६ श्रावण २०८३, बुधबार | July 22, 2026

कालापानी-लिम्पियाधुरा विवाद : नेपालले जुटायो ऐतिहासिक प्रमाण



काठमाडौं । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ ।

नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो ।

विज्ञ समूहले बनाएको सो प्रतिवेदनलाई भारतसँग जुनसुकै समयमा वार्तामा बस्दा पेस गर्ने आधारका रूपमा लिइएको छ । नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेसँगै प्रमाण जुटाउन विज्ञ टोली गठन गरेको थियो ।

गत जेठमा गठित सीमा विज्ञ समूहको टोलीले गत साता मात्रै कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नेपालको भएको ऐतिहासिक खोजसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको हो । नेपालले नयाँ राजनीतिक नक्सा प्रकाशित गर्दा समेटिएको भूभागको थप प्रमाण र आधारसहित विज्ञ समूहले प्रतिवेदन बुझाएको हो ।

विज्ञ टोलीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज युद्धपछि नेपाल र इस्ट इन्डियाबीच भएको सुगौली सन्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्रमाणित कागजातसहित प्रतिवेदन सरकारलाई बुझाएको हो ।

त्यस्तै, जग्गाको स्वामित्वका प्रमाण, राजस्व, मालपोत, भूमिकर, तिरो भारो आदि तिरेका रसिद, भर्पाई, पत्र, रोक्का, सदन आदि अभिलेखसमेतलाई आधारको बलियो प्रमाण नेपालले बनाएको छ ।

नीति अनुसन्धान प्रतिष्ठान विकास समितिका कार्यकारी निर्देशक डा. विष्णुराज उप्रेतीको संयोजकत्वमा बनेको ९ सदस्यीय समितिले नेपालको ऐतिहासिक प्रमाणसहितको प्रतिवेदन बुझाएको हो ।

विज्ञ समूहको सदस्यमा कानुनविद् सूर्यप्रसाद सुवेदी, इतिहासविद् रमेश ढुंगेल, विपिन अधिकारी तथा जल विज्ञानविद् जगत भुसाल, तोयानाथ बराल, हिमालय थापा र अप्सरा चापागाईं रहेका थिए । समूहको सदस्य सचिवमा परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी रहेका थिए ।

यता भारत भने नेपालसँग वार्ताका लागि अझै अनिच्छुक देखिएको छ । भारतले लिम्पियाधुरादेखि कालापानी क्षेत्रसम्मलाई आफ्नो नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेपछि दुई देशबीचको विवाद अझै साम्य हुन सकेको छैन ।

विज्ञ समूहले सो भूमि नेपालको रहेको यथेष्ट प्रमाण बुझाएपछि अब नेपालले भारतसँग वार्तामा बस्दा सो प्रतिवेदन पेस गर्ने आधार तय भएको छ । यसअघि असोज महिनाभित्र दुई देशको परराष्ट्र मन्त्रीस्तरीय वार्ता गर्ने तय भए पनि पछिल्लो समय भारतले कोरोना भाइरस महामारीको कारण देखाउँदै वार्तामा बस्न अनिच्छुक देखिँदै आएको छ ।

तर, परराष्ट्र मन्त्रालयले भने भारतसँग वार्ता गर्न कूटनीतिक रूपमा निरन्तर पहल गर्दै आइरहेको छ । नेपालले कालापानी, लिम्पियाधुरा र कालापानीको विषयमा वार्ताबाटै हल गर्ने विषयमा पटक पटक ताकेता गरिरहेको छ ।

गत वर्ष १६ कात्तिकमा कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै देखिएको विवाद भएको थियो । त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभागलाई समेटेर गत ७ जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि सम्बन्ध तनावपूर्ण बन्न पुगेको थियो ।  उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ४९ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न