नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ । बडादशैंको अवसरमा नेपालगन्जमा १५८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीलाको १५९ औं सृङ्खलाको मञ्चन गर्ने तयारी गरिएको हो ।
गत वर्ष जेनजी आन्दोलनका कारण प्रतिकूल परिस्थिति उत्पन्न भएपछि मञ्चन हुन नसकेको रामलीलालाई यसवर्ष निरन्तरता दिन थालिएको हो । गतवर्ष रामलीला मञ्चनलाई स्थगित गरेर रावण दहन कार्यक्रम मात्र गरिएको थियो ।
नेपालगन्जको पहिचानका रूपमा स्थापित रामलीलाको यस वर्ष १५९औँ शृंखला असोज २५ गते घटस्थापनाका दिनदेखि सुरु हुने रामलीला सञ्चालक समितिले जानकारी दिएको छ । नेपालगन्जस्थित रामलीला मैदानमा दस दिनसम्म रामलीला मञ्चन गरिनेछ ।
शोभायात्रासहित रामलीलाको विधिवत् शुभारम्भ गर्ने तयारी गरिएको समितिले जनाएको छ ।रामलीला सञ्चालक समितिको बुधबार सम्पन्न साधारणसभाले यस वर्षको रामलीला मञ्चनलाई भव्य र व्यवस्थित बनाउने लगायतका विभिन्न निर्णय गरेको छ । त्यसका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
यस वर्ष भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा कलाकार टोली ल्याएर रामलीला मञ्चन गरिने रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । प्रतिकूल परिस्थितिका बाबजुद नेपालगन्जको पहिचान, संस्कृति र अस्तित्वसँग रामलीला मञ्चन जोडिएकाले यसको निरन्तरताका लागि पहल गरिएको उनले बताए ।
रामलीलामा भगवान् राम र सीताको जीवनीसँग सम्बन्धित विभिन्न कथालाई नाटकीय शैलीमा प्रस्तुत गर्ने गरिन्छ । अध्यक्ष कनोडियाका अनुसार हरेक दिन साँझ ८ बजेदेखि राति १२ बजेसम्म रामलीला मञ्चन हुनेछ ।
















प्रतिक्रिया