२२ भदौ २०८३, सोमबार | September 7, 2026

हानिकारक ग्यास आयातमा कडाइ गर्दै सरकार



काठमाडौं । विश्वव्यापी तापक्रम वृद्धि गर्दै ओजोन विनाश गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हानिकारक ग्यास आयातमा नेपाल सरकारले कडाइ गर्दै लगेको छ ।

हानिकारक ग्यास उपयोग गर्ने उत्पादन तथा सामग्रीको विकल्पतिर पनि नेपाल सरकारले कदम अगाडि बढाइरहेको वन मन्त्रालयअन्तर्गत वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख शिव वाग्लेले बताए । ‘अन्तर्राष्ट्रिय सन्धि तथा अभिसन्धिहरूमा हस्ताक्षर गरेर ओजोन तह र वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाएअनुसार काम गरिरहेका छौं,’ उनले भने ।

नेपाल ओजोन तह नष्ट हुनबाट जोगाउनका लागि बनेको भियना महासन्धि र मोन्ट्रियल अभिसन्धिको पक्ष राष्ट्र हो । त्यसक्रममा पहिलो चरणमा नेपालले क्लोफ्लोरो कार्बन ग्यास प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । सन् २००४ देखि निरन्तर यसको कटौती गर्दै सन् २०१० मा सरकारले क्लोरोफ्लोरो कार्बन उपभोग शून्य बनाएर प्रतिबन्ध लगाएको हो ।

अब दोस्रो चरणमा हाइड्रो क्लोरोफ्लोरो कार्बन प्रतिबन्ध गराउने बाटोमा सरकार अगाडि बढेको छ । त्यसका लागि वन तथा वातावरण मन्त्रालयले आधारभूत सर्वेक्षण गरी त्यसको उपयोगको मापन सन् २०११-२०१४ मा निकालिएको थियो ।

त्यो अवधिमा २३.०४ मेट्रिक टन हाइड्रो क्लोरोफ्लोरो कार्बन नेपालमा प्रयोग हुने गरेको पाइएको थियो । त्यसभन्दा पछि त्यो मापनभन्दा नबढाउने गरेर कटौती गर्दै लगिएको महाशाखामा कार्यरत केमिस्ट अनुराधा ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार सन् २०१५–२०१६ मा १० प्रतिशत कटौती गरिएको थियो । त्यसपछि सन् २०१७, २०१८ र २०१९ मा हरेक वर्ष १८.४३ मेट्रिक टन हाइड्रो क्लोरोफ्लोरो कार्बन ग्यास कटौती गरिएको थियो । सन् २०२०-२०२१ मा ६० प्रतिशत घटाउने लक्ष्य लिएर कटौतीका लागि सूचना जारी गरिएको छ ।

ओजोन तहलाई नष्ट गर्ने पदार्थको उपभोग नियन्त्रण नियमावली २०५७ अनुसार रेफ्रिजेरेटर, वातानुकूलन सामग्री, कृषि, स्वास्थ्य, अग्निनियन्त्रण, व्यापार व्यवसाय वा औद्योगिक प्रयोजनमा प्रयोग हुने विभिन्न प्रकारका हानिकारक ग्यास क्रमशः कटौती गर्दै शून्य बनाइने छ ।

यही नियमावलीअनुसार आगामी वर्षसम्ममा यो ग्यास आयात शून्यमा झारेर प्रतिबन्ध लगाइने छ । हाल जति निकायले यसको उपभोग गरिएको छ । तिनलाई मात्र कोटाका आधारमा आयात गर्न दिइएको छ । धेरै पुराना प्रयोगकर्ताले दुई मेट्रिक टनसम्म र केही नयाँले एक मेट्रिक टनसम्म मात्र हाइड्रो क्लोरोफ्लोरो कार्बन ग्यास आयात गर्न पाउने व्यवस्था छ ।

यो ग्यासमा प्रतिबन्ध लगाइएपछि विकल्पमा हाइड्रो फ्लोरो कार्बन ग्यासको उपभोगलाई बढावा दिइने केमिस्ट ज्ञवालीले बताए । यो ग्यास हाइड्रो क्लोरोफ्लो कार्बनभन्दा थोरै कम हानिकारक ग्यास हो ।

‘यसले ओजोन तह विनाशमा कम भूमिका रहे पनि विश्वव्यापी तापक्रम भने अत्यधिक बढाउन सघाउँछ,’ उनले थपे । त्यसैले यसको पनि विकल्प अगाडि सारिएको छ । जसका लागि यसको ८० प्रतिशत उपभोगलाई कटौती गर्दै शून्यमा झारेर प्रतिबन्ध लगाइनेछ । यसपछि भने नेपालले ओजोन र विश्वव्यापी तापक्रम दुवैमा कम असर गर्ने हाइड्रो कार्बन ग्यासको उपभोगलाई अगाडि बढाउने छ ।

यसरी क्रमशः कम विनाशकारी ग्यासको उपभोग गर्दै विश्वकै वातावरण र ओजोन तह संरक्षणमा नेपालको योगदान उच्च पार्ने योजना सरकारले बनाइरहेको महाशाखाले जनाएको छ । यस्ता ग्यास नेपालमा उत्पादन हुँदैनन् । छिमेकी मुलुक भारत र चीनबाट आयात हुने गरेको छ । ती मुलुकमा ग्याससँगै त्यस्ता ग्यास प्रयोग हुने सामग्री पनि नेपालमा आयात हुने गरेको छ ।

त्यसैले वातावरण र मानव स्वास्थ्यमा हानि गर्ने सामग्री आयातमै कटौती पनि सँगसँगै गर्दै लगेर मुलुकलाई वातावरणमैत्री र आत्मनिर्भर बनाउनुपर्ने सुझाव संरक्षणकर्मीले सरकारलाई दिँदै आएको छ ।

नेपालको इतिहासको पुरानो कालखण्डमा त्यस्ता अप्राकृतिक ग्यासको प्रयोग हुँदैनथ्यो । औद्योगिकीकरण बढेसँगै एमोनिया ग्यास हुँदै अन्य विभिन्न प्रकारका ग्यासको आयात बढ्दै गएको विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ०५ बजे

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको