२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

विश्वकै लामो नाच अवधि छोटिँदै



ललितपुर । कात्तिक नाट्य महोत्सव आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीका कारण यही मङ्सिर १२ र १३ गते मात्र दुई दिन कात्तिक नाच यस वर्ष मञ्चन गरिने भएको हो ।

विश्वभर देखिएको कोभिड महामारीका कारण यसपटक ‘कार्तिक नाच’ देखाउने ध्येय मात्र नरही परम्परा धान्ने उद्देश्यले समेत रहँदा बराह र नृसिंह अवतारको नृत्य दुई दिन मञ्चन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए । उनले भने, “आउँदो शुक्रबार बराह र शनिबार नृसिंह अवतारको नाट्य महोत्सव देखाउने तयारी गरिरहेका छौं ।

यसका लागि ललितपुर महानगरपालिकाका प्रतिनिधिसँग कुरा गरिसक्यौँ । उहाँहरुको जवाफ पनि सकारात्मक नै छ । पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कार्तिक डबली’ मा नृत्य मञ्चन गर्न मञ्च बनाउने काम शुरु गरिसक्यौं ।” गत वर्षका तुलनामा यस वर्ष कोरोनालाई ध्यानमा राखी सामाजिक दूरी कायम गरेर आवश्यक कलाकारबाहेक अन्यलाई उपस्थित हुन नदिने तयारी भइरहेको चित्रकारले बताए ।

भगवान् विष्णुले मत्स्य र कुर्म हुँदै बराह अनि नृसिंह अवतार धारण गरेका थिए । बराह नृत्य कलाको प्रदर्शन कात्तिक शुक्लपक्ष द्वादशी र नृसिंह अवतार नाट्य मञ्चन कार्तिक शुक्लपक्ष त्रयोदशीकै दिन देखाउनुपर्ने परम्परा रहेको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए । उनले भने, “द्वादशीका दिन नृत्य प्रदर्शन गरेर कथामार्फत हिरण्याक्ष दैत्यको बध हुन्छ भने त्रयोदशीका दिन गरिने नृत्यमार्फत दानव हिरण्यकश्यपुको पनि बध गरिन्छ । यी दुई राक्षस भगवान् विष्णुका परम शत्रुका रुपमा चिनिन्छन् ।” यस वर्ष कात्तिक नाच देखाउन लामो समय तालीम दिनु नपरेकाले आर्थिक पक्षमा कुनै समस्या भइनसकेको शर्माले बताए ।

नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्ने हल्ला भएपछि गत वर्ष ललितपुर महानगरपालिकाले रु एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । यस वर्ष आएको महामारीका कारण भने जति रकम कोष खडा गर्न दिन नसकिने भएकाले महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मात्र रु ५० लाख सहयोग गर्ने घोषणा गरिसक्नुभएको समितिका सचिव विजय तण्डुकारले बताए । उनले भने,“ वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले कोष स्थापनाका लागि रु १० लाख र पर्यटनमन्त्री योगेशकुमार भट्टराईले रु १० लाख दिने बचनबद्धता दिइसक्नुभयो ।” नेपाल पर्यटन बोर्डले २०७३ सालमा कोष स्थापनाका लागि रु २५ लाख सहयोग गर्ने भने तापनि हालसम्म पाउन नसकिएको तण्डुकारले गुनासो गरे ।

मलुकमा कात्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि नरोकिएको बताइन्छ । गत वर्ष झैं यस वर्ष पनि १२ दिन नै नृत्य आयोजना गर्ने समितिको सोच भए पनि कोभिडले सम्भव भएन । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्यमान्यता बोकेको कात्तिक नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा लिइन्छ ।

नाचका प्रवत्र्तक राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु पण्डित हरिवंश उपाध्याय र दीक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ । कात्तिक नाच चलाएमा देशमा आउने विघ्नबाधा हटी शान्त्तिसुव्यवस्था कायम रहने विश्वास छ । सो नाचले शुरुआती चरणदेखि नै जनतालाई एउटै सूत्रमा बाँधेर मनोरञ्जन दिनाका साथसाथै धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ ।

कात्तिक नाच प्रथम पटक पाँच दिन प्रदर्शनी भएको थियो । सिद्धिनरसिंहका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोकनाटक’, ‘सुदामा प्याँख’ र ‘सुरदास प्याँख’ थपेर १५ दिन सञ्चालन गरिएको जानकार बताउँछन् । यसैगरी श्रीनिवासका छोरा राजा योगनरेन्द्रले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपी कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको जनाइएको छ । हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु नाचको विशेषता हो ।

ऐतिहासिक एवं सांस्कृतिक अमूर्त सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरी १२ दिन देखाउन थालिएको थियो । कोरोना महामारी आउनुअघि मुलुककै लामो नाट्य महोत्सव हेर्न स्वदेशका साथै थुप्रै मानिस पाटन आउँथे । यस वर्ष कोभिड जोखिमले गर्दा कात्तिक डबली वरपर बस्ने मानिसले समेत नृत्य हेर्न पाउने हो या हैन भन्ने अन्योल छाएको छ । सो नाच हिन्दूका साथै बौद्धधर्मावलम्बीका लागि पनि अति नै महत्वपूर्ण रहेको चित्रकारको बुझाइ छ । रासस

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १ : ५९ बजे

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने