१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आइसोलेसनमा सुविधा नभएको भन्दै कन्ट्याक्ट ट्रेसिङमा आएकाले पीसीआर परीक्षण गराएनन्



बुटवल । बुटवलका एकजना व्यवसायी, काम विशेषले बैंक गएका थिए । बैंकका एक जना अधिकृतले चियाको अफर गरे । सँगै बसेर उनले बैंकका अधिकृतसँग चिया पिए । चिया पिएर घर फर्केको केहिबेरमा तीनै चिया अफर गर्ने बैकका अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको खबर आयो । लगत्तै बैंकबाट व्यापारीलाई फोन आयो, ‘तपाईको नाम कन्ट्याक्ट ट्रेसिङमा लेखौं ?’ ति व्यापारी झस्किए, तत्कालै ‘हैन, नाम नलेखाउँ’ भने । उनले कन्ट्याक्ट ट्रेसिङमा नाम दिन नमान्नुमा दुईवटा कारण रहेछ । एक त केहीगरी नतिजा पोजटिभ आयो भन्ने हल्ला भए चलिरहेको व्यवसाय बन्द हुन्छ भन्ने चिन्ता । अर्को मुख्य गुदी चिन्ता रहेछ स्थानीय सरकारले व्यवस्था गरेको आईसोलेसनको अवस्था ।

ती व्यवसायीले खबरकुरासँग भने ‘कोरोना पुष्टि भए एकातिर मेरो व्यापार व्यवसाय सिल हुन्छ, अर्कोतिर साझा चर्पी, साझा बाथरुम, टिनको छाना एवं खानाको समस्या भएको आइसोलेसनमा बस्न बाध्य पारिने भएकाले पीसीआर परीक्षण गराउन गईन ।’ उनी घर परिवारसँग छुट्टै बसे, पसलका कर्मचारीसँग टाढा रहे र साथीभाईलाई भेटेनन् । तर पीसीआर परीक्षण गर्न भने गएनन् । कारण थियो कोरोना संक्रमितलाई समाजले गर्ने व्यवहार र आईसोलेसनमा बस्नुपर्ने बाध्यता ।

बुटवलकै अर्का एकजना व्यवसायीको सधैं सँगै हिँड्ने व्यवसायिक साझेदारलाई कारोना पुष्टि भयो । उनीहरु प्रायः एउटै कारमा हिँड्थे, सँगै खान्थे र अधिकांश समय साथसाथै रहन्थे । तर अर्का साझेदार पनि पीसीआर परीक्षण गराउन गएनन् । उनीपनि घर परिवारमा छुट्टै बसेका छन् । साथीभाईलाई भेटेका छैनन् । सेल्फ होम आइसोलेसनमा बसेका छन् । तर पीसीआर परीक्षण गराउन उनी मन्जुर छैनन् । उनलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित भएकाले भोगेको भोगाई र आफ्नै घरमा आइसोलेसनमा बस्न खोज्दा पनि स्थानीय तह र छिमेकीले व्यवसायिक पाटर्नरलाई जबर्जस्ती सरकारी आइसोलेसनमा पठाएको घटनाले पीसीआर परीक्षण गराउन पटक्कै मन छैन । मनमा डर मात्रै मडारिएको छ ।

बुटवलमै भाडामा बस्ने एकजना पत्रकार । उपमहानगरले लकडाउनको घोषणा गरेपछि उनलाई खासै बजारमा निस्कन मन लागेन । भाडाको कोठामै बसेर लुरुलुरु समाचार लेख्ने, कोठामै पकाउने खाने र भित्री काम गरेर लकडाउनको पालना गर्ने उनको विचार बन्यो र उनले त्यसै गरे । लगातार २ दिनसम्म कोठाबाट बाहिर ननिस्केपछि घरबेटी साहु साहुनीलाई शंका भयो, भाडावाल पत्रकारलाई कोरोना त भएन ? दुईजनाले सल्लाह गरे र पत्रकारलाई फोन गरे, ‘भाइ किन भित्रको भित्रै हो ? देख्नै पाईएन नी ?’ पत्रकारले आवश्यकता अनुसार निस्केकै छु नि भनेर जवाफ दिए कुरा सकियो ।

माथिका यी घटना अहिलेको समाजका प्रतिनिधिमुलक घटना प्रवृति बनेका छन् । कोरोना भाइरसले माहामारीको रुप लिएपछि मानिसमा हराएको संवेदनशीलता, मानवीयता र नकारात्मक समाजिक प्रवृतिलाई यी घटनाले उजागर गर्दछन् ।
स्थानीय सरकारले स्थानीय विद्यालयहरुमा बनाएका क्वारेन्टिन र आइसोलेसनको अवस्था कस्तो छ, सबैलाई थाहा छ । जस्का कारण क्वारेन्टिन र आइसोलेसनबाट संक्रमित भागिरहेका घटना समेत सार्वजनिक भैरहेका छन् । नागरिकमा आइसोलसन वा क्वारेन्टिनमा बस्न नपरे हुँदो हो भन्ने धारणा बनिरहेको छ । संक्रमण पुष्टि भएपछि समाजले गर्ने अवहेलना र दुव्र्यवहारका कारण पनि जब कोरोनाको औषधी नै छैन भने ‘पीसीआर किन गर्ने ? आइसोलेसन किन बस्ने ?’ भन्ने जस्तो दृष्टिकोण आम मानिसमा बनिरहेको छ । यस्तो धारणा बनाउनेहरु अशिक्षित वा अबुझ मानिसहरु होईनन्, शिक्षित र बौद्धिक व्यक्तिहरु नै हुन् । जो परीक्षणको दायरामा आउन अनिच्छुक देखिएका छन् ।

कोरोना संक्रमण नभएपनि सामान्य ज्वरो आउँदा, रुघाखोकी लाग्दा र पखाला लाग्दा पनि अस्पतालहरुले भर्ना नलिने, चिकित्सकले राम्रोसँग जाँच नगर्ने र दशौं अस्पताल चहार्दा चहार्दै बिरामी सिकिस्त हुने र मृत्यु हुने गरेको घटना पनि समाजमा देखिएका छन् ।

शहर बजारमा कोरोना संक्रमण भईहाल्यो भने के गर्ने भन्ने विषयमा समाजका अगुवाहरु नै भ्रममा छन् । पैसा तिर्न तयार भए पनि संक्रमितलाई राख्न कोही तयार नहुँदा पनि कतिपय संक्रमण भएकाहरु वा संक्रमित हुन सक्नेहरु परीक्षणको दायरामा आएका छैनन् । पछिल्लो समय बाँकेमा केहि होटल व्यवसायीले हिम्मत गरेर संक्रमितलाई सेवा दिन तयार भए पनि प्रदेशको राजधानी बुटवलमा सेल्फ पे आइसोलेसन बन्न सकेको छैन । बुटवलमा पछिल्लो समय बढेको संक्रमितको संख्या र तिनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको आंकलन गर्दा ठुलो संख्यामा समुदायमा कोरोना संक्रमण रहेको अनुमान लगाउन सकिन्छ । मध्यम वर्गले खोजेको जस्तो सुविधा अनुसारको आइसोलेसन नभएकै कारण संक्रमण लुकाईएको हुन सक्ने दृष्टान्त बुटवलका व्यवसायीहरुको कुरा बुझ्दा नै थाहा हुन्छ ।

बुटवलमा केहिदिन पहिले सेल्फ पे गरेर होटलमा बसेका एकजना संक्रमितलाई स्थानीय तहले नीति विपरित भएको भन्दै सरकारी आइसोलेसनमा लगेकाले होटल व्यवसायीहरु संक्रमितलाई सेवा दिन अगाडि बढ्न नसकेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए । सरकारले मापदण्ड बनाएर सःशुल्क आइसोलेसन बनाउन प्रस्ताव गरे होटल व्यवसायीहरु सेवा दिन तयार रहेको जिसीको भनाई छ । उनले सरकारी तवरबाट सेल्फ–पेको अवधारणा अनुसार अहिलेसम्म कसैले प्रस्ताव नगरेको खबरकुरासँग बताए ।

आईतबार साँझ मात्र सःशुल्क आइसोलेसनका बारेमा सरकारले कस्तो मापदण्ड बनाएको छ भनेर खबरकुराले प्रश्न गर्दा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले होटल व्यवसायीहरु संक्रमितलाई राख्न तयार नभएकाले व्यवस्था गर्न नसकिएको बताएका थिए ।

होटल व्यवसायी संघका अध्यक्ष जिसीले राज्यले वातावरण बनाए व्यवसायीले खुलेरै आईसोलेसन बनाउन तयार रहेको बताउँछन् । राज्यले वातावरण नबनाएका कारण व्यवसायीहरुले अहिले पनि लुकेर संक्रमितलाई सेवा दिईरहेको समेत उनले खुलासा गरेका छन् । तर उनले सेवा दिईरहेका होटलको नाम भने बताउन चाहेनन् ।

यो दृष्टान्तलाई राज्यका सबै निकायहरु, निषेधाज्ञा र लकडाउनमा प्रतिस्पर्धा गरेका स्थानीय सरकारहरुले मनन गर्नसक्ने हो भने संक्रमितहरु पीसीआर परीक्षणको दायरमा आउन सक्ने देखिन्छ । धेरै जना निजी ल्याबमा सेल्फ–पे पीसीआर गर्न समेत तयार हुनसक्छन् । नेपालगन्जमा जस्तै संक्रमित आफैले भुक्तानी गरेर सुविधा सम्पन्न आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन सके बुटवलमा मात्र हैन अन्य शहरमा पनि धेरै संख्यामा परीक्षणको दायरा बढ्न सक्ने देखिन्छ ।

समुदायमा संक्रमण फैलिएको पुष्टि भैसकेपछि स्थानीय तहले शहरमा बस्दै आएका सुविधा खोज्ने नागरिकको लागि संक्रमित आफैले भुक्तानी गर्ने गरी आइसोलेसन बनाउन सके अझै ठुलो संख्यामा लुकेर समाजमा कोरोना फैलाईरहेका संक्रमितहरु तथ्यांकमा देखिने अवस्था रहेको छ । जसका कारण कोरोना संक्रमितको संख्या धेरै देखिए पनि कोरोना संक्रमणबाट समाजलाई जोगाउन सक्ने अवस्था राम्रो बन्न सक्छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : ४९ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता