१ आश्विन २०८३, बिहिबार | September 17, 2026

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री



काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको सभ्यतामाथि नै खतरा रहेको तथ्य संयुक्त राष्ट्रसङ्घमार्फत विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।

आज साँझ परराष्ट्र मन्त्रालयमा पत्रकारहरूसँग अनौपचारिक अन्तक्र्रियाका क्रममा उनले भने, “जलवायु परिवर्तनबाट नेपाल र हामीजस्ता हिमाली देशहरू जोखिममा छन् । भोटेकोशीमा आएको हिमाली सुनामीबाट यो प्रमाणित भएको छ । यो तथ्यलाई हामी राष्ट्रसङ्घको आगामी महासभामा उठाउँछौँ ।”

मन्त्री खनालले भोटेकोशी बाढीको प्रकृति जलवायु परिवर्तनको असरबाहेक अरु केही हुन नसक्ने भन्दै यस प्रकारका प्रलयबाट नेपालमात्र नभई सिङ्गो हिमाली सभ्यता नै खतराको सूचीमा रहेको प्रामाणिक आधार महासभामा प्रस्तुत गरिने बताए ।

उनले भने, “आगामी महासभामा हाम्रो प्रमुख एजेण्डा नै जलवायु न्याय हो । हामी जलवायु परिवर्तनका कारण पीडित छौँ भन्ने वैज्ञानिक एवं प्रामाणिक तथ्यसहित प्रस्तुत हुन्छौँ र यही वास्तविकता विश्व समुदायसमक्ष राख्नेछौँ ।”

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका तर्फबाट महासभालाई सम्बोधन गर्नेछन् । नेपाललाई नखाएको विष कसरी लागिरहेको छ र हामी दिनप्रतिदिन जलवायु परिवर्तनको सिकार के–कसरी भइरहेका छौँ भन्ने तथ्य उनले प्रस्तुत गर्ने जानकारी पनि मन्त्री खनालले दिए ।

नेपालले विगत लामो समयदेखि राष्ट्रसङ्घसहित विभिन्न अन्तरराष्ट्रिय मञ्चहरूमा नेपाल जलवायु न्यायको भागिदार रहेको दलिल पेस गर्दै आएको उल्लेख गर्दै मन्त्री खनालले आगामी दिनमा जलवायु कूटनीतिका माध्यमबाट यसलाई संस्थागत गर्ने र नेपालभित्र पनि अन्तरसरकारी संयन्त्रमार्फत जलवायु कूटनीतिको क्षेत्रलाई बलियो बनाइने उल्लेख गरे ।

मन्त्री खनालले जलवायु परिवर्तनको असरबाट जोखिममा परेका साना तथा टापु एवं पहाडी राष्ट्रहरूको साझा गठबन्धन बनाएर त्यसको नेतृत्व गर्दै नेपालले जलवायु कूटनीतिको वकालत गर्ने स्पष्ट पारे ।

उनले भने, “पहिले–पहिले साना, टापु तथा पहाडी राष्ट्रहरु जलवायु परिवर्तनबाट समुद्री देशहरूमात्र प्रभावित हुन्छन् भन्ने सोचमा थिए । तर अहिले जलवायु परिवर्तनको असर केवल समुद्री सतह बढ्नेमात्र नभएर हामीजस्ता देशमा नै बढी देखिएकाले यस प्रकारको गठबन्धनका साथ अगुवाइ एवं कूटनीतिक पहल गर्न जरुरी देखिएको छ ।”

आफू महासभामा सहभागी हुने क्रममा कैयौँ ‘साइडलाइन’ भेटघाटमा व्यस्त रहने र त्यस क्रममा भोटेकोशी बाढीका कारण भएको क्षतिका बारेमा जानकारी गराएर सहयोग र पुनर्निर्माणका लागि आग्रह गर्ने जानकारी मन्त्री खनालले दिए ।

नेपालजस्ता देशले अब ऋणको बोझ धेरै बोक्न नसक्ने स्पष्ट गर्दै विश्व समुदायसमक्ष सहयोगका लागि अपिल गर्ने उनको भनाइ थियो ।

त्यस क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालले यसपटक जलवायु न्यायका पक्षमा विश्व समुदायसमक्ष वकालत गर्ने जानकारी दिए । सो सम्बन्धमा नेपालले एक अलग्गै उच्चस्तरीय कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।

परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जलवायु परिवर्तनको जोखिम दिनप्रतिदिन बढ्दै गएकाले नेपालले जलवायु कूटनीतिलाई कूटनीतिको नयाँ आयामका रूपमा विश्वव्यापी रूपमा विस्तार गर्दै लैजाने बताए ।

राष्ट्रसङ्घको आसन्न ८१औँ महासभाका लागि प्रधानमन्त्री शाह यही सेप्टेम्बर २२ मा न्युयोर्क प्रस्थान गर्ने र २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी २६ सेप्टेम्बरमा स्वदेश फर्कनेछन् ।

त्यसैगरी, परराष्ट्रमन्त्री खनाल यही सेप्टेम्बर २० मा न्युयोर्क प्रस्थान गर्ने र ३० मा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ११ : ०२ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा