२६ बैशाख २०८१, बुधबार | May 8, 2024

४ महिनामै २७ सय फरार पक्राउ



काठमाडौं । १७ वर्षको उमेरमा डकैती गरी फरार स्याङ्जाका ६४ वर्षीय लालबहादुर लाम्जाली ४७ वर्षपछि प्रहरी फन्दामा परे ।

स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार लाम्जाली अपराध गरेर सुरुमा भारत पलायन भएका थिए, पछि कसुर पुरानो हुँदै गएपछि घर फर्किएर पुनः वैदेशिक रोजगारीका क्रममा साउदी अरब, मलेसियालगायत मुलुक पनि गएका थिए ।

स्याङ्जा प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका १ सय ११ जनालाई कात्तिक १९ मा पक्राउ गर्‍यो । यसअघि असोज ४ मा ४८ जना फरार अपराधीलाई पक्राउ गरेको थियो । यसैगरी, सप्तरी प्रहरीले पनि असोज ८ मा फरार १५ जना अपराधीलाई पक्राउ गरेको थियो ।

त्यसको झन्डै डेढ महिनापछि (कात्तिक २१) थप ४५ जना पक्राउ परे । उता, साउन १६ मा जिल्ला प्रहरी कार्यालय पाल्पा र मातहत इकाइले १४ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको छ । यीबाहेक देशभरका अन्य जिल्ला प्रहरी कार्यालयले पनि विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई लुकीछिपी बस्दै आएका अपराधी पक्रन विशेष संयन्त्र खटाएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत साउनदेखि कात्तिकसम्म देशभरबाट २ हजार ७ सय २६ जना फरार अपराधी पक्राउ परेका छन् । उनीहरूले समग्रमा १ हजार ५ सय ५३ वर्ष कैद र साढे ११ करोड रुपैयाँ बिगो/जरिवाना असुलको सजाय पाएका थिए ।

गत आर्थिक वर्षमा देशभरबाट १ हजार ३ सय ७८ वर्ष कैद र ३८ करोड ९० लाख रुपैयाँ जरिवानाको सजाय पाएका २ हजार ३ सय ३२ जना फरार अपराधी पक्राउ परेका थिए । योभन्दा चालु आवको पहिलो ४ महिनामै फरार अपराधी पक्राउको संख्या बढी पुगेको हो ।

यसरी पक्राउ परेका कैदीले जरिवानाबापत बुझाउनुपर्ने रकमको २५ प्रतिशत प्रोत्साहनस्वरूप प्रहरीलाई उपलब्ध गराउने कानुनी व्यवस्था छ, जसअनुसार पछिल्लोपटक पक्राउ परेका व्यक्तिबाट असुल हुने जरिवानामध्ये करिब ३ करोड रुपैयाँ प्रहरीले पाउनेछन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले फरार अपराधी धमाधम पक्राउ पर्न थालेपछि कारागारमा कैदीबन्दीको चाप बढेकाले व्यवस्थापनमा चुनौती थपिएको बताए । ‘यसै पनि भौतिक संरचना अपर्याप्त छ, जसका कारण पछिल्लोपटक बढेको चापका कारण कैदीबन्दीलाई कोचाकोच गरेर भए पनि व्यवस्थापन गर्नुपर्ने बाध्यता आयो,’ उनले भने ।

साउनदेखि कात्तिकसम्म उपत्यकाबाट २७ जना, प्रदेश १ बाट १ सय २५, प्रदेश २ बाट २ सय ४८, वाग्मतीबाट २ सय २१, गण्डकीबाट १ हजार १ सय ८९, लुम्बिनीबाट ५ सय २१, कर्णालीबाट ३ सय ३१, सुदूरपश्चिमबाट ५५ र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट ९ जना फरार अपराधीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पठाइएको छ ।

यसलाई मध्यनजर गरेर विभागले ७७ वटै जिल्लामा कारागार भवनको क्षमता बढाउन पहल थालेको महानिर्देशक पोखरेलले बताए । अहिले १४ हजार जनासम्मको क्षमता भएका विभिन्न कारागारमा २५ हजार जनाभन्दा बढी कैदीबन्दी राखिएको छ । नुवाकोट र बाँकेमा निर्माणाधीन कारागारको काम सम्पन्न भए कैदीबन्दी व्यवस्थापन गर्न सजिलो हुने उनले बताए । कैदीबन्दीको अवस्था र भौतिक संरचनालाई लिएर बारम्बार सरकारको आलोचना हुने गरे पनि विकल्पमा ध्यान पुग्न सकेको छैन ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर अदालतबाट भएका फैसला कार्यान्वयनलाई अभियानकै रूपमा अघि बढाउँदा धमाधम अपराधी पक्राउ पर्न थालेको बताए । ‘कारागारमा बसेर कैद सजाय भुक्तान गर्नुपर्ने व्यक्ति समाजमा निर्बाध हिँडडुल गर्दा दण्डहीनता मौलाउने मात्र होइन, अपराधमा संलग्नबाट थप डरत्रासको स्थिति जीवितै रहन्छ, यसलाई समेत मध्यनजर गरेर फैसला कार्यान्वयनलाई कडाइसाथ तीव्रता दिइएको हो,’ प्रवक्ता
कुँवरले कान्तिपुरसँग भने, ‘यस्ता व्यक्ति कहीँकतै लुकेर बसेकाछन् भने प्रहरीलाई खबर गर्न पनि आमनागरिकमा हाम्रो आग्रह र अनुरोध छ ।’

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जिल्ला र प्रदेश प्रहरीबाट फैसला कार्यान्वयनका लागि अदालतको तहसिल शाखासँग समन्वय गरी फरार अपराधी पक्राउलाई अभियानकै रूपमा अघि बढाइएको बताए । ‘फरार अपराधी पक्राउ गर्न मातहतका प्रत्येक जिल्ला प्रहरी कार्यालयमा विशेष संयन्त्र नै बनाएका छौं, यसमा नागरिक तहबाट पनि यस्ता व्यक्ति पक्राउ गर्न सहयोग आवश्यक छ,’ उनले भने, ‘अपराधी समाजमा लुकेर बस्दा त्यसबाट अर्को अपराध निम्तिने जोखिम रहन्छ, यसप्रति सबै सचेत रहनुपर्छ ।’ उक्त समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ७ : ०७ बजे

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s