स्थानीय तहले ‘माल पाएर चाल नपाएको’ बुटवलको हिलपार्क (फोटो कथा)

१ अर्बको गुरुयोजना – ‘आकाशको फल आँखा तरी मर’
खबर कुरा
११ कार्तिक २०७७, मंगलवार
                 

बुटवल । मानिस स्वस्थ रहन सबैभन्दा पहिले आवश्यक पर्ने कुरा हो उसको आहार विहार र जीवनशैली । पछिल्लो समयमा व्यस्तताको बहाना बनाउँदै मानिसहरु आहार विहार त जथाभावी गरेकै छन् उनीहरुको जीवनशैली पनि फरक हुने गरेको छ । प्रायः सबैतिर लापरवाहीपूर्ण जीवनशैलीको विकास हुँदै गए पनि रुपन्देहीको बुटवलमा रहेको एउटा पार्कले भने मानिसको जीवनशैलीलाई नै रुपान्तरित गर्दिएको छ । मानिसको आफ्नै दैनिक जीवनव्यवहारलाई बदल्दिएको छ ।

बुटवल उपमहानगरपालिकामा रहेको हिलपार्क रुपन्देहीबासीका लागि त वरदान नै साबित हुन थालेको छ । शहरी जीवनशैलीले बदलिएको मानिसलाई स्वस्थ्य र तन्दुरुस्त हुन सके मात्र रोगव्याधी विरुद्ध प्रतिरोधी क्षमता बढाउन सकिने आम बुझाई पालना गर्न प्रेरित गरेको छ ।
त्यसैले त होला, कोरोना महामारीका कारण लगाइएको लकडाउनको ७ महिनाको अवधिमा मुल गेट बन्द भएपनि विभिन्न चोरबाटोबाट छिरेर पनि हिलपार्कमा शारिरीक अभ्यास गर्नेहरुको कमी भएन । लकडाउले हिलपार्कमा गुन्जने लोकगीत अवश्य बन्द भए पनि उकाली चढ्ने र व्यायाम गर्नेहरुको भिड अहिले पनि उत्तिकै छ ।

हिलपार्कको भूगोल

सामान्यतयाः बुटवललाई मधेस भनिए पनि बुटवलसँग जोडिएका चुरे पहाडका कारण बुटवललाई मधेस भन्न नसकिने धेरै आधारहरु रहेकाछन् । तिनाउ नदीको किनारमा रहेको बुटवलसँग जोडिएका चुरे तथा चट्टाने पहाडहरुले बुटवलको सुन्दरता मात्र थपेको छैन यिनीहरुले बुटवलबासीको स्वास्थ्यको दिनप्रतिदिन निगरानी समेत राख्ने गरेको छ । र, यिनै पहाडको बीचमा बनेको छ, हिलपार्क ।

बुटवलमा खुलेका दर्जनौ स्वास्थ्य संस्थाहरु सँगै बुटवलबासीहरुले स्वास्थ्य लाभ लिने अर्को थलो बनेको छ, हिलपार्क । कुनै बेला चिहानडाँडा वा गुरुङ डाँडाकारुपमा चिनिने हिलपार्क पछिल्लो समयमा बुटवलबासीको स्वास्थ्य रक्षक बनिरहेको छ भन्दा फरक पर्दैन । हिलपार्क हरेक दिनका बिहानी र सांझ बुटवलका हजारौं स्थानीयबासीको गन्तब्य बन्ने गरेको छ ।

३० हेक्टर जमिनमा फैलिएको हिलपार्क सुख्खा चुरेको एउटा थुम्का मात्र हो । तर, यो थुम्का अहिले बुटवलबासीको बिहानी गन्तव्य बनेको छ । सालका रुखको जङ्गलका बीचमा चराचुरुङ्गीहरुको चिरबिरसँग हिलपार्कमा मर्निङवाक र ईभिनिङ वाक गर्नुको मज्जा नै बेग्लै हुने गर्दछ ।

हिलपार्कमा प्रवेश गरेदेखि डाँडाको टुप्पामा पुग्दासम्म ४ सय ८० सिँढी चढ्नु पर्दछ । मुल गेटबाट ३ सय मिटर जति क्षेत्रमा भने कालोपत्रे समेत गरिएको छ । हरेक बिहान र साँझ बुटवल र यस आसपासको स्थानीयबासी हिलपार्कमा पैदल मार्च गर्न आउने गर्दछन् । ८० वर्ष नाघेका बुढाबुढीदेखि भर्खरका तन्नेरी र बालबालिका सम्म हिलपार्कमा पैदलयात्रा गर्न आउने गरेकाछन् ।

हिलपार्कसँग पैदल यात्रा गर्न आउने हरेक मानिसहरुको एउटै स्वार्थ जोडिएको हुन्छ, स्वस्थ जीवन । कोहि फ्रेस हुन मात्र डाँडा उक्लिने गर्छन् भने कोही स्वस्थ बन्नैका लागि हिलपार्कको चढाई गर्छन ।

उकालो सुरु भएको झण्डै ३ सय मिटरको दुरीमा हिलपार्क परिषदले बिहान बेलुका नै नेपाली लोकगीत बजाईदिने गरेको छ । पैदल यात्रा गर्न जाने हरेक यात्रीहरु हिलपार्कमा बज्ने लोकसंगीतसँग झुम्दै नाचेर फर्कन पाउनु पनि पार्कको अर्को बिशेषता हो । यद्यपी, कोरोना माहामारीपछि हिलपार्कमा लोकगीत गुञ्जिन छोडेको छ ।

मानव स्वास्थ्यलाई ध्यान दिंदै पार्क व्यवस्थापनले पार्क परिषद भित्रै शारिरीक व्यायमका विभिन्न सामाग्रीहरु समेत बनाईदिएको छ । व्यायामकै अभावमा स्वास्थ्य लाभ लिन नसकेकाहरु समेत हिलपार्कबाट लाभ लिन सक्ने हिलपार्क परिषद्का अध्यक्ष भिम तुलाचन बताउँछन् ।

प्रकृतिले दिएको अनुपम उपहारका रुपमा बुटवलबासीले पाएको हिलपार्कलाई विकास गर्ने धेरै सम्भावनाहरु हुँदाहुँदै पनि दीर्घकालीन गुरुयोजनाको अभाव, स्थानीय तह तथा सरकारी उदासिनता तथा सम्बन्धित निकायको ईच्छा शक्तिको कमीका कारण हिलपार्कले दिन सक्ने कुराहरु स्थानीय बासिन्दाले प्राप्त गर्न सकेका छैनन् ।

स्वास्थ्य र प्रकृतिक हिसावले हिलपार्क जति महत्वपूर्ण छ त्यती नै स्रष्टाहरुको सिर्जना र खानपानको सचेतनाको हिसावले पनि हिलपार्क आकर्षक बन्दै गईरहेको छ । कुनै बेला गुरुङ समदायको चिहान गाड्ने थलो र स्थानीबासीको बङ्गुरको खोर बनाउने स्थान थियो आजको हिलपार्क भन्दा नयाँ पुस्तालाई अचम्म लाग्न सक्छ । तर हिलपार्कको वास्तविकता त्यहि नै हो ।

यसरी बन्यो हिलपार्क

२०५१/५२ सम्म हिलपार्कको डाँडामा गुरुङ समुदायले दाहसंस्कार गर्दथे भने तल्लो भागमा स्थानीयबासिन्दाको फोहोर फाल्ने स्थान वा बङ्गुरका खोरहरु थिए । २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालिन वडा अध्यक्षका उम्मेदवार भिम तुलाचनले चुनावी घोषणापत्रमा गुरुङ डाँडालाई पार्क बनाउन उल्लेख गरेपछि हिलपार्कको बहस बुटवलमा सुरु भएको थियो ।

२०५४ सालबाट सुरु भएको हिलपार्कको बहसले २०५७ सालमा बुटवल नगरपालिकाका तत्कालीन नगर प्रमुख भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सार्थकता पाएको थियो । नगरपालिकाले निर्णय गरेसँगै गठन भएको हिलपार्क परिषद्ले पहिलो चरणको गुरुयोजनासँगै हिलपार्कको इतिहासको आरम्भ भएको थियो ।

हिलपार्क बनाउन भन्दै गरुयोजना बनाएर कार्यक्षेत्रमा पुग्दा केहि वर्षदेखि दाहसंस्कार गर्दै आएका समुदाय र सरकारी जग्गा अतिक्रमण गरेर बङ्गुुरको खोर बनाईरहेकाहरुबाट विरोध समेत भएको थियो । गुरुङ समुदायलाई नजिकै रहेको बाजेबज्यै डाँडाको छेउमा वैकल्पिक स्थान दिए पछिमात्र हिलपार्क निर्माणको काम अघि बढेको हिलपार्क परिषद् अध्यक्ष भिम तुलाचन स्मरण गर्छन् ।

हिलपार्क बन्नु अघि त्यसक्षेत्र चिहानडाँडासँगै लागु औषध सेवन गर्ने युवाहरुको स्थल समेत बन्ने गरेको थियो । प्राकृतिले शहर नजिकै सुन्दर कोशेली दिंदा दिंदै पनि त्यसको ब्यवस्थापन नहुंदा बर्षौं देखि बुटवल नजिकैको थुम्कोले बुटवललाई टुलुटुलु हेर्दै बसिरहेको थियो । निरस र सुख्खा चुरेलाई पार्क बनाउने सोंच पलाउनु नै हिलपार्कको रुप धारण गर्ने माध्यम बन्यो ।

मुर्तिकारको कलात्मक सिर्जना

हिलपार्कको अर्को विशेषता हो, परिषद् भित्र राखिएका कलात्मक मुर्तिहरु । २०७० ताका नेपाल कमर्सियल आर्टिष्ट संघको सम्मेलनका क्रममा निर्माण भएका ढुंगाका मुर्तिहरु पार्कको मुख्य आकर्षण बनेका छन् । प्रतिकात्मक रुपमा विभिन्न भावहरु प्रकट हुने मुर्तिहरु जति जीवन्त छन्, त्यसको संरक्षण नहुँदा जंगलको बीचमा मुर्तिहरु आफैमा टोलाइरहेको अनुभुति समेत गर्न सकिन्छ । अत्यन्त आकर्षक भएर पनि अवलोकनकर्ताहरुलाई मुर्ति कसले किन र कुन भावमा बनाएका थिए भन्ने जानकारी दिलाउन भने परिषद् असफल देखिएको छ ।

संरक्षणको अभाव

बुटवल नगरपालिकाले पार्क बनाइदिए पनि त्यसको आवश्यक ध्यान नपुग्दा दिनदिनै हिलपार्कको कतिपय संरचनाको अस्तित्व समाप्त हुने चरणमा पुगेकाछन् । देशैभरका मुर्तिकारहरुले बनाएका मुर्तिहरु झाडीले पुरेकाछन् । २० वर्ष पहिले बनेको सिँढी भत्केर जीर्ण बन्दै गएको छ । मालीको अभावमा फूल बोटमा फूल्दै झर्दै गरिरहेकाछन् ।

लक्ष्मीनगर सामुदायिक वन र शिवनगर सामुदायिक वनको जग्गालाई आधार बनाएर बनाईएको हिल पार्कको व्यवस्थापन भने उदेकलाग्दो बनेको छ । पैदलयात्रीहरुले फालेको फोहरको डुङ्गुर जतासुकै देखिन्छ । बिहान र बेलुका स्वास्थ्य लाभ गर्न जाने यात्रीहरुले भन्दा मध्यान्हमा डेटिङ जाने वा अवलोकन गर्न जाने अवलोकनकर्ताबाट प्लास्टिकजन्य फोहर फाल्ने गरेका छन् ।

मनोरम हिलपार्कमा फोहोरको दङ्गुरः

अवलोकनकर्ताहरुले लैजाने जङ्क फुडका प्लास्टिक, पानीका बोटल र अन्य फोहरले हिलपार्कको सुन्दरतालाई चुनौती दिईरहेको छ । लकडाउनका बीच पार्क प्रवेश गरेका स्थानीयले फालेका मास्कले पार्कको सौन्दर्यतालाई नै चुनौती दिएको छ । परिषद्ले सड्ने र नसड्ने फोहोर व्यवस्थापनका लागि डस्टविनसम्म राख्न सकेको छैन ।

नगरपालिकाले २०५७ सालमा पार्क बनाउने निर्णय र हिलपार्क परिषदले गाँउनगर साझेदारी कार्यक्रम अन्तर्गत गुरुयोजना बनाउने काम भए यता बनेका संरचनाहरुलाई मर्मत गर्ने र नयां योजना बनाउने काममा खासै तदारुकता देखाउन सकेको छैन ।

त्यसो त बेला बखत बिभिन्न संघसंस्थाहरुले अवसरहरु पारेर हिलपार्कको सरसफाई गर्दै आएका छन् । तर अवलोकनकर्ताले फोहर लैजाने क्रम नरोकिएपछि संघसंस्थाहरुले गर्ने गरेको सरसफाई १ साता पनि टिक्ने गरेको छैन । हिलपार्क संचालनमा सरकारी निकायको चासो नगएका कारण आर्थिक अभाव भएर गुरुयोजना अनुसार काम गर्न नसकिएको हिलपार्क परिषद्को ठहर छ ।

एकले अर्कालाई दोष

उपमहानगरभित्र रहेको पार्कलाई व्यवस्थित गर्ने जिम्मेवारी बुटवल उपमहानगरको हुन आउँछ । तर, संघ संस्थाहरुले संकलन गरेका फोहरहरु उठाउन समेत उपमहानगरले साधन समयमा उपलब्ध नगराउने गरेको स्थानीय अगुवाहरुको गुनासो छ ।

पार्कको अर्को समस्या हो सार्वजानिक शौचालय र पानीको अभाव । दैनिक हजार बढीको संख्यामा मर्निङ वाक र इभिनिङ वाक गर्ने यात्रुका लागि ३ वटा शौचालय त बनेको छ, तर ती शौचालयमा न त पानी छ न त नियमित सरसफाई नै गरिन्छ । फोहर शौचालय जानु भन्दा पैदल यात्रुहरुले पार्कको छेउकुना तिर दिशापिसाव गरिदिँदा पार्क दुर्गन्धित समेत भएको छ ।

माल पाएर चाल नपाउने हामी नेपालीलाई बुटवलको हिलपार्क पनि त्यस्तै भएको छ । प्रकृतिले शहरसँगै सुन्दर पहाड दिँदा पनि त्यसको संरक्षणमा एउटाले अर्कोलाई देखाउने प्रवृत्ति कहिलेसम्म अन्त्य हुने ? पार्क घोषणा गरेर चुपचाप बस्ने उपमहानगर कहिलेसम्म कागजी प्रक्रिया मिलाएर देशकै उत्कृष्ठ उपमहानगर बनिरहने ? के कुनै योजना बनाएको छ हिलपार्क सुधारका बिषयमा बुटवल उपमहानगरपालिकाले ?

खबरकुराको प्रश्नमा बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले परामर्शदाताले गुरुयोजना तयार गरेपनि कोरोनाका कारण हस्तान्तरण गर्न बाँकी रहेको बताउँछन् । ‘१ अर्ब बढीको बजेट छ, डीपीआर तयार भएको छ अब ईआईए हुन्छ र समिति मोडेलबाट काम सुरु हुन्छ’, नगर प्रमुख सुवेदीले भने । ठुलो बजेट भएकाले उपमहानगरसँगै प्रदेश र संघीय सरकारको पनि हिलपार्कमा लगानी रहने उनको भनाइ छ ।

सुवेदीका अनुसार उनले अर्थमन्त्री विष्णु पौडेलसँग पनि परामर्श गरिसकेका छन् । मेयर सुवेदीको गुरुयोजनामा तत्काल थुप्रिएको फोहर व्यवस्थान गर्ने विषय भने समावेश छैन ।

हिलपार्क निर्माण गर्ने निर्णय गर्ने बुटवलका तत्कालिन नगर प्रमुख तथा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ परिषद् र उपमहानगरको समन्वय हुन नसक्नु हिलपार्कको समस्या भएको जिकिर गर्छन् । एउटै समिति लामो समय कायम रहनु र उपमहानगरले परिषदकै टाउकोमा जिम्मेवारी थोपरेर आफु उम्कन खोज्नुले पार्कको तत्कालिन समस्या चुलिँदै गएको श्रेष्ठको निश्कर्ष छ । क्षमताले नभ्याउने दातृ निकायको भरमा ठुलो बजेटको गुरुयोजना बनाएर उपमहानगरले हिलपार्कको विकासलाई अन्यौल बनाएको श्रेष्ठले बताए ।

हिलपार्कको फोहरका बिषयमा हिलपार्क बिकास परिषदका अध्यक्ष भिम तुलाचनको भनाइ अल्ली कडा छ । स्थानीय तहमा तलवी जनप्रतिनिधि भएका कारण समस्या चुलिएको अध्यक्ष तुलाचनको आरोप छ । ‘जनभावना बुझ्ने स्थानमा छोटे राजाहरु बसेका छन् । वडा अध्यक्षलाई सहयोग माग्दा आफ्नो अर्कै जिम्मेवारी छ भन्छन् । तलवी जनप्रतिनिधिले जनभावना बुझेनन्, परिषद्ले मात्र सकेन’, अध्यक्ष तुलाचनले भने ।

सुरुको अवस्थामा परिषद्ले फोहोर संकलन गर्ने र उपमहानगरले उठाइदिने गरी समन्वय भएपनि पछिल्लो समय उपमहानगरले फोहोर नउठाइदिने गरेको परिषद्को आरोप छ ।

सम्पदा संरक्षणले सम्पदालाई होइन मानिसलाई नै फाईदा दिने गर्दछ । विश्वका कतिपय स्थानहरुमा सम्पदाकै उपयोग गर्दै करोडौ आम्दानीका स्रोत समेत बनेका उदाहरणहरु छन् । कृतिम सम्पदा बनाएर पनि आन्तरिक र बाह्य पर्यटक आकर्षण गरेको धरै उदाहरण हामीसँग छन् । प्राकृतिले दिएको वरदान हिलपार्कमा जसरी भौतिक निर्माणका नाममा त्यसको वास्तविक सुन्दरता माथि धावा बोलिन थालेको छ, त्यसलाई पनि नियन्त्रण गर्न जरुरी छ ।

सुत्दा तराई उठ्दा पहाड बनाउन सफल हिलपार्कको विकास गर्न सक्ने हो भने नेपालकै नमुना बनाउन सकिनेमा दुईमत छैन । विश्वका धेरै नगर र महानगर अवलोकन गर्न पालो गर्दै पुग्ने गरेका स्थानीय तहका अगुवाहरुले विदेशबाट फर्केपछि देखेका र भोगेका कुराहरुलाई मात्र कार्यान्वयन गरिदिने हो भने हिलपार्क जस्ता धेरै थुम्काहरुले स्थानीय तहलाई समृद्ध बनाउन आधार बन्न सक्दछन् । आखिर कहिलेसम्म हामी नेपालीले सुनको कचौरा थापेर छिमेकीहरुसँग ‘भिक्षाम् देही’ गरिरहने ?

यसमा तपाइको मत

Your email address will not be published.


*