२७ श्रावण २०८३, बुधबार | August 12, 2026

यस वर्ष हरिबोधनी एकादशी आज र भोलि, यस्तो छ एकादशीको महत्व



काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताउँछन् । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ ।

एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँछन् । यसै कारण मङ्सिर १० गते बुधबारलाई स्मार्तानां एकादशी व्रत भनी समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा उल्लेख गरिएको उनले जानकारी दिए ।

वेदमा आधारित भई कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् । सूर्योदय हुनुअघिको चार घडीलाई अरुणोदय भनिन्छ । यो एकादशी यस वर्ष मङ्सिर ११ गते बिहीबार परेको समितिले जनाएको छ ।

जसलाई वैष्णवानां एकादशी अर्थात् वैष्णवको एकादशी भन्ने गरिएको छ । यहाँ विशेष टीका लगाउनेलाई मात्र वैष्णव भनी बुझ्न नहुने अध्यक्ष गौतमले बताए । समितिले स्वीकृति दिएकामा पात्रोमा पनि यही उल्लेख गरिएको छ ।

हरिबोधनी एकादशीको महत्व

कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ ।

यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण चार नारायणमध्ये केहीमा मात्र मेला लाग्ने जनाइएको छ । भक्तजनलाई घरघरमै बसी नारायणको पूजा आराधना गर्न धर्मशास्त्रविद् र सम्बन्धित मन्दिर व्यवस्थापन समितिले आह्वान गरेका छन् ।

शेषनारायणमा मेला लाग्ने

दक्षिणकाली नगरपालिका-५ मा पर्ने चार नारायणमध्येको एक शेषनारायण मन्दिरमा भने हरिबोधनी एकादशीका अवसरमा बुधबार र बिहीबार दुवै दिन मेला लाग्ने भएको छ । मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका वडाध्यक्ष श्यामबहादुर खत्री विद्यालयसमेत खुलिसकेको अवस्थामा वर्षमा एकदिन धेरै भक्तजन आउने मन्दिर बन्द नगरिएको बताए।

मन्दिर खुले पनि भौतिक दूरी कायम गरेरमात्र दर्शन गराइने उनले सुनाए । नगर क्षेत्रका स्थानीयवासीले ११ गते एकादशी मनाउने भएकाले त्यस दिन नगरपालिकाले नगर क्षेत्रमा स्थानीय बिदासमेत दिएको छ ।

हरिबोधनी एकादशीका अवसरमा चार नारायण जान नसक्ने उपत्यकाको उत्तरी भेगमा रहेको बूढानीलकण्ठमा दर्शन गर्छन् । यहाँ दर्शन गरेमा चार नारायणमै दर्शन गरेको फल मिल्ने धार्मिक विश्वास छ ।

बूढानीलकण्ठ मन्दिर पनि यस वर्ष कोरोनाका कारण भक्तजनका लागि खुला नगरिने भएको छ । नित्य पूजा भने पूर्ववत् चलाइने बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश निगमानन्दले जानकारी दिए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ३५ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको