६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपालमा कोरोना खोप कहिले आउछ ?



काठमाडौं । छिमेकी राष्ट्र भारतमा केही दिनमै कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेका बेला नेपालमा भने खोप कहिले र कहाँबाट आउने भन्ने यकिन हुन सकेको छैन ।

भारतका विभिन्न राज्यमा शुक्रबार खोप लगाउने पूर्वाभ्यास गरिएको छ भने विभिन्न भारतीय सहरमा वितरण केन्द्र स्थापना गरिएका छन् । खोपका लागि चाहिने व्यवस्थापकीय तयारी तथा प्रशिक्षण सञ्चालन गरेको भारतले केही दिनमै खोपको व्यापक अभियान सुरु गर्ने तयारी गरेको छ ।

वास्तविक खोप कार्यक्रम सञ्चालन गर्नुअघि गरिएका पूर्वाभ्यासमा हरेक प्रस्तावित खोप केन्द्रमा स्वास्थ्यकर्मीलाई डमी खोप लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा विकास गरिएको तथा भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभासिल्ड र भारत बायोटेकले उत्पादन गर्ने कोभ्याक्सिनलाई आपत्कालीन प्रयोग अनुमति दिइसकेको छ ।

खोप लगाउने व्यक्तिसँग अनुमति लिएर र खोपका असरलाई अनुगमन गर्ने सर्तमा कोभ्याक्सिनलाई अनुमति दिइएको हो । नेपालको अर्को छिमेकी राष्ट्र बंगालादेशले सेरम इन्स्टिच्युटले बनाएको खोपको आपत्कालीन प्रयोगका लागि शुक्रबार अनुमोदन दिएको छ ।

बंगालादेशले सेरमसँग ३ करोड डोज खरिद गर्ने सम्झौता यसअघि नै गरिसकेको छ र फेब्रुअरीको सुरुमा खोपको पहिलो लट ढाका पुग्ने अपेक्षा गरिएको छ । छिमेकी राष्ट्रहरूमा कोरोना खोपसम्बन्धी द्रुत गतिमा विकास भए पनि नेपालमा खोप कहिले र कहाँबाट आउनेछ भन्न्नेमा अझै अन्योल छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारी हाल विकास भइरहेका तथा विभिन्न देशले अनुमोदन गरेका खोपको खरिदसम्बन्धी विभिन्न सम्भावनालाई नजिकबाट हेरिरहेको बताउँछन् । परराष्ट्र मन्त्रालयले हालै भारत सरकारसमक्ष उसले खरिद गर्ने हरेक खोपमा नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोपको मात्रा पनि संलग्न गरेर खरिदमा सहजीकरण गर्न अनुरोध गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठन, गाभी र सेपीको सहकार्यमा स्थापना गरिएको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा उपलब्ध हुने २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप र नेपालको अनुरोधअनुरूप भारतीय सरकारले थप २० प्रतिशतलाई आवश्यक खोप उपलब्ध गराए नेपालका कुल जनसंख्याको ४० प्रतिशतले खोप प्राप्त गर्नेछन् ।

नेपालले सिधै निर्माता कम्पनी सेरम इन्सिच्युटलाई पनि आफू खोप खरिद गर्न इच्छुक रहेको पत्र लेखेको छ । ‘तत्काल कुन खोप उपलब्ध हुनेछ भन्ने सुनिश्चित नभएका कारण हामीले सबै सम्भावनालाई खुला राखेका छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम भन्छन्, ‘अत्यधिक जोखिममा रहेका ३ प्रतिशत जनसंख्यालाई साढे एकदेखि दुई महिनाभित्र खोप उपलब्ध गराउन सके पनि त्यसलाई राम्रो प्रगति मान्नुपर्छ ।’

नेपालले खोप खरिद गर्दा मागेको मात्रामा उपलब्ध गराउन सक्ने, सुपथ मूल्यमा उपलब्ध हुने, २ देखि ८ डिग्री सेन्टिग्रेड तथा माइनस २० डिग्री सेन्टिग्रेड तापक्रमको चिस्यानमा राख्न सकिने तथा जुन देशमा उत्पादन भएको हो, त्यही देशमा समेत प्रयोग भएको खोप हुनुपर्नेजस्ता आधारहरू तय गरेको छ ।

यी आधारले नेपालका लागि सेरम इन्स्टिच्युट, मूल्य मिलेमा मोर्डना र चिनियाँ खोप सिनोफर्म अग्रपंक्तिमा रहेको प्रवक्ता गौतम बताउँछन् ।
चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिनोफर्मद्वारा विकास गरिएको खोपलाई चीन सरकारले हालै अनुमोदन गरेको छ । यसैगरी अमेरिकी औषधि उत्पादक कम्पनी मोर्डनाले कम्तीमा २० लाख डोज खरिद गरे नेपाललाई खोप उपलब्ध गराउन सकिने बताएको पनि डा गौतमले जानकारी दिए ।

खोप निर्माता कम्पनीसँग यथाशीघ्र सम्झौता गर्न नेपालले किन नसकेको भन्ने प्रश्नमा प्रवक्ता गौतम तर्क गर्छन्, ‘कुनै खोप निर्मातासँग सम्झौता गर्दा अर्को उपयुक्त खोप निर्माताले त्योभन्दा छिटो उपलब्ध गराउन सक्छु भन्यो भने के गर्ने ? त्यसैले हामीले सबै सम्भावनालाई खुला राखेका छौं ।’ उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ७ : १५ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले