२० बैशाख २०८१, बिहिबार | May 3, 2024

कोरोना प्रभाव : बिचल्लीमा छन् सप्तरीका किसान



राजविराज । आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका-६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी गरेका उनलाई यस वर्ष भने कोरोनाको कहरले निकै समस्या थपिदिएको छ ।

रोजगारीका लागि बिदेसिने युवाहरू जस्तै उनमा पनि पहिला त विदेशै जाने सोच नआएको पनि होइन । विदेशमा पनि कडा मिहिनेत नगरी पैसा कमाउन सकिँदैन भन्ने साथीभाइबाट बुझेपछि उनले विदेश जाने सोच परित्याग गरी घरमै बसेर व्यावसायिक तरकारी खेती थालेका हुन् ।

बैंकबाट केही ऋण लिएर भाडाको जमिनमा सुरु गरिएको व्यवसायबाट विगतका वर्षसम्म उनले राम्रै आम्दानी पनि गर्दै आएका थिए । बारीमा हुर्केका तरकारीका बोटबिरुवा, लहरा हेरेर दंग परेका ओमप्रकाशले यसपालि पोहोरभन्दा पनि बढी आम्दानी हुने सोचेका थिए ।

नगरून् पनि किन रु भान्टा, काँक्रो, लौका, फर्सी, करेला, बोडीलगायत जातजातका तरकारीका बोट लहलह देखेका कारण उनमा झनै उत्साह जाग्ने गरेको थियो । तर, उनको हर्षित मनमा यस्तो आनन्द धेरै समय टिक्न पाएन ।

कोरोनाको संक्रमण नेपालमा पनि प्रवेश गरेपछि गत ११ चैतदेखि सरकारले देशैभरि करिब चार महिनासम्म गरेको लकडाउनले लटरम्मै फलेको तरकारी नबिकेपछि बारीमै कुहिँदा उनी अति पीडित बन्न पुगेका हुन् ।

पहिला बारीमै बाहिरका व्यापारी तरकारी किन्न धाउने गरेको र बाँकीलाई स्थानीय हाटबजारमा लगेर बेच्ने गर्दा गरेको मिहिनेतको राम्रै कमाइ भए पनि यसपटक बेच्ने बेलाको तरकारी बारीमै कुहेको टुलुटुलु हेरेर बस्नुको विकल्प नै नभएको उनको दुखेसो छ ।

बन्दाबन्दीका कारणले बाहिर पठाउनसमेत समस्या भएका कारण केही उपाय नलागेपछि आफूले उत्पादन गरेको तरकारी आँखा अगाडि कुहिएका कारण अहिले बैंकको किस्ता तिर्नसमेत समस्या परेको उनले पीडा पोखे ।

कोरोनाका कारण पीडित किसानमा ओमप्रकाश एक्ला भने होइनन् । जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीका गाईपालक किसान बद्री भण्डारीको पीडा पनि उनको भन्दा कम छैन । गाईपालन व्यवसाय चलाएर दूध बिक्रीबाट भएको आम्दानी नै उनको परिवारको गुजाराको एक मात्र आधार थियो ।

उत्पादित दूध लिएर २२ किलोमिटर दक्षिण सदरमुकाम राजविराजसम्म लगेर उनी बेच्ने गर्दथे । तर, कोरोनाका कारण भएको बन्दाबन्दीले उनका ग्राहक रहेका राजविराजका डेरी तथा होटलहरूले दूध नलिएपछि घाटा बेहोर्नुपरेको उनको भनाइ छ ।

बिक्री घटेका कारण डेरीले दूध लिन नमानेको अनि बन्दाबन्दीमा होटल पनि बन्द रहेका कारणले दूध नबिकेपछि आफूजस्ता सामान्य पशुपालकका लागि बज्रपातैसरह भएको उनले बताए । ‘कोरोनाका कारण बजारमा चहलपहल घटेको छ,’ उनले थपे, ‘यस्तोमा टाढाटाढा पुगेर दूध बेच्न पनि जोखिम भएकाले अहिले हामीलाई निकै समस्या परेको छ ।’

कोरोनाकै कारण पीडित हुनेमा यहाँका कुखुरापालक पनि अछुतो छैनन् । कुखुराको मासु खाए कोरोना सल्किन्छ भनी चलेको हल्लाबाट उसै पनि बिक्री घटेको राजविराज-१ स्थित कुखुरा फर्मका सञ्चालक ताज महम्मद बताउँछन् ।

‘कोरोनाको हल्ला चल्नासाथ कुखुराको मासु खाए कोरोना सर्छ भन्ने अफवाह चल्दा कुखुरा बिक्रीमा २५ प्रतिशन ह्रास आयो,’ उनले भने, ‘पछि त बन्दाबन्दी नै भएपछि अहिले थला बसेको अवस्था छ ।’

कोरोनाका कारण विवाह भोजभतेर बन्दै भएका कारण त्यसको प्रत्यक्ष असर आफूहरूमाथि समेत परेकोे उनको भनाइ छ । बन्दाबन्दीले गर्दा पसलमा कुखुरा काटेर बेच्न पनि सम्भव नभएको तथा होटल र पार्टी प्यालेसमा पनि माग नभएका कारण यस पटक अढाई लाखको घाटा परेको महम्मद बताउँछन् । बन्दले गर्दा बाहिरबाट दाना आयातमा समेत समस्या भएको र जसोतसो जोगाएका कुखुरा पनि नबिकेका कारण आफूहरू ठूलो समस्यामा परेको उनको भनाइ छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ४१ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक