२ चैत्र २०८२, सोमबार | March 16, 2026

मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै



महोत्तरी । महोत्तरीसहित मिथिलाक्षेत्रमा आज सोमबार ‘भैयादुज’ पर्व मनाइँदै छ ।

यमपञ्चक अर्थात दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ ।

भरद्वितीया वा भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् ।

अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ । यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै देखिन्छ ।

अघि सत्ययुगमा राजा बलिका बहिनीहरु गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउँछन् ।

मैथिल परम्पराको भैयादुज पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन नै छ । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् ।

टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ । यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखिदिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइदिने मैथिल परम्परा छ ।

मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको होस् भन्दै गीतबाट भाव व्यक्त गर्दछन् । यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चबाउन दिइन्छ । ‘बजरी’ ख्वाइने भनिने यो विधिमा अत्यन्त सार्हो केराउलाई बज्रसँग तुलना गरेर बजरी भनिएको डा. विमलको भनाइ छ । बजरी ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको डा. विमल बताउँछन् ।

यो विधि सकिएपछि दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखिदिन्छन् । दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् । मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने तीनवटा पर्व परम्परा चलेका छन् ।

साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी डोरा ‘राखी’ बाँधिदिने र यमपञ्चक अर्थात तिहारको कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुजको कथावस्तु पौराणिक गाथामा आधारित राजा बलि र उनका दिदीबहिनी गङ्गा यमुना नै हुन् ।

कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्वभने द्वापरयुगकालीन भगवान् श्रीकृष्णका पुत्र साम्ब र छोरी सामाबीचको प्रेमपूर्ण स्नेह, समर्पण र त्यागको कथावस्तुमा आधारित भएको डा विमल बताउँछन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ११ : ०७ बजे

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी