११ बैशाख २०८१, मंगलबार | April 23, 2024

ज्यानको बाजी राखेर हिउँमा शे-फोक्सुण्डो निकुञ्जको सुरक्षा



जाजरकोट । ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ ।

अहिले चिसो मौसममा अर्कोतिर भारी हिमपातका कारण नियमित गस्ती गर्न मुस्किल त छँदैछ, त्यसमा पनि तोकिएको दरबन्दीभन्दा आधा कम जनशक्तिका कारण निकुञ्जको सुरक्षा र संरक्षणमा चुनौती सिर्जना हुँदै आएको छ ।

विसं २०४० मा स्थापना भएको यो निकुञ्ज तीन हजार ५५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । डोल्पा र मुगु जिल्लाको हिमाली क्षेत्रमा मात्र फैलिएको निकुञ्जमा छ महिनाभन्दा बढी हिउँले ढाक्ने गर्दछ ।

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू-धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायतका हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।

काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता थपेको छ । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल छ । यसलाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे गुम्बा पनि यहीं छ ।

निकुञ्जमा चोरी, निकासी गर्नेको ठूलो जमात दैनिक पक्राउ परिरहेको छ । दुई महिनायता मात्र भारी मात्रामा हतियार र तस्कर पक्राउ परिसकेका छन् । तस्कारबाट हतियारदेखि जनावरका विभिन्न अङ्गसमेत फेला परेको निकुञ्जका प्रमुख सरोजमणि पौडेलले बताए । निकुञ्जको कार्यालय सुलिगाडमा रहेको छ । यो निकुञ्ज क्षेत्रको सबैभन्दा तल्लो भागमा रहेको छ ।

माथिल्लो भागमा अहिले हिउँले ढाकेको छ । हिमपातकै बीचमा वनरक्षक तथा स्थानीयवासीबीच सहकार्य भई संरक्षण समितिले नियमित हिउँमै गस्ती गरिरहेको छ । ज्यानको बाजी लगाएर भए पनि निकुञ्जको सुरक्षा गरिरहेका स्थानीयवासी धनु गुरुङले बताए । गस्ती गर्न मुस्किल हुने उच्च भागमा ड्रोन क्यामरामार्फत गस्ती गर्नका लागि पहल थाले पनि ड्रोन नहुँदा सो पहल असफल भएको छ ।

कठिन भूगोलका साथै हिउँले गर्दा गर्न खोजिएको काम तोकिएकै मितिमा गर्न मुस्किल हुँदै आएको निकुञ्जका प्रमुख पौडेलले जानकारी दिए । मुगु र डोल्पाको माथिल्लो भागमा अक्सिजनसमेत पाउन मुस्किल हुने ठाउँमा निकुञ्ज संरक्षण गर्न हिउँमा गस्ती गर्न निकै अप्ठ्यारो काम हो ।

माथिल्लो भागमा काम गर्ने कर्मचारी काम गर्दागर्दै धेरै पटक बिरामी हुँदा उद्धार गरी उपचारका लागि सदरमुकाम दुनै पुर्याएइका थुप्रै घटनाहरुले कर्मचारीहरुको मनोबल पनि कमजोर बनाएको छ ।

जङ्गली जनावरको त्रासका साथै नजिक गाउँ घर नभएका अग्ला अनकन्टार पहाड र चट्टानमा जो कसैलाई पनि काम गर्न सजिलो छैन । स्थानीय उत्पादनभन्दा आयातित अन्नमा भर पर्नुपर्ने बाध्यताका बीचबाट जीवन चलाइरहेका सर्वसाधारणसँग फरक भाषा अनि रहनसहन, भेषभूषासमेत फरक रहेको छ ।

नेपाली भाषाभन्दा आफ्नै भाषा बोल्ने यहाँका स्थानीयवासीसँग सहकार्य गरी काम गर्न अर्को चुनौती बनेको निकुञ्जका कर्मचारी बताउँछन् । चिसो मौसममा उपल्लो डोल्पामा रहेका प्रहरीचौकीसमेत दुनैस्थित सदरमुकाममा झारिँदै आएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ८ : ३५ बजे

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन