१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कर्णाली करिडोरको काम धमाधम, असारमा हस्तान्तरणको तयारी



काठमाडौं । कर्णाली प्रदेशको विकासको मेरुदण्ड मानिएको कर्णाली करिडोरको काम यतिबेला धमाधम भइरहेको छ ।

राष्ट्रिय राजमार्गले नछोएको हुम्लाका सदरमुकाम सुन्दर सिमकोट अब चाँडै सडक सञ्जालसित जोडिने छ । कर्णाली करिडोरको विभिन्न खण्ड निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो करिडोर निर्माणले गति लिएको हो ।

आगामी असारसम्ममा हुम्लाको सलीसल्लासम्म सवारी साधन सञ्चालन हुने गरी काम भइरहेको छ । यहाँबाट हुम्लाको सदरमुकाम सिमकोट पुग्न अब ५० किलोमिटर छ । सुर्खेतको बाँगेसल्लादेखि दहीखोलासम्म १२६ किलोमिटर कर्णाली राजमार्ग नै पर्ने भएकाले पक्की सडक छ । खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक करिब डेढ सय किलोमिटर हुनेछ ।

सुरुमा कालीकोटको खुलालुदेखि हिल्सासम्मलाई कर्णाली करिडोर मानिए पनि अहिले यसलाई सुर्खेतको बाँगेसिमलदेखि हिल्सासम्मको ४१० किलोमिटर मानिएको छ । यो करिडोरलाई भारतसँग पनि जोड्नुपर्छ भन्ने अवधारणा आएपछि बाँकेको जुमनाहदेखि हिल्सासम्म जोड्नुपर्ने योजना बनाइएको छ ।

दुई दशकअघि २०५६ सालमा शिलान्यास गरिएको कर्णाली करिडोर २०६६ सालसम्म सडक विभागले निर्माण गरिरहेको थियो । करिडोरमा ठूलाठूला चट्टान र अप्ठेरो पहाड पर्ने भएपछि सडक निर्माणका लागि २०७१ चैतमा नेपाली सेनालाई जिम्मा लगाइएको थियो । यस आयोजना आर्थिक वर्ष २०६५/६६ देखि सुरु भई आव २०७०/७१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको अपेक्षा गरिएकोमा संशोधन भई आव २०७९/८० मा सम्पन्न हुने गरी म्याद थप गरिएको छ ।

सवारी साधन सञ्चालन

कालीकोटको ३८.५ किलोमिटर र बाजुराको ४४ किलोमिटर गरी कर्णाली करिडोरको ८३ किलोमिटर सडकमा सवारी साधन चल्न थालिसकेका छन् ।

कालीकोट खण्ड नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि पचालझरना गाउँपालिकाको लैफुसम्मको ४० किलोमिटर क्षेत्रमा पर्ने खुलालु खोलामा १३० फिटको बेलिब्रिज निर्माण र खुलालुकै करिब दुई किलोमिटर क्षेत्रको चट्टान फुटाउने काम भइरहेको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।

यी काम सम्पन्न गरी आगामी असारमा सडक डिभिजनलाई हस्तान्तरण गर्ने योजना रहेको नेपाली सेना निर्माण कार्यदलका प्रमुख सेनानी मिलन कार्कीले जानकारी दिए । प्रमुख सेनानी कार्कीले २० करोड ३८ लाख रुपियाँ माग गरिएकोमा रकम निकासासमेत भइसकेको जानकारी दिए ।

असारभित्रै हस्तान्तरण

बाजुरा जिल्लामा पर्ने ४४ किलोमिटर सडक खण्डमा सवारी साधन सञ्चालन हुन थालिसकेका छन् । हुम्ला जिल्लामा पर्ने १८४ किलोमिटरमध्ये कवाडीदेखि बालुकुनासम्मको २७ किलोमिटर सडक निर्माण कार्य पूरा भएर हाल सवारी साधन सञ्चालन भइरहेका छन् । आगामी असारसम्ममा सलीसल्लासम्म सवारी साधन सञ्चालन गर्ने लक्ष्य छ । योसँगै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट चाँडै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो ।

नेपाली सेनाले जिम्मेवारी लिएको कालीकोट, बाजुरा र हुम्ला खण्डमध्ये हुम्ला जिल्लाको काम अन्तिम चरण पु¥याइएको खुलालु–लैफु–कवाडी-सलीसल्ला सडक निर्माण दलका योजना प्रमुख इन्जिनियर मिलन कार्कीले बताए ।

हुम्ला खण्डमा पर्ने ३९ किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक निर्माण सम्पन्न हुन बाँकी छ । कवाडीदेखि बालुकुनासम्मको २७ किलोमिटर सडक निर्माण कार्य पूरा भएर हाल सवारी साधन सञ्चालन भइरहेका छन् ।

बालुकुनादेखि सलीसल्लासम्मको बाँकी १२ किलोमिटर सडकमध्ये १० किलोमिटरमा ट्र्याक खोल्ने कार्य पूरा भएर कटिङ, ग्याबिन लगाउने, पर्खाल लगाउने, माटो सम्याउने र नाला निर्माण गर्ने कार्य भइरहेको कार्कीले बताए । यस खण्डमा पनि सेनाका गाडी चल्दै आएका छन् । सेनाले जिम्मा पाएको सडकको निर्माण कार्य आउँदो चैत महिनासम्म पूरा गरेर सवारी साधन सञ्चालन गर्ने र असारसम्म हस्तान्तरण गर्ने योजनामा छ ।

करिडोरमा नेपाली सेनाका दुई सयसहित पाँच सय जनाले काम गर्दै आएका छन् । नेपाली सेनाले यो सडक निर्माणको जिम्मेवारी पाएपछि तीव्र गतिमा काम भइरहेको र चाँडै हुम्ला सडक सञ्जालसँग जोडिने हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताए । सलीसल्लादेखि सिमकोट हुँदै हिल्सासम्मको कुल १४५ किलोमिटर सडकमा २०६९ सालबाट हिल्सा-सिमकोट सडक आयोजनाले काम गर्दै आएको छ ।

त्यसमा हिल्सा-सिमकोट सडक आयोजनाले काम गरिरहेको खण्डमा पर्ने हक्पा खोलादेखि च्याछरासम्मको चट्टानी भागमा दुई सय मिटरमा ट्र्याक खोल्न बाँकी रहेको आयोजनाका निमित्त योजना प्रमुख सन्तोष यादवले बताए । उक्त खण्डमा पुल निर्माण तथा सडकको स्तरोन्नति गर्ने काम भइरहेको छ भने सिमकोट सलीसल्ला खण्डको ५० किलोमिटर खण्डमा १६ किलोमिटरबाहेक अन्यत्र सडक निर्माण कार्य जारी रहेको उनले बताए ।

यसका लागि हालसम्म ९५ करोड रुपियाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । यसमा दोजाम कर्णालीमा पुल निर्माणको कार्य बाँकी छ भने छारे खण्डको १६ किलोमिटर चट्टानी भाग असजिलो खण्ड हो । सडक आयोजनाले गर्न नसक्ने अवस्थामा छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : ३४ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले