४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

कोरोनाका कारण जाडो छल्न बेँसी झरेनन् मुस्ताङी



बेनी । विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष भने मङ्सिरको पहिलो साता बितिसक्दा पनि तल झरेका छैनन् ।

जाडो याममा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेक पूरै खाली हुने र तल्लो भेकमा पनि न्यून मात्रामा मानिस बस्ने गरेको विगतलाई यस वर्ष कोरोना भाइरस (कोभिड-१९) ले पूरै फेरिदिएको छ ।

विगतमा कात्तिकदेखि बेँसी झर्न थालेका मुस्ताङी फागुनमा फर्कने गर्दथे तर अहिले कोरोना भाइरसको सङ्क्रमणको जोखिमले उनीहरू आफ्नो थातथलो नछाड्ने मनस्थितिमा पुगेको उपल्लो मुस्ताङको लोमन्थाङका बासिन्दा एवं गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्ट बताउँछन् । उनि भन्छन्, ‘कहिल्यै पनि चिसो याममा आफ्नो ठाउँमा नबसेकाहरू पनि यस पटक भने कोरोना जोखिमलाई ध्यानमा राखेर जिल्ला नछाड्ने स्थानीयवासीले सोच बनाएका छन् ।’

विष्टका नुसार विगतका वर्षमा यो समयसम्म आइपुग्दा उपल्लो मुस्ताङमा १० प्रतिशत हाराहारी मात्रै मानिस हुने गरेको भए पनि अहिले भने कोही पनि तल आएका छैनन् । ‘हालसम्म लोमान्थाङ गाउँपालिकाभित्रको अवस्था हेर्दा पोखरा काठमाडौँतिर आफ्नै घर हुनेहरू केही मात्रै झरेका छन् तर अन्य झरेका छैनन्,’ लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदील बताए । अधिकृत सुवेदी भन्छन्, ‘पालिकाका अध्यक्ष झर्न चाहनुभएको छैन, म मात्रै झरेर पनि अर्थ हुँदैन गाउँका सबै यहीँ छन्, उनीहरूसँगै म पनि यहीँ बस्छु भन्नुभएको छ अध्यक्षले पनि ।’

निकै लामो समयसम्म कोरोना सङ्क्रमणको हिसाबले हेर्ने हो भने गण्डकी प्रदेशमा मुस्ताङ ‘ग्रिन जोन’ मा रहेको एक मात्रै जिल्ला थियो तर पछिल्लो तथ्याङ्क अनुसार भने मुस्ताङको कारागारका कैदीहरू दुई जनासहित १० महिला र १६ पुरुष गरी २६ जना सक्रिय सङ्क्रमित रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिइन् । प्रजिअ पौडेल भन्छन्, ‘कोरोनाकै कारणले जोखिम हुने डरले गर्दा जाडो छल्नका लागि स्थानीय अन्यत्र गएका छैनन् ।

अहिले सदरमुकाम जोमसोममा रातिको समयमा माइनस पाँच डिग्री र लोमान्थाङमा दिनमा माइनस ९ सम्म पुगेको छ तापक्रम ।’ माथिल्लो भेकमा लोमान्थाङ र लो घ्याकर दामोदरकुण्ड गाउँपालिका बालबालिकालाई पढाउन पोखरामा सञ्चालन गरिँदै आएको हिउँदे विद्यालय पनि यस वर्ष नचल्ने भएको छ । प्रत्येक वर्ष जाडो मौसममा उपल्लो मुस्ताङ तथा तल्लो भेकका पनि विद्यालय घुम्ती रूपमा पोखरामा सञ्चालन हुने भए पनि जोखिमले गर्दा यस वर्ष भने नचल्ने भएको शिक्षा समन्वय एकाइ मुस्ताङका एकाइ प्रमुख टङ्क बराल बताउँछन् ।

बरालका अनुसार यस वर्ष पढाइ नभएको कारण अन्य जिल्लाको जस्तै शैक्षिक सत्र चैतमै पुर्‍याउने भएको छ भने जोखिमले गर्दा घुम्ती विद्यालय सञ्चालन हुने छैनन् ।

उपल्लो र मध्य मुस्ताङका स्थानीय प्राचीन समयदेखि नै गधा, घोडा धपाउँदै बालबच्चासहित हिउँदमा बेँसीका म्याग्दी, पर्वत, कास्की, तनहुँ मात्रै नभएर भारतसम्म पनि पुग्ने गर्दथे । बस्तीमा पुगेर घुम्ती व्यापार गर्ने र भारतमा पुगेरै थोक व्यापारसम्म गर्ने मुस्ताङीहरू मध्य फागुनपछि तिनै गधा, घोडामा खाद्यान्न बोकाएर घर फर्कन्थे तर यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणको जोखिमले बाहिर नजाने भएका लो घ्याकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्ट बताउँछन् । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : १४ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत