३२ असार २०८३, बिहिबार | July 16, 2026

प्रदेश नं ५ मा कोरोना संक्रमण समुदायस्तरमा फैलिँदै, सङ्क्रमण बढेसँगै रुपन्देहीमा आलोपालो प्रशासनिक सेवा



बुटवल । प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । शुक्रबार रुपन्देहीमा पाँच जना सङ्क्रमित थपिएका छन् ।

बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । शाहका अनुसार अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

नेशनल प्याथ ल्याबबाट एक जना र प्रादेशिक अस्पतालको ल्याबबाट चार जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितको अवस्था सामान्य छ ।

सङ्क्रमण बढेसँगै आलोपालो प्रशासनिक सेवा
कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय रुपन्देहीले आलोपालो प्रणालीमा सेवा दिने भएको छ ।

साउन ३० गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्म जिल्लामा भएका १६ पालिकाका जनतालाई आलोपालो प्रणालीमा सेवा दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले राससलाई जानकारी दिए ।

प्रजिअ पन्थकाअनुसार आइतबार सिद्धार्थ नगरपालिका, मर्चवारी गाउँपालिका र कञ्चन गाउँपालिकावासीलाई सेवा दिइने छ ।

यसैगरी सोमबार तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकावासीलाई सेवा दिइने छ ।

मङ्गलबार देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र कोटहीमाई गाउँपालिका तथा बुधबार बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र समरीमाई गाउँपालिकावासीलाई सेवा दिइने छ ।

बिहीबार सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका र रोहिणी गाउँपालिकावासीलाई सेवा दिइने छ ।

शुक्रबार मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकावासीलाई प्रशासनिक सेवा दिने गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तालिका बनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले बुटवलमा लकडाउन र अन्य ठाउँमा कडाइ गर्ने निर्णय गरेको छ । उक्त बैठकले धार्मिक क्रियाकलाप घरमै गर्ने, चाडपर्व घरमै मनाउने, शैक्षिक संस्था बन्द र सवारी पास वितरण बन्द गर्ने निर्णय गरेको हो ।

चार जना बैंकका कर्मचारीमा कोरोना

बर्दियामा थप आठ जना कोरोना सङ्क्रमित थपिएका छन् । चार जना बैंकका कर्मचारीसहित आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।

अस्पतालले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार बाँसगढी नगरपालिका–५ का तीन जना वडा नम्बर ८ का दुई जना र वीरेन्द्रनगर सुर्खेत घर भएका तीन जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये एकजना महिला र सुर्खेत घर भएका तीन जना बैंकका कर्मचारी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताउनुभयो । योसँगै बर्दियामा कोरोना सङ्क्रमितको सङ्ख्या २७७ पुगेको छ ।

 

पाल्पामा पहिलो पटक समुदायमा कोरोना

पाल्पामा पहिलो पटक समुदायमा कोरोना सङक्रमण देखिएको छ । तानसेन नगरपालिका–४ का ४० वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार लुम्बिनी मेडिकल कलेज तानसेन प्रभाषमा आफन्तको उपचारका निम्ति पुगेकी महिलालाई पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

महिलासँगै रहेका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ । बिरामीलाई थप उपचारका लागि काठमाडौं लैजानका लागि प्रक्रिया मिलाउने क्रममा पिसिआर परीक्षण गर्दा सङ्क्रमण भएको रिपोर्ट आएको हो ।

पाल्पामा सङ्क्रमितको सङ्ख्या ५६३ पुगेको छ भने ५६० जना कोरोना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : ४० बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही