२२ बैशाख २०८१, शनिबार | May 5, 2024

महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस, वडादेखि केन्द्रसम्मकै नयाँ मिति ल्याइने



काठमाडौं । आगामी ७ देखि १० फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयारी थालेको छ ।

केही दिनदेखि नियमित बस्दै आइरहेको पदाधिकारीसहितका केही शीर्ष नेताहरूको अनौपचारिक बैठकमा पार्टीभित्र देखिएका विवाद मत्थर हुँदै गएपछि कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै महाधिवेशनको मिति परिमार्जन गर्न लागेको हो ।

पछिल्ला केही महिनायता कांग्रेसभित्र सभापतिले गठन गरेका विभाग, भ्रातृ संस्थासहित शुभेच्छुक संस्थाहरूको थप गरिएका म्याद, क्रियाशील सदस्यता वितरण, समायोजनलगायतमा विवाद रहँदै आइरहेको थियो ।

तर, ती विषयमा असन्तुष्ट पक्ष मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूह ब्याक हुने मनस्थितिमा पुगेपछि कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जनको तयारीमा लागेको हो । तर, वरिष्ठ नेता पौडेलले भने सो विषयमा मुख खोलेका छैनन् । यस्तै, सभापति शेरबहादुर देउवा पनि आफैं नबोली महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइरालालाई खाका बनाउने जिम्मेवारी दिएका छन् ।

दुई महामन्त्रीले आफ्नो पक्षका केही नेताहरूलाई राखेर प्रस्ताव तयार पारेपछि २८ कात्तिकमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्नेछन् । महामन्त्री खड्काले नेताहरूबीच अझै पनि धेरै विषयमा छलफल भइरहेको र केही विषय टुंगिन बाँकी रहको बताए ।

‘सल्लाह, छलफल भइरहेकै छ । धेरै विषयमा छलफल बाँकी छ । टुंगिसकेको छैन, छिटै टुंगिएला,’ महामन्त्री खड्काले राजधानीसँग भने । सभापति देउवा निकट एक नेताका अनुसार साउन अन्तिम साता वा भदौमा महाधिवेशन गर्ने गरी देउवाले छलफल गरिरहेका छन् ।

तर, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले भने वैशाख अन्तिम वा जेठभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउँदै आइरहेका छन् । ‘फागुनको मिति नकारात्मक ढंगबाट प्रभावित भइसक्यो, अब वैशाख अन्तिम वा जेठभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल परिमार्जन गर्नुपर्छ । तत्काल खाका नल्याइए महाधिवेशनमा सन्देश हुन्छ,’ सिटौलाले भने ।

पौडेल समूहले भने महाधिवेशनबारे बोलेको छैन । विभाग गठन, समायोजन र क्रियाशील सदस्यता, भ्रातृ तथा शुभेच्छुक संगठनलगायतका मुद्दा अघि सारेर सो समूहले १२ असोजमा १६ बुँदे विरोधपत्र बुझाएको थियो । सो विषयमा छलफल गर्दै गर्दा १७ असोजमा केही नेतालाई कोरोना संक्रमण पुष्टि भएपछि त्यसयता निरन्तर केन्द्रीय समिति बैठक सर्दै आइरहेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक सूचना जारी गर्दै २८ कात्तिकका लागि बैठक बोलाइएको बताएका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ७ : ३४ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै