७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोना सङ्क्रमण : व्यवसायिक कृषकलाई आम्दानी बढाउने अवसर !



संखुवासभा । लकडाउनको अवधि बढेसँगै सङ्खुवासभामा कृषकले आफ्नो आम्दानी बढाउन थालेका छन् ।

भाइरसको सङ्क्रमणले बजार क्षेत्र सुनसान र हिँडडुलमा समस्या भए पनि गाउँमा भने कोरोना सङ्क्रमणले कृषकलाई आफ्नो पेशामा समय दिन साथ दिएको सभापोखरी गाउँपालिका–२ का कृषक मानध्वज राईले बताए ।

स्कूल क्याम्पस सबै बिदा छ । छोराछोरी सबै गाउँमै हुँदा खेतीपातीमा धेरै सहजता आएको भन्दै अहिले आफूसहित सपरिवार खेतबारीमै व्यस्त हुने गरेको जानकारी राईले दिए ।

आँप, लिची, केरा, कागती, सुन्तला, मेवा, भुइँकटहरलगायतका १०० भन्दा बढी फलफूलको बिरुवा लगाएको राईले बताए । बेसार, अदुवा, सिमीलगायतका सागसब्जी रोपेर आम्दानीको स्रोत बढेको भन्दै कोरोना सङ्क्रमणले लामो समयदेखि आम्दानी नै लिन नसकिएको खेतबारीबाट समेत केही वर्षपछि राम्रो आम्दानी जुटाउन सकिने वातावरण तयार भएको राईको भनाइ छ ।

राईले परिश्रम, जैविक खानपिन र सरसफाइबाटै कोरोनालाई परास्त गर्न सकिने भन्दै कोरोनासँग डराएरभन्दा श्रम र पसिना बगाउन सके आर्थिक प्रगति हुनुका साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाएर रोगलाई भगाउन सकिने धारणा राखे ।

सभापोखरीका मानध्वज मात्रै होइन, सङ्खुवासभाका धेरै कृषकले लकडाउनको समयमा खेतीपातीबाट राम्रो आम्दानी बढाएका छन् । खाँदबारी–४ पाङ्माका दाजुभाइ गङ्गाराज र बलबहादुर कुलुङ राईले समेत लकडाउनले कृषकलाई राम्रो अवसर दिएको बताए। उनीहरुले आफ्नो सात रोपनी र छिमेकीसँग भाडामा लिएको दुई रोपनी गरी नौ रोपनी जग्गामा टमाटर, प्याज, काउली, सागलगायतका तरकारी बाली लगाएका छन् ।

बाह्र वटा टनेलमा दाजुभाइले मिलेर लगाएको टमाटर, सागसब्जीलगायतका फलफूल किन्न उपभोक्ताहरु करेसाबारीमै पुग्ने गरेका गङ्गाराजले बताए । पाँच लाख रुपैयाँको लगानीमा शुरु गरेको तरकारी बाली खरिद गर्न र हेर्नका लागि स्थानीय उपभोक्ता, जनप्रतिनिधिसमेत पुग्ने गरेको र सहयोग गर्ने आश्वासनसमेत दिएकाले व्यावसायिकरूपमा कृषि पेशामा लाग्न थप हौसला जुटेको उनको भनाइ छ ।

लकडाउनका कारण अन्य जिल्लाबाट तरकारी फलफूल नआउँदा आफ्नो उत्पादनले राम्रो मूल्य र बजारसमेत पाएको भन्दै आफूले वर्षैपिच्छे धान खेती घटाउँदै व्यावसायिक फलफूल र सागसब्जी खेती बढाउँदै लैजाने योजना राखेको उनले बताए ।

बजारतिर जताततै कोरोना भाइरसको आतङ्क बढेको छ । बाहिर बिनाकाम भौँतारिनुभन्दा कृषिमै समय दिन सकियो भने जीविकोपार्जन र आर्थिक अवस्थामा समेत सुधार ल्याउन सकिन्छ भन्ने कुरामा आफूहरुको विश्वास बढेको कृषक राईले बताए । व्यावसायिक कृषिका लागि केही तालिम र सहुलियत ऋणको व्यवस्था हुने हो भने ठूलो सङ्ख्यामा विदेशिएका युवालाई आफ्नै गाउँमा रोजगारी दिलाएर उनीहरुको आयस्तर उकास्न सकिने राईको भनाइ छ ।

यता खाँदबारी–२ चेवाका तेजबहादुर कार्कीले पनि यस वर्ष तरकारी र फलफूल खेतीबाट राम्रो आम्दानी लिएको बताउँछन् । केही वर्षअघिदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न कार्कीले पाँच रोपनी जग्गामा काउली, साग, गाजर, टमाटर, काँक्रो सिमीलगायत सागसब्जी खेती गर्दै आएका छन् । अघिल्लो वर्षदेखि नै व्यावसायिक कृषिमा लागेका उनले यस वर्ष कोरोनाका कारण गरिएको लकडाउनको समयमा तरकारी खेतीबाट अघिल्ला वर्षभन्दा राम्रो आम्दानी लिएको बताए ।

यातायातको सुविधासमेत थपिएकाले कार्कीले आफ्नो उत्पादन ट्र्याक्टरमार्फत पनि स्थानीय मानेभञ्ज्याङ र खाँदबारी बजारसम्म बिक्रीका लागि लैजाने गरेको बताए । शारीरिक श्रमसँगै खेतबारीको स्याहारसुसार गर्दा परिवार खुशी रहेको र मासिकरूपमा मल बीउको खर्च कटाएर रु ५० हजारभन्दा आम्दानी गरिरहेको कार्कीको भनाइ थियो ।

गत वर्ष उत्पादनले कम मूल्य पाउने, बिक्री गर्न समस्या हुने भए पनि यस वर्ष आफूले सबै उत्पादन सहजरूपमा बजारमा बिक्री गर्न सकेको भन्दै कृषकलाई उँभो लगाउन र व्यावसायिक कृषिमा आकर्षण गर्न स्थानीय पालिकाहरुले योजना अघि सार्नुपर्ने धारणा राख्छन् । उनले स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन सरकारले मल र बीउमा अनुदानको व्यवस्था गर्दै कृषि बीमाको व्यवस्थालाई सहज पार्नुपर्नेमा जोड दिन्छन् ।

लकडाउनका कारण गाउँ फर्किएका जनशक्ति कृषि पेशामा संलग्न हुँदा यस वर्ष सङ्खुवासभाको कृषि उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ ।

ज्ञान केन्द्रका प्रमुख गोविन्दप्रसाद आचार्यले सङ्खुवासभामा कूल खेतीयोग्य जमिन ३१ हजार ५८६ हेक्टरमध्ये १३ हजार ८५१ हेक्टर धान खेतीयोग्य जमिन रहेको जानकारी दिनुभयो । गत वर्ष १३ हजार ३९४ हेक्टरमा धान खेती गरिएकामा यस वर्ष थप २७७ हेक्टर गरी १३ हजार ६७१ हेक्टरमा धानखेती गरिएको ज्ञान केन्द्रका प्रमुख आचार्यको भनाइ छ ।

कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले लगाएको लकडाउनका कारण जिल्लाबाहिर रहेको जनशक्ति घर फर्किएको, बर्सातले राम्रो साथ दिएको छ । अधिकांश परिवारका सदस्य अहिले खेतीपातीमा संलग्न हुने वातावरण बनेकाले यस वर्ष कृषि उत्पादनमा समेत उल्लेख्य वृद्धि हुने आँकलन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख आचार्यले जानकारी दिए ।-रासस

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ९ : १० बजे

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन

शुद्ध नेपाली अर्गानिक चलचित्र हो ‘मनसरा’ : निर्देशक सुब्बा

बुटवल । जारी चलचित्रको सफलतापछि अभिनेतामा गनिएका उपेन्द्र सुब्बा एकाएक