८ बैशाख २०८१, शनिबार | April 20, 2024

दशैं : महिला सशक्तिकरणको चाड



विजया दशमी अर्थात दशैंको मुख्य दिन, आँगनको डिलमा छ । हुनेखाने सबै बजारमा छन् । कोरोना महामारीकै बीचमा पनि बजारमा किनमेल गर्नेहरु प्रशस्तै छन् । पुगिसरी आउनेहरू लत्ताकपडा, गरगहना र महंगा सरसामान र मुस्ताङे च्याङग्रा किन्ने होड छन् । नहुनेले पनि गच्छे अनुसार मरमसला केटाकेटीहरूलाई सडकका सस्ता कपडा किनेर कति गाँउ फर्कदै छन् कतिले सामान भित्राउदै छन् ।

लेखक

हुनेखानेका लागि नौ दशैं नहुनेका लागि शनिको दशा भनिन्छ । दशैं आउनुभन्दा एक दुई महिना पहिले देखि यो दशा गरीवको घरमा पसेर पिरलेको हुन्छ । बुढालाई साहुको उधारोले सताउँछ, बुढीलाई भान्जाभान्जी ज्वाईं चेला कसरी उम्काउने चिन्ताले मन चुटुचुटु चिमोटेको हुन्छ । बुढीको इज्जत र बिहा गर्ने बेलाकी छोरीको वैंश ढाक्न बाबुलाई कढिन छ । राम्रो लाउन मीठो खान वर्षदिन कुरी बसेका भुराभुरीको रहर पुरा गर्न यो परिवारलाई फत्तेसार परेको छ ।

भुसाफेरेदाको जीतवीर तामाङले रक्सी पार्ने आरी र ताउलो बन्दकी राखेर पोरको दशैं मनाएको सझिन्छन् । पुरनधाराको सन्तवीरले लैनोभैंसी बेचेर परारको दशैं मनाएका हुन् । भल्कोटको सन्ते घर्तीले नौली बुहारीका नाक कानका गहना अडना राखेको तीन वर्ष नपुग्दै साहुले पचाइ दियो । ललीत लिम्बुले च्वाँचेको पाठा वेचेर गत वर्षको दशैं मनाएका थिए । डकर्मीको काम गरेर २,४ पैसा कामएर दशैं मनाउदै आएको हरिस चौधरीको छोरा विदेशिएको एक वर्ष पुग्न थाल्यो । चिठीपत्र केही छैन । मरे ज्युँदाको अत्तोपत्तो छैन । दशैं मनाउने उपाय छैन ।

 

सत्य र न्यायको रक्षा गर्ने एकमात्र शक्ति नारी जातिमा छ । नारीका नौं अवतार छन् । नौ दिनसम्म सबै अवतारको एकएक गरेर रक्षा गर्नुपर्छ भन्ने सन्देश दशैले दिन्छ ।

नेपाली समाजका यी र यस्तै दुःखीयाहरूको मनमा हाम्रो परम्परादेखि चल्दै आएका र मनाउनै पर्ने चाडहरूले कति सताएको होला ? “कान्छाको घरमा २० किलोको खसी आयो । त्यो भन्दा सानो त हुनुहुँदैन है, मैले भन्दिएकी छु !” देउरानी जेठानी र छरछिमेकमा खसीको प्रतिस्पर्धा चल्छ । दशैंमा खसी नढाल्नेको वेइजती र अपमान आजभोलि गाँउघरतिर पनि छिरेको छ । छिमेकीको साह्रोगाह्रोमा रमाउने नेपाली समाजको चलन गणतन्त्र आइसकेपछि पनि गएको छैन ।

दशैंमा देवीको पूजा गरिन्छ । महिलालाई शक्तिको रुपमा स्वीकार गरेर पूजा आराधना गर्ने चाडमध्ये दशैं एक महत्वपूर्ण चाड हो । महिसासुर राक्षर धेरै शक्तिशाली भयो । उसले धेरै अन्याय अत्याचार गर्यो । दानव र देवताहरू बीचको लडाईंमा दानव बलशाली भए । सत्य र न्यायको लडाईंमा अन्याय र अत्याचारको विगविग भयो । न्यायको रक्षाका लागि पुरुष जातिको नेतृत्वमा भएका लडाईंमा सधैं पराजय भोग्दै आएका देवताले तपस्या गरे । महिलाको नेतृत्व स्वीकार गर्न बाध्य भए । देवीको पूजा अर्चना गरे । खुशी पारे । नारीलाई नेतृत्व दिन तयार भए । आखिर नारीको नेतृत्वमा भएको लडाईंले विजय प्राप्त गर्यो । पौराणिककालदेखि दशैंलाई विजयको प्रतिक नारी नेतृत्वको इज्जत सम्मा र धर्मयुद्धमा प्रयोग भएका हतियारको पूजा अर्चना गर्दै दशैंलाई मनाने चलन चल्यो ।

दशैं युद्धको प्रतिक हो । अन्यायका विरुद्ध हतियार उठाउनु पर्छ भन्ने सन्देश दशैंले दिन्छ । ‘नस्त्री स्वातन्त्र मर्हती’ महिला स्वतन्त्र छैनन् भन्ने हिन्दु नीति वाक्यलाई दशैंले खण्डन गर्छ ।

‘नदिनाम् शस्त्र पाणिनाम्, नखिनाम् श्रृङ्गिणाम्’ तथा ‘विश्वासो नैवकर्तव्यम् स्त्रीसुराज कुलेसुच’ भन्ने नीति वाक्य अर्थात, नदी, हतियारधारी, दाह्रानङ्ग्रा र सिंग हुने राजकुल र महिलाको विश्वास गर्नु हुँदैन भनेर पितृसत्तालाई बलियो बनाउँदै र एकलौटी शासनसत्ता कायम गर्दै आएको हिन्दु वर्णाश्रम व्यवस्थालाई दशैले खण्डन गर्दछ । सत्य र न्यायको रक्षा गर्ने एकमात्र शक्ति नारी जातिमा छ । नारीका नौं अवतार छन् । नौ दिनसम्म सबै अवतारको एकएक गरेर रक्षा गर्नुपर्छ भन्ने सन्देश दशैले दिन्छ ।

महाभारतको युद्ध द्रौपदीको इज्जत रक्षाका लागि भएको थियो । रामायणको युद्ध सीताको बापसी र जीवन रक्षाका लागि भएको थियो । पौराणिककालका जनुसुकै युद्धमा यो वा त्यो रुपमा नारीको उपस्थिति अनिवार्य छ । दशैं नारीको सम्मानको प्रतिक हो । नारी सम्मानको पौराण्कि र ऐतिहासिक प्रतिकलाई विकृत पारिएको छ ।

कोटकोटका मौलाहरूमा, हतियारका भाण्डारहरूमा फूल जमरा अक्षताले नौ दिनसम्म पूजा गरिन्छ, वली चढाइन्छ । दशौ दिन प्रसादको रुपमा टीका र प्रसाद ग्रहण गर्ने चलन छ । न्याय र सत्यका लागि नारीलाई सम्मान र अन्याय अत्याचारका विरुद्ध लडाईं गर्न हतियारको सरसफाई भण्डार र रक्षा गर्नुपर्छ भन्ने सन्देश दशैंको हो । यसको मर्म भौतिकवादीले ठीक ढंगले नबुझ्ने नबुझाउने, आदर्शवादीहरूले विकृत पार्दै लगेर दशैलाई दशाको रुपमा विकृत गरिएकोे छ ।

नेपाली समाजको सबभन्दा उत्पीडित वर्ग महिला हो । त्यसको मुक्ति अनिवार्य छ । विश्वका शोषित उत्पीडित जनता देवता हुन् । विश्वभरी नै देवतामाथि दानवले राज गरेका छन् । सबै जात, जाति, वर्ग क्षेत्रमा नारीको नेतृत्व अगाडि आउनुपर्ने आवश्यकता छ । नारी नेतृत्वलाई स्वीकार गर्न र स्थापित गर्न विजया दशमीले निर्देशित गर्दछ । त्यसैले दशैंलाई तडकभडक खानपिन र मोजमजा गर्ने चाड मात्र नभै नारी विजयको प्रतिकको रुपमा स्थापित गर्दै लानुपर्छ । त्यसको मूल मर्म तोडमोड गर्ने हिन्दु संस्कार र सभ्यताको अन्त गर्दै आगामी धर्मयुद्धको नेतृत्व नारी जातिलाई दिने प्रण गर्न के दशैंले प्रेरित गर्दैन र ?

दशैं दशा होइन । गच्छेअनुसार मनाएर शक्ति आर्जन गर्ने चाड हो । परिवारमा समाजमा र राष्ट्रमा नारी जातिलाई सम्मान गर्ने चाड हो । महिला हिंसा विरुद्ध विद्रोहमा उत्रन शक्ति संचय गर्ने चाड हो । अन्यायका विरुद्ध संघर्ष गर्ने, उत्पीडनका विरुद्ध विद्रोह गर्न उत्प्रेरित गर्ने चाडका रुपमा दशैंलाई लिनुपर्छ । महिला नेतृ अहिल्या, द्रौपदी, सीता, मन्दोदरी, कुन्तीहरूले पौराणिक कालको नेतृत्व गरेका थिए भन्ने कुराको स्मरण गर्दै महिला नेतृत्वको स्थापना परिवर्तनका लागि अनिवार्य छ भन्ने शुभ सन्देश दशैंले दिएको बिर्सन हुँदैन ।

आफूसित जे जति छ त्यसमा रमाउन सिकौं । अस्वस्थ्य प्रतिस्पर्धा ढोंग र पाखण्डलाई छाडौं र सबै मिलिजुली दशैं मनाउँ । दशैंलाई बिक्रित नपारौं । ऋण काढेर दशैं मनाउने संस्कार संस्कृतिको अन्त गरौं । यसपालाको दशैं कोरोना कहरले त्यसै पनि खुम्चाइदिएको छ । जो जहाँ छौं त्यहीँबाट दशैं मनाऊँ । दशैको यही शुभकामना ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  १२ : २४ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु