१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

रहरैरहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरीयो



गलेश्वर । दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय ध्रुव थापालाई नपुग्दो केही छैन ।

बागलुङ बजारमा घर र बगरफाँटको जग्गा अरुले नै प्रयोग गरिरहेका छन् । अमेरिका र जापानमा रहेका भाइ, छोरो र बुहारीबाट मासिक रु १२ लाखभन्दा बढी थापाको हातमा पर्छ तर, थापालाई भाइ र छोरा बुहारीले विदेशमा कमाएर पठाएको मासिक रु १२ लाखले ऐयासी र घमण्डी बनाएन ।

बरु उनीहरुले विदेशमा दुःख गरेर पठाएको पैसा बचत गरिदिने र घरखर्चलगायत आफ्नो व्यावहारिक जीवन चलाउन आफ्नै माटोमा पौरख गर्ने जाँगर सिकायो । त्योभन्दा पनि बढी थापाकै देखासिकीमा गाउँका युवाले सानालेखमा तरकारी फलाऊँ अभियान चलाएर आफैँ स्वावलम्बी बनेर गाउँको मुहार नै फेर्न सफल भए ।

थापाले दुई वर्षअघि रहरैरहरले शुरु गरेको बेमौसमी तरकारी खेतीले अहिले उनलाई व्यावसायिक मात्रै बनाएन सरल स्वभावका पौरखी ‘अर्गानिक’ कृषकको परिचय पनि दियो । थापाले सानालेखको आफ्नो घर नजिकै रहेको सात रोपनी बारीमा विभिन्न थरिका बेमौसमी तरकारी खेती गरेका छन् ।

अठार वर्ष विदेशमा बसेर आफैँ पनि प्रशस्त पैसा कमाएका थापाले दुई वर्षअघि रहरैरहरमा गरेको तरकारी खेतीबाट अहिले वार्षिक रु तीन लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । उनको बारीमा अहिले काउली, बन्दा, खुर्सानी, धनियाँ, गोलभेँडा, रायो सागलगायतका बेमौसमी तरकारी लटरम्मै फलेका छन् ।

“मैले दुई वर्षअघि तीन रोपनी जग्गामा बेमौसमी तरकारी खेती शुरु गरेको हुँ”, थापाले भने, “अरुको देखेर रहरैरहरले शुरु गरेको तरकारी खेतीले अहिले मलाई व्यावसायिक बनायो, आम्दानी पनि राम्रै हुन थालेको छ ।” थापालाई अहिले तरकारी खेतीबाट भएको आम्दानीमा नै रस बस्न थालेको छ । थापाकै देखासिकी गरेर गाउँका १० युवाले पनि व्यावसायिक तरकारी खेतीको शुरुआत गरेका छन् । थापालाई यसैमा आत्मसन्तुष्टि मिलेको छ । थापा भन्छन्, “मैले गरेको बेमौसमी तरकारी खेती देखेर गाउँका अरु भाइहरुले पनि शुरु गरेका छन् । उनीहरुले पनि राम्रो कमाइ गरिरहेका छन् । मलाई सबैभन्दा धेरै खुशी यसैमा लागेको छ ।”

दुई वर्ष अघिसम्म करेला, स्कुस, सिमीलगायतका परम्परागत रैथाने तरकारीबाहेक अरु तरकारी खान मनलागे बजारबाट किनेर ल्याउनुपर्ने बाध्यतामा रहेका सानालेखवासीका बारीमा अहिले विभिन्न किसिमका बेमौसमी तरकारी लटरम्मै झुलेका छन् ।

स्थानीय हरिप्रसाद शर्मा भन्छन्, “अहिले त गाउँको रौनक नै फेरिएको छ, रहरैरहरमा ध्रुवजीले गरेको तरकारी खेतीले गाउँलेलाई गर्न जानेपछि हुँदो रैछ त भन्ने बनाएको छ । अहिले हाम्रो गाउँ बेमौसमी तरकारी खेतीको ‘हब’ नै बनेको छ ।”

सानालेखका हरि शर्मा, महेन्द्र थापा, नारायण शर्मालगायतका १० युवाले अहिले व्यावसायिक तरकारी खेती शुरु गरेका छन् । उनीहरुले तरकारी बेचेर एक सिजनमा रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । रासस

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ९ : ०२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग