२७ मंसिर २०८२, शनिबार | December 14, 2025

चिनियाँ कामदार कोरोना खोप लगाएर फर्केपछि बुटवल–नारायणगढ सडक विस्तारमा तिब्रता



बुटवल। ४२ महिनामा सक्ने गरी शिलान्यास भएर पनि कछुवा गतिमा अगाडि बढेको नारायणगढ–बुटवल खण्डको काम चिनियाँ कामदारहरुले कोरोना विरुद्धको भ्याक्सिन लगाएर फर्केपछि तिब्र पारिएको छ ।

शिलन्यास भएपनि रुख कटान र विद्युत प्राधिकरणका पोल हटाउन ढिलाई गरिएपछि त्यसै पनि यो सडकमा काम अघि बढ्न सकेको थिएन । त्यसैबीचमा कोरोना भाइरसको महामारी फैलिएपछि सडकको काम अलपत्र जस्तै थियो ।

निर्माणस्थलमा आवश्यक पुर्वतयारी बिना ठेक्का सम्झौता भएकै कारण काम अघि नबढेको सडकलाई कोरोनाले थप बहाना बनाइदिएको थियो । आयोजना क्षेत्रभित्र पर्ने रुख र विद्युतका पोलहरु नहटाइ ठेक्का लगाइएका कारण ठेकेदार कम्पनीले काम अगाडि बढाउन नसकेको जनाएको थियो । सरकारले राष्ट्रिय प्राथमिकताको आयोजना बताए पनि सरकार अन्तर्गतकै वन विभाग र विद्युत प्राधिकरणले सहजीकरण नगरिदिँदा समयमा काम सुरु गर्न नसकेको चिनियाँ कम्पनीले अहिले पनि निर्माणलाई तिब्र बनाएको छ ।

राजमार्गको सिमाङ्कनमा ३० हजार रुखहरु कटान गर्नुपर्ने सडकको डीपीआरमा उल्लेख छ । लकडाउनलाई खुकुलो पारिएपछि हालसम्म साढे ६ हजार रुख कटान भैसकेको छ भने अहिले पनि रुख कटानको काम जारी रहेको आयोजनाको दाउन्ने पुर्व कार्यालयका ईन्जिनियर कृष्ण आचार्यले बताएका छन् । राष्ट्रिय वनसहित मध्यवर्ती क्षेत्रमा पर्ने रूखहरू पनि कटानका लागि मन्त्रिपरिषदले स्वीकृति दिइसकेको आयोजनाले जनाएको छ। पहिलो पटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क नआएपछि दोस्रो पटक फेरि वातावरणीय अध्ययन गर्नुपरेकाले रुख कटानको अनुमति आउन ढिलाइ भएको हो ।

इन्जिनियर आचार्यले कामको मुल्यांकन गर्ने बेला नभएपनि विगत केहि महिनाबाट ठेकेदार कम्पनीले गरेको प्रारम्भिक कामबाट समयावधिमा काम सकिने अपेक्षा गर्न सकिने बताए । ‘प्रायः सबै काम मेशिनको माध्यमबाट गर्ने भएका कारण काम समयमा सकिने आशा गर्न सकिन्छ’, आचार्यले भने ।

पूर्वाधार तयारी बिना ठेक्का सम्झौता भएपनि कोरोना महामारीको त्रासका कारण चिनिया प्राविधिकहरु कार्यस्थलमा ननिस्कँदा कामले गति पाउन सकेको थिएन । चिनियाँ प्राविधिकहरु चीन पुगेर कोरोना भाईरस विरुद्धको खोप लगाएर फर्केसँगै अहिले सडकमा देख्न सकिने गरी कामको गति बढेको छ । चिनियाँहरुले चीनमा कोरोना विरुद्ध क्लिनिकल ट्रायलमा रहेको खोप लगाएका छन् ।

सडक विस्तारको प्रारम्भिक कामअन्तर्गत अहिले दुई ठुला पुलसहित साना पुल, साइड ड्रेन, ५० वटा कल्भर्ट, माटो भर्ने, माटो कटान गर्ने, रुख कटान लगायतका कामहरु भैरहेको आयोजनाले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ९ गते बुटवलमा एक कार्यक्रमका बीच शिलान्यास गरेका थिए । यो आयोजना एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको हो। सडक विस्तारअन्तर्गत दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो ।

१ सय १५ किमि सडक विस्तार हुने १६ अर्बको आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले पाएको छ। नारायणगढ–दाउन्ने ६५ र दाउन्ने–बुटवल ५० किमिका दुई खण्ड छन्।

यता दाउन्ने पश्चिमको सडक बिस्तारका काम भने दाउन्ने पुर्वको जति पनि भएको छैन । दाउन्नेबाट बुटवल सम्मको ५० किलोमिटर सडक बिस्तारको काम २ प्रतिशत भन्दा कम भएको बिस्तार आयोजनाको दाउन्ने पश्चिम कार्यालयले जनाएको छ । ४ वटा ठूला र केहि साना पुलको काम थालनी भएको, केहिभागमा नाला तथा माटो कटानको काम भएको बाहेक अन्य काम भएको नदेखिएको दाउन्ने पश्चिम कार्यालयका इन्जिनियर युवराज पाण्डेले बताए ।

पाण्डेका अनुसार १३ हजार रुख कटानको स्वीकृती प्राप्त गरेकोमा हालसम्म ४ हजार १ सय रुख कटान भएको छ भने विद्युत पोल सार्ने कामको थालनी नै भएको छैन । कोरोना माहामारीको अवस्था यस्तै रहे समय सिमामा काम सम्पन्न हुने सम्भावना कम रहेको पाण्डेले बताए । ‘ठेकेदार कम्पनीसँग भएको ईकुप्मेण्ट हेर्दा र कस्सिएर काम गरे २० महिनामा काम नसकिने भने होईन’, पाण्डेले भने ।

ठेकेदार कम्पनी स्रोतले भने नेपालमा बाझिएका ऐन कानुनका कारण काम थाल्न ढिला भएको दाबी गरेको छ । वातावरणीय मुल्यांकनदेखि विद्युत पोलका सम्बन्धमा महिनौ निर्णय नआउँदा काम थाल्न अवरोध भएको नाम नलेख्ने सर्तमा कम्पनीका एकजना प्राविधिकले बताए । ‘नेपालको विगतदेखि चलन हेर्दा निर्माण सामाग्रीमा स्थानीय तहको अवरोध र उपलब्धता नहुने निश्चित छ, त्यसो हुँदा समयमा काम सक्न असम्भव हुन्छ’, उनले भने ।

सम्झौता अनुसार ठेकेदार कम्पनीले पाएको ४२ महिनाको म्याद गुज्रन अब २० महिना मात्र बाँकी छ ।

गत साता सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित भर्चुअल छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा काम सक्न निर्देशन दिएका थिए। सडक विस्तार हुने भएपछि हरेक वर्ष हुने न्यूनतम सडक सुधारको काम नहुँदा अहिले नारायण–बुटवल सडकखण्ड सर्वाधिक कठिन बनेको छ । जतासुकै भत्किएको सडकमा अत्याधिक जाम बढिरहेको छ भने धुलोले आसपासको वस्ती नै छोपिने अवस्था छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १ : १९ बजे

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते

दाङ । जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट

खजुरामा अन्तर विद्यालय मेयर रनिङ शिल्ड : नतिजा आउन सुरु

खजुरा । बाँकेको खजुरामा जारी आठौं अन्तर विद्यालय मेयर रनिङ

माछापुच्छ्रे बैंक पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएफ)मा सहभागी

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको