असारको २६ गतेको बाढीले म्याग्दीको गलेश्वरमा बेलिबृज बगाएपछि जिल्ला पुग्ने सडकमा अर्को ठूलो बज्र प¥यो ।

“हामीले घोप्टेभिरमा बगाएको बाटो बनाउँदै थियौँ, नदीको किनार छुनेगरी गहिरिएको छ”, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, “घोप्टेभिरमा बनाए सडक चल्ला भन्ने थियो, पानी थपियो, ठाउँ ठाउँमा फेरि पहिरो खस्यो ।”

जिल्ला प्रवेश गर्ने एकमात्रै नाका घाँसादेखि माथि जोमसोमसम्म कयौं ठाउँमा सडक बगाएको छ । बेनीबजारदेखि मुस्ताङ जाने सडकमा समेत कतै बेलिबृज कालीगण्डकीले बगाएको छ भने कतै सडकका कल्भर्ट नै छैनन् । “एकदुई ठाउँ बनाएरमात्रै सडक चल्ने अवस्थामा छैनन्”, उनले भने, “वर्षा रोकिँदा साथ काम त थालेका छौँ, बनाएको केहीबेरमै बगाएको छ ।”

सडक सम्पर्क टुटेको जिल्लामा हवाईसेवा समेत प्रभावित भएको छ । लकडाउनका कारण बन्द रहेको डोमेस्टिक हवाईसेवा सञ्चालनमा ल्याउने सरकारी निर्णयसँगै मुस्ताङमा चार्टर जहाज चल्दै आएका थिए । पछिल्लो केही दिनयता मौसममा खराबी आएको भन्दै चार्टर जहाजसमेत नचलेकाले जिल्ला पूर्णरुपमा बाहिरी जिल्लासँग सम्पर्क विच्छेद भएको छ ।

सडक र हवाईमार्ग बन्द हुँदा जोमसोम बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ । “खाद्यान्नको अभाव अझलाई टारिएको छ तर अझै लामो समय बन्द रहे भन्न सकिन्न”, मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद तुलाचनले भने, “तेल, ग्यास छैन ल्याउने बाटो छैन ।”

मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुँदा बिग्रिएका सडक मर्मतको कामसमेत प्रभावित भएको छ । “बजारमा अनुगमन गरेर तेल खोज्दा छ ब्यारेल मात्रै पाइयो”, प्रजिअ अर्यालले भन्छन्, “कम्तीमा म्याग्दीको सीमासम्मको सडक चले तेलको समस्या टर्ने थियो ।”

सडक र हवाई सेवा बन्द हुँदा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जाने र बिरामी परेर उपचारका लागि जानेलाई समस्या भएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताए ।

“किसानका बारीमा आलु खन्ने बेला भयो, गाजर पनि राम्रो फलेको छ”, उनले भने, “बाटो बन्द हुँदा किसानले निर्यात गर्न पाएनन् ।” सडकका कारण सबैभन्दा धेरै किसान मर्कामा परेको उहाँले बताउनुभयो । मुस्ताङको आलु पोखरा, काठमाडौँलगायतका ठूला शहरमा निर्यात हुन्छ ।

“भण्डार गरेर राख्दा किसानलाई फाइदा हुँदैन, गाजर कुहिने सम्भावना छ”, उहाँले भन्नुभयो, “यो वर्ष आलु, गाजरमा गरेको लगानी खेर जानेमा किसान चिन्तित छन् ।” ठाउँ ठाउँमा भत्किएको सडक मर्मत गर्न समय लाग्ने उनले बताए । स्थानीय सरकारले मात्रै सडक मर्मत गर्नसक्ने अवस्था नरहेकाले समयमा प्रदेश र केन्द्र सरकारले समय ध्यान दिनुपर्ने उनको भनाइ छ ।

“भदौदेखि स्याउ बिक्रीका लागि तयार हुन्छ तर बाटो बन्ने छाँट छैन” अध्यक्ष थकालीले भने, “स्याउ पनि रोकियो भने मुस्ताङलाई ठूलो क्षति पुग्छ ।”

मौसम सफा भए जहाजमा आउजाउ महँगो भाडा तिरेर गर्न सकिने भए पनि किसानको उत्पादन निर्यातमा भने समस्या हुने उनको गुनासो थियो । खराब मौसमका कारण मुस्ताङका सर्वसाधारण अत्यावश्यक आवतजावतका लागि चार्टर गरेका हेलिकप्टरसमेत बिचमै रोकिने गरेको सङ्घका अध्यक्ष तुलाचन बताउँछन् । ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ८ : ३२ बजे

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज : सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग

प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक विपक्षी दलका सांसदहरूले अवरुद्ध गरेका

सही प्रक्रियामा चलेका कन्सल्टेन्सीलाई प्रहरीले साथ दिन्छ : एसपी शाही

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले ‘लुम्बिनी