६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

देशमै बसेर कृषि उत्पादनमा रमाउँदैछन् कास्कीका पौडेल, गर्छन् गोलभेँडाबाटै मनग्य आम्दानी



पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुर रानीथोकका नारायणप्रसाद पौडेल र उनकी श्रीमती कमलाले व्यावसायिक कृषि थालेको आठ वर्ष पुगेको छ ।

कृषिप्रतिको लगावसँगै आयआर्जन राम्रो भएको त छ नै यतिखेर उनीहरू अरुका लागि पनि अनुकरणीय बनेका छन्।

रोजगारीको खोजीमा भौँतारिएका युवा वर्गका लागि यहीँ बसेर केही गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका उनीहरुले सिजनअनुसारका तरकारीसँगै पछिल्ला समयमा बजारमा राम्रो माग बढिरहेका किवी, भुइँस्याउजस्ता फलफूलको खेतीसमेत थालेका छन् ।

कृषिको आधुनिकीकरणमा ध्यान दिँदै करिब दुई रोपनी क्षेत्रफलमा टनेल निर्माण गरी त्यहाँ लगाइएका गोलभेँडाले राम्रो उत्पादन दिन थालेको र त्यहीअनुरूप बजारको माग बढेपछि आफूहरूमा अझै उत्साह बढेको कृषक नारायणप्रसादले बताए ।

आफ्नो १७ वर्षसम्मको विदेश बसाइका क्रममा कृषि क्षेत्रका देखाइभोगाई समेतलाई व्यावसायिक कृषिमा उपयोग गर्ने गरेको उनले बताए ।

“विदेशको बसाइका क्रममा पनि त्यहाँबाट विभिन्न जातका बीउ ल्याएर लगाउने गरेका थियौँ”, उनले भने, “कतारबाट ल्याएको बीउबाट तयार गरिएका बिरुवामा एउटै गोलभेँडा झण्डै आधा किलोसम्म फल्न थालेको छ ।” पौडेल दम्पतीले एक रोपनी क्षेत्रफलमा किवीखेती पनि शुरु गरेका थिए । यसै वर्षदेखि फल्न थालेको छ ।

नारायणप्रसादकी श्रीमती कमलाका अनुसार आठ वर्षअघिसम्म यो ठाउँमा गोलभेँडा लगाउनेभन्दा सबै हाँस्ने गर्दथे । शुरुमा आफूसहित चार महिलाले आँट गरेर गोलभेँडा लगाएको र त्यसबाट राम्रो उत्पादन भएपछि यहाँका धेरै सर्वसाधारणले यतिखेर यसको खेती थालेका छन् ।

जीवनोपयोगी कृषक समूह गठन गरी पहिलो वर्ष चार जनाबाट शुरु गरिएको गोलभेँडा खेती राम्रो उत्पादन भएसँगै दोस्रो वर्ष यहाँका २० घरपरिवारले घरघरमा गोलभेँडा लगाएको कृषक पौडले जानकारी दिए ।

गोलभेँडाबाटै वार्षिक डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिँदै पौडेलले व्यावसायिक कृषिबाट घरपरिवारको दैनिकी सञ्चालनका साथै छोराछोरीको पठनपाठन राम्रैसँग चलेको जानकारी दिए ।

उत्पादित गोलभेँडा एवं तरकारीको बजारलाई समस्या नभएको बताउँदै उनले टनेलबाट दुई दिनमा करिब ५० किलोसम्म बिक्री गर्ने गरेको उल्लेख गरे ।
उत्पादित तरकारी खोज्दै ग्राहक डोको लिएर घरघरमै आउने गरेको उनको भनाइ छ ।

पौडेलको बारीमा गोलभेँडाका साथै यामअनुसार काउली, बन्दा, आलु, साग, घिरौँला, लौका, काँक्रा आदिको पनि राम्रो उत्पादन हुने गरेको छ । व्यावसायिक कृषिमा लागेको आठ वर्ष पुगे पनि पौडेल दम्पतीले हालसम्म राज्यबाट कुनै सेवा सुविधा भने पाएका छैनन् ।

परम्परागत कृषिमा पनि पाउँदुर वर्षौँदेखि आफ्नो पहिचान बनाएको ठाउँ हो । विगतमा कोदोको राम्रो उत्पादन हुने स्थानका रूपमा यसले छुट्टै पहिचान बनाएको थियो ।

अनिकालका समयमा पनि पाउँदुरे कोदो कास्कीका विभिन्न स्थानमा पुग्ने गरेको र त्यही कुरामा आधारित भई ‘दुःखको पाउँ दुर’ भन्ने उखान प्रचलनमा रहेको पाइन्छ । पहिला–पहिला एउटै घरमा वार्षिक सात–आठ मुरीसम्म कोदो उत्पादन हुने गरेको भए पनि पछिल्ला समयमा जनशक्तिको अभाव, कोदो खेतीप्रतिको अनिच्छा लगायतका कारण कोदोखेती प्रतिको आकर्षण घट्दै गएको छ ।

“पहिला कोदोको उत्पादन राम्रै हुन्थ्यो त्यस समयमा ढिँडो, रोटी खाँदा पनि लुकाएर खानुपर्ने अवस्था थियो”, पौडेलले भने “अहिले उत्पादन एकदमै कम छ, कोदोको माग दिनानुदिन बढ्दो छ ।”

कृषिप्रतिको व्यावसायिकता बढेसँगै पछिल्लो समयमा महिला क्षमता अभिवृद्धि कार्यक्रममार्फत यहाँका १४ महिला मिलेर सामूहिक कुरिलो खेती थालेका छन् । यसै वर्षदेखि कुरिलोले राम्रो उत्पादन दिन थालेको कमलाले जानकारी दिए

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ३ : १२ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का