११ जेष्ठ २०८१, शुक्रबार | May 24, 2024

‘लोकतान्त्रिक दुस्कर्म’ : राजनीतिमा अपराधिकरण, अपराधको राजनीतिकण



केही दिन अघि यही कात्तिक ५ गते पर्साको विन्धवासिनी गाउँपालिकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई गुटबीच यदुवंशी झडप भयो । दाबी गरिए अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली गुटले अर्का अध्यक्ष प्रचण्ड गुटका नेतामाथि भाटा बर्साए । झडपममा नेता मुकेश चौरसिया गम्भीर घाइते भए । उपचारकै क्रममा ६ गते उनको मृत्यु भयो । गाउँ पार्टीमा आफ्ना चार पाँच जना मान्छे नराखेको इखमा पूर्व सांसदले नै आक्रमणको योजना बनाएको आरोप पीडितको पक्षले लगाइरहेको छ ।

तर, व्यक्ति हत्याको जाहेरी (एफआईआर) बुझ्न प्रहरीले मानेन । माथिको (?) दबाबका कारण पर्सा प्रहरी प्रमुखले किटानी जाहेरी लिन नमानेपछि उनी विरुद्धसमेत नेकपाकै नेताहरु सडकमा उत्रिए । प्रदेश २ का ३७ केन्द्रीय नेताले सामुहिक वक्तव्य जारी गर्दै प्रहरी प्रमुख गंगा पन्तमाथि नै कारवाहीको समेत माग गरे । अन्ततः चौरसियाको हत्या भएको एकसातापछि मात्रै एफआईआर दर्ता भयो । व्यक्ति हत्याजस्ता जघन्य अपराधमा अनुसन्धान नियकाले नै आलटाल गर्यो । जबकी, कसैको हत्यारा खोज्न प्रहरी आफै सक्रिय हुनुपर्ने थियो ।

पछिल्लो समयको यो प्रतिनिधि घटना हो राजनीतिमा अपराधीकण हावी भएको । नेपालमा राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरणको कनेक्सन श्रृंखला लामो छ । पहिलो संविधानसभा निर्वाचनको समय आसपासदेखिका भएका हत्याकाण्डहरु धेरै मानिसको दिमागमा अहिले पनि घुमिरहेका छन् ।

अपराधमा सामेल व्यक्तिहरुलाई राजनीतिक दलबाट, दलका नेताहरुबाट संरक्षण प्राप्त हुँदा अपराधीलाई निरन्तर अपराध कर्मका लागि आशिर्वाद प्राप्त भैरहेको देखिन्छ । यसअघिका कैयौं घटनामा अपराधी जोगाउन राजनीतिक संरक्षण गरिएका छन् । राजनीतिमा अपराधीकरण घुसाईंदा या अपराधीलाई राजनीतिक कभर दिईँदा राज्यमा उत्पन्न हुने कानूनविहीनताले असफल राज्यकै संकेत गर्दछ ।

राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरणको मुख्य दृश्य यतिबेला यतिबेला छिमेकी भारतमा देख्न पाइन्छ । विशेष गरी उत्तरप्रदेश राज्यमा । योगी आदित्यनाथको नेतृत्वमा बीजेपी सरकार बनेपछि त्यहाँका विपक्षीहरु विरुद्ध गरिएको दमनमा र अत्याचारमा राज्यसत्ताको दुरुपयोग गरिएको छ । विपक्षी, अल्पसंख्यक र फरक धार्मिक आस्थाका व्यक्तिहरुमाथि मवलिचिङ जस्तो जघन्य आपराधिक घटना गराउने बीजेपीका कैयौं कार्यकर्तालाई सत्ताको संरक्षण छ ।

नेपालसँगै सीमा सटेको बिहारमा अहिले विधानसभा निर्वाचन भैरहेको छ । निर्वाचनमा आपराधिक पृष्ठभूमिका जेल जीवन बिताउँदै गरेका सयौं उम्मेदवारहरु राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका छन् ।

नेपालको राजनीतिमा पनि उत्तर प्रदेश र बिहारको संस्कार आयातित छ । सबै राजनीतिक दल र नेताहरु अपराधीलाई संरक्षणका लागि मरिमेट्छन् । आलोचकहरुमाथि जाइलाग्छन् । अपराधीहरु राजनीतिकर्मीहरुलाई बोकेर हिँड्छन् । तर, अपराधको यो केमेष्ट्रीले नेपालको लोकतन्त्रकै धज्जी उडाइरहेको छ । नयाँ संविधान अनुसार बनेको मुलुकी अपराध संहिताको उल्लंघन नियम बनाउनेहरुबाटै भएको छ । कानुन नियम पालना गराउनेहरुबाटै उल्लंघन भएको छ । पछिल्लो पर्सा घटनाले यसलाई पुष्टि गरेको छ ।

नेपाली राजनीतिमा अपराधीकरण किन मौलाउँदै गइरहेको छ ? विज्ञहरु भन्छन्, नेताहरुले राजनीतिलाई सेवाको रुपमा नलिई पेसाको रुपमा लिए । फलतः राजनीति दुषित बन्दै गयो । राजनीतिज्ञले स्वच्छ राजनीति गर्नुपर्नेमा प्रशासन, न्यायलयलाई सत्ता र शक्तिको बलमा दबाब वा प्रभावमा पारिँदै गयो ।

नेपाली राजनीतिमा विकृति, विसंगती र अपराध मौलाइरहेको छ । हुन त नेपालको राजनीतिमा अराजकता, विकृती, विसंगती र अपराधहरु हिजो पनि नभएका होइनन् । आज यी घटना घट्नुभन्दा बढी भइरहनु झन् दुःखद बनेको छ । राजनीतिक रुपमा व्यवस्था र परिवर्तनको हिसाबले धेरै अगाडि बढिसक्दा पनि आपराधिक सोच हावी बनिरहेको छ ।

हिजोको राज्य व्यवस्थाले हत्या, हिंसा, अपराध, शोषण, दमन, अन्याय अत्याचारलाई प्रश्रय दियो भनेर आन्दोलन गरी व्यवस्था परिवर्तन गर्ने यिनै राजनीतिक दलका नेताहरु अधिक अपराधमा मिसिँदै गएकाछन् ।

व्यवस्था परिवर्तन भयो, समय परिवर्तन भयो तर मान्छेको मानसिकता परिवर्तन हुन सकेको छैन । राजनीतिक दल र यसमा आवद्ध मान्छेहरु नै अपराधमा संलग्न हुनु अथवा त्यस्तो कार्यलाई बढवा दिनुले राजनीतिप्रति आम मान्छेको धारणा नकारात्मक बन्न थालेको छ । राजनीतिमा दिनप्रतिदिन अपराध मिसिन थालेपछि राज्यसंयन्त्र नै कमजोर भएको अथवा प्रश्रय नै दिइरहेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । राजनीतिमा अपराध जेलिनुको कारण राजनीतिज्ञ नै भएको बताउँछन्, वरिष्ठ अपराधशास्त्री प्राध्यापक डाक्टर माधव आचार्य

विगत १४÷१५ वर्षको अवस्था हेरौं । देशमा लोकतन्त्र आयो । गणतन्त्र आयो । नयाँ संविधान बन्यो । संघीय मुलुक बन्यो । आजको दिनमा देशमा तीन तहको सरकार छ । अभिव्यक्ति स्वतन्त्रता छ । विकासका जुनसुकै राम्रा काम गर्न बारबन्देज छैन । यति हुनको निम्ति देशमा निकै लामो समयसम्म ठुलो राजनीतिक लडाइँ भयो । संघर्ष भयो । तर जनताले अपेक्षा गरे अनुरुपको नयाँ नेपाल निर्माण हुन सकेन । नेताहरु आपसी झगडामा सीमित भए । कार्यकर्ताहरु मारकाटको अवस्थामा पुगे । मारकाटलाई आपराधिक मानसिकताले साथ दियो ।

एकपटक हेरौं त, नेताहरु यति धेरै जन्मिएका छन् कि गन्ती नै गर्न सकिँदैन । स्थानीय तहदेखि, प्रदेश र संघीय सरकारसम्म धेरै जनप्रतिनिधि निर्वाचित भएर जिम्मेवारी सम्हालिरहेका छन् । अर्थात जागिर खाइरहेका छन् । राजनीतिलाई पेशा बनाएपछि व्यक्तिगत हितका सबथोक प्राप्त हुने अवस्था आयो । त्यसका लागि गाउँपालिकाको वडाअध्यक्षदेखि संघीय सांसदको चुनाव जित्न आर्थिक चलखेल बढ्यो । आर्थिक चलखेलले आतंक मच्चाउने र अपराध घटाउने सम्मको गतिविधिलाई प्रशयः दियो । आखिर भैरहेको छ यही ।

सबैतिर मानवता हराउँदै गइरहेको छ । जसरी हुन्छ सत्ता र शक्तिमा पुग्नुपर्छ भन्ने मानसिकता सबै नेता र राजनीतिक दलहरुमा विकास हुँदै गइरहेको छ । यसले गर्दा अपराधले प्रश्रय पाइरहेको छ ।

वरिष्ठ अधिवक्ता लव कुमार मैनाली गलत राजनीतिक संस्कारका कारण अपराध मौलाउँदै गइरहेको बताउँछन् । ‘सत्ता र शक्तिको आडमा राजनीतिज्ञहरु भयमुक्त हुनुले राजनीतिमा अपराधको श्रृङखला बढिरहेको छ’, वरिष्ठ अधिवक्ता मैनाली भन्छन् ।

राजनीतिक दलहरुले सुरुवाती अभ्यास नै जसरी पनि जित्ने र त्यसको निम्ति जुनकुनै हत्कन्डा अपनाउने गरेका कारण पछिल्लो पुस्ता पनि त्यस्तै मनोविज्ञानबाट ग्रसित छन् । हत्या, हिंसा, आतंक, बलात्कार, मानव बेचविखन जस्ता घटनाहरुमा राजनीतिक दलका नेताहरु नै मुछिने गरेका छन् ।

अपराधमा त सबै मुछिन्छन् नै तर गाउँ समाज र राष्ट्रकै नेतृत्व गर्ने बौद्धिक तहका मान्छे नै यस्ता घटनामा मुछिनुले विश्वमाझ नेपालीलाई बदनाम गराइरहेको छ । ठुला मान्छेहरुको अपराध प्रशासन, कानुन, सत्ता र शक्तिको आडमा दबिइरहेका छन् भने पीडितहरु झनै शोषित दमित भइरहेका छन् । न्याय पाएका छैनन् । ‘राजनीति स्वच्छ नभएसम्म अपराध घट्दैन’, अपराधशास्त्री माधव आचार्य थप्छन्, ‘राजनीतिले प्रशासन र न्यायलयलाई हस्तक्षेप गर्न नहुनेमा अहिले त्यही भैरहेको छ । यो निकै नराम्रो अवस्था हो ।’

राजनीतिले अपराध नियन्त्रण गर्नुपर्छ । अपराध नियन्त्रण गर्न बनेका कानुन, नियमहरुलाई कडाइका साथ कार्यान्वयन गराउन पनि राज्य संयन्त्र तथा राजनीतिक दलहरु लाग्नुपर्नेमा ठ्याक्कै उल्टो भैरहेको छ ।

राजनीतिमा मौलाउँदो अपराधिकरणलाई घटाइ स्वच्छ, पवित्र र जनपक्षीय नबनाएसम्म पर्सा जस्ता घटना अझै धेरै भैरहने पक्का छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १० : १२ बजे

हावाहुरी रोकिएको ५ दिन पुग्दापनि बाँकेमा विद्युत पूर्ण सुचारु हुन सकेन

नेपालगन्ज । भिषण हावाहुरी र वर्षाका कारण अवरुद्ध भएको विद्युत

तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरु

ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

म्याग्दी । भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको

आइपिएलको दोस्रो क्वालिफायरमा सनराइजर्स र राजस्थान खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरको खेल

कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको