२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

नेकपाको दुःखद अवसान : जहाँ आफ्नै पार्टी छिन्नभिन्न हुँदा दीपावली गरियो



काठमाडौं । राजनीतिक दलहरु मिल या फुट भन्ने राजनीतिक निर्णयसहितको सर्वोच्च अदालतको अप्रत्यासित फैसलापछि २०७५ जेठ ३ गते गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छिन्नभिन्न भएको छ । कुनै पनि राजनीतिक दलबीच विचार र सिद्धान्त र नेतृत्व मिले एकता हुने र मिल्न नसके विभाजन हुने लोकतान्त्रिक विधिमाथि सर्वोच्च अदालतले अंकुश लगाइदिएको छ । र, सर्वोच्चको फैसलाले नेपालको राजनीतिक गतिविधिमा न्यायालय प्रवेश गरेको नजिर पनि स्थापित भएको छ । भोलिको दिनमा सर्वोच्चको फैसलाले पुर्याउने क्षतिको आंकलन अहिल्यै गर्न नसकिए पनि तत्कालिन अवस्थमा नेकपा एकीकरण पूर्वका पूर्ववत समुह ब्युँतिन बाध्य भएका छन् ।

फुटमा दीपावली
पछिल्लो समय एकीकृत पार्टीप्रति प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र उनको समुह सन्तुष्ट थिएन । विशेष गरी पार्टीभित्र एकलौटी निर्णय प्रक्रियामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुले टिप्पणी गर्न थालेपछि ओलीले पार्टी एकता भंग भए होस आफ्नो निर्णयमाथि प्रश्न उठाउने अधिकार कसैलाई छैन भन्ने ढंगले अघि बढ्न थालेका थिए । जसका कारण उत्पन्न विवादले नेकपा गत पुष ५ गतेदेखि नै व्यवहारिक रुपमा फुटिसकेको थियो । तर, नेकपा फुटे पनि विचार मिल्ने शक्तिहरु बीचको एकता कायमै थियो । नेकपाको बहुमत पक्षले एकीकृत पार्टीलाई अघि बढाउने गतिविधि गर्दै थियो । यही बीचमा गोरखाका पुराना कम्युनिष्ट कार्यकर्ता ऋषि कट्टेलले निर्वाचन आयोगमा धेरै पहिला दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग नाम जुधाएको भन्दै सर्वोच्चमा दायर गरेको रिटको फैसलाले एकीकृत विचार र सोच भएका नेताहरुलाई समेतसँगै बस्न नदिने फैसला भएको छ । चाहेर पनि यौटै पार्टी बनाउन नसक्ने अवस्था आएको छ । सायद, पार्टी अलग हुनेअवस्थामा नेताहरुको यति धेरै मन कुँढिएको पनि विश्वकै राजनीतिक इतिहासमा यो नै पहिलो घटना होला । राजनीतिशास्त्रमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि नेकपाको यो शैलीको विघटन रुचीयोग्य सन्दर्भ सामाग्री बन्ने पक्का छ ।

सर्वोच्चको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) कानुनतः पुनर्स्थापित भएका छन् । एमाले पुनर्स्थापित गर्नु केपी ओलीको मुख्य ध्येय थियो । र, यो जसरी भएपनि पुरा भएको छ । आफुलाई अप्ठेरो परे कुर्ची भाँच्ने धम्की दिँदै आएका ओली र उनको समुहले, त्यसैकारण, सिंगो पार्टी भाँचिदा दीपावली गरेको छ । यो दीपावली ओली समुहले मात्रै गरेको छैन, नेपाल कम्युनिष्ट पार्टी छिन्नभिन्न होस भन्ने चाहना राख्दै नेताहरुलाई गोटी बनाएर ध्वंसात्मक खेल खेलेको विदेशी शक्तिकेन्द्रले पनि महाविजयको उत्सवको रुपमा दीपावली गरेको छ ।

 

बाध्यात्मक संकट
अदालतको आदेशलाई उल्लंघन गर्नसक्ने अवस्था छैन । त्यसका लागि कि त ठूलो जनआन्दोलन गरी अदालतको रिफर्म आवश्यक छ । जनयुद्ध र त्यसको जगमा भएको २०६२/६३को जनआन्दोलनपछि त अदालतको ‘रिफर्म’ हुन सकेन भने अहिले दुईचार जना कोही नेतालाई संकट पर्यो भन्दैमा ‘रिफर्म’को हवाई कल्पना सौम्य हुन सक्दैन । अदालतको आदेशलाई लुरुलुरु पालना गर्ने बाहेक अर्को उपाय छैन । पुनरावलोकनको छिद्र बाँकी छ र त्यहाँबाट न्याय पाउन सक्ने आशा भए मात्रै त्यो बाटो उपयुक्त छ । अदालतको आदेशपछि दीपावली गरेको ओली पक्षबाहेक नेकपालाई जुनकुनै नामबाट भएपनि जोगाउनुपर्छ भन्ने उद्देश्य राखेका माधवकुमार नेपाल र प्रचण्डहरु बाध्य भएका छन्, आफ्नो पूर्ववर्त पार्टीमा फर्किनका लागि ।

हुन त नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) नामको पार्टी निर्वाचन आयोगले अरुलाई नै बुझाई सकेको छ । तत्कालिन नेकपाभित्र चरम विवाद सुरु भएपछि गत असारमा केपी ओली निकट सन्ध्या तिवारीलाई नेकपा एमाले दल र उदाउँदो सूर्य चुनाव चिन्ह आयोगले दिएको थियो । माओवादी केन्द्र र चुनाव गोलाकारभित्रको चिन्ह हँसिया हथौडा गोपाल किराँतीलाई दिएको थियो । अब, यी दुई दलबाट नाम र चुनाव चिन्ह अदालतको आदेशअनुसार पुनः खोसेर पूर्ववत पार्टीलाई नै दिने आयोगको तयारी छ । यो प्रक्रियाका लागि सम्भवतः निर्वाचन आयोगले मंगलबार चारै पार्टीलाई पत्राचार गर्दैछ ।

योजनावद्ध तरिकाले सन्ध्या तिवारीको नाममा दर्ता भएको नेकपा एमाले पूर्व एमालेको पोल्टामा पुगेपनि माओवादी केन्द्रको विवाद पुनः सर्वोच्च अदालत नपुग्ला भन्न सकिँदैन । त्यतिबेला संवैधानिक इजलासको फैसलालाई काट्ने गरी दुई न्यायाधीसले फैसला गरेजस्तै नेकपा खारेज गर्दा गरिएको व्याख्यालाई काटेर फेरि अर्को फैसला भयो र प्रचण्डहरुको हातबाट माओवादी केन्द्र खोसियो भने पनि अन्यथा मान्नुपर्ने कारण देखिने छैन ।

नेपालको राजनीतिक इतिहासमा सबैभन्दा शक्तिशाली कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न पार्नु थियो । सबैखाले प्रक्रिया पुरा गरेर त्यो काम पुरा भएको छ । २०७४ असोज १७ गते एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभागृहबाट वामपन्थी गठबन्धन बनाएर निर्वाचन लड्ने र पार्टी एकताको प्रक्रिया अघि बढाउने घोषणा गरेका थिए । दुनियाँलाई चक्मा दिने गरी गरिएको सोही घोषणापछि मर्माहत भएका देशी विदेशी शक्तिकेन्द्रहरुले दुई पार्टीबीच एकता हुन नदिन लामो प्रयत्न गरेपनि २०७५ जेठ ३ गते पार्टी एकता भएको थियो । एकतापछि विश्वकै तेस्रो ठूलो शक्तिशाली कम्युनिष्ट पार्टी बन्न सफल भएको थियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाई नजिकको शक्तिशाली सरकार संचालन भएको थियो । तर, एकातिर सत्ता संचालकहरुमा चढेको शासकीय मातले पार्टी संगठनलाई यो तीन वर्षको बीचमा तहस नहस बनायो । अर्कोतिर सत्ता र शक्तिको बलमा निर्वाचन आयोग निरिह बनेर दिएको नेकपा नामलाई सर्वोच्च अदालतले अहिले खारेज गरिदियो ।

शक्तिशाली नेकपा समाप्त होस भनेर चाहेका शक्तिकेन्द्रहरुको इच्छा पुरा भयो । यो इच्छा पुरा गर्न मुख्य दोषी भने नेकपाकै नेताहरु हुन् । अर्थात एमाले र माओवादीकेन्द्रका मुखियाहरु नै हुन् ।

 

निरिह नेपाल
एमालेका अध्यक्ष केपी शर्मा ओली निरंकुश शासनको विरुद्धमा १४ वर्ष जेल विताएको दाबी गरेपनि सत्ताप्राप्ति पछि सबैभन्दा निरंकुश नेता बनेका छन् । आफ्नो गणेश परिक्रमा गर्ने पात्रहरुलाई संरक्षण गर्ने आलोचकहरु र विपक्षी खेमालाई देखिनसहने प्रवृत्ति ओलीमा झन बढी झांगिएको उनकै पार्टीका नेताहरुले बताइरहेका छन् ।

अब ओलीको पार्टीभित्र बस्न बाध्य माधवकुमार नेपाल र झलनाथ खनालहरु झन बढी पेलानमा पर्ने निश्चित छ । ओलीका हुनमान प्रवृतिका अनुयायीहरुले माधव नेपालहरुलाई ‘अपराधी’ करार गरिसकेका छन् । एमालेको संसदीय दलमा निरिह उपस्थिति माधव नेपालहरुका लागि सबैभन्दा पीडाको क्षण बनेको छ । पार्टीमा भने बलियो उपस्थिति रहे पनि बहुमतको डण्डाले ओलीको पेलान निरन्तर जारी रहने पक्का छ । सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरोमा ओलीसँग आम्नेसाम्ने टक्कर गर्नसक्ने नेपाल समुह केन्द्रीय कमिटीमा अल्पमतमा छ ।

 

संकटमा प्रचण्ड
अर्कोतिर एमालेसँग पार्टी एकीकरण भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पूर्वसहकर्मीहरुलाई सबैभन्दा बढी अपमान गरेका छन् । युद्धकालदेखि नै प्रचण्डलाई नियन्त्रणमा राखेका केही पात्रहरुलाई बाहेक प्रचण्डले न त आफुलाई संकट पर्दा साथ दिने नेताहरुलाई संरक्षण गर्न सके, नत कार्यकर्ताको व्यवस्थापन गर्न सके, नत एमालेबाट लाभको पदमा नरहेका नेता कार्यकर्ताहरुलाई आकर्षित गर्न नै सके ।
चाकडी र चाप्लुसी गर्नसक्ने, धम्काउन सक्नेहरु नै प्रचण्डको पार्टीमा अहिले पनि शक्तिशाली छन् । भीषण युद्धको बीचमा एकता प्रक्रियामा आएका नेताहरु पाखा पारिएका छन् । गोपाल किराँतीहरुले त्यसै माओवादी केन्द्रको पुनर्गठन गरेका हैनन् । त्यसैकारण प्रचण्डको माओवादी केन्द्र अहिलेको अवस्थामा २०७४ सम्मको शक्तिशाली पनि छैन । ६ महिनाभित्र निर्वाचन हुने हो भने माओवादी केन्द्रले अहिलेको सिट जोगाउन पनि मुस्किल छ ।

यथाशिघ्र पार्टी संगठनको पुनर्निर्माणमा प्रचण्ड अलमलिए भने सो पार्टीको हैसियत नराम्रोसँग खुम्चिन सक्छ । राष्ट्रिय राजनीतिमा अझै केही वर्ष प्रचण्डको नाम शक्तिशाली पोजिशनमै रहेपनि ब्याकफोर्सको रुपमा रहेको संगठन नभएसम्म प्रचण्ड प्रचण्ड हैन पुष्पकमल दाहालमा मात्रै सीमित बन्ने सम्भावना घटनाक्रमले देखाएको छ ।

 

शक्तिको अवसान
चिनियाँ कम्युनिष्ट पार्टी र भियतनाम कम्युनिष्ट पार्टी पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विश्वकै सबैभन्दा शक्तिशाली तेस्रो ठूलो कम्युनिष्ट पार्टी थियो । तर, यो पार्टी आज मूलतः आफ्नै कारणले समाप्त भएको छ । तीन वर्ष अघि शक्तिशाली बनेको पार्टी दुई टुक्रामा कानुनतः विभाजित भए पनि व्यवहारतः तीनै टुक्रामा विभाजित भएको छ ।

पार्टीभित्र शिर्षस्त नेताहरुबीचमा चलेको शक्तिसंघर्षलाई विदेशी शक्तिकेन्द्रले गज्जबले प्रयोग गरेको छ । तर, नेकपा छिन्नभिन्न पार्न लागेको शक्तिकेन्द्रले पनि यति छोटो समयमा सफलता प्राप्त गर्न सकिएला भनेर सोचेको पनि थिएन होला, सायद त्यो शक्ति पनि अचम्मित बनेको छ । नेपालका कम्युनिष्ट नाममा आस्था र विश्वास राख्ने लाखौं समर्थक शुभचिन्तकहरु भने मर्माहत बनेका छन् ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ११ : ५१ बजे

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं। डोलप्रसाद अर्याल ले मंगलबार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र

विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

भेरी नदीमा छ पुलको काम अझै अलपत्र

सुर्खेत । सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनित

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय

धम्कीबाट विचलित नभै ट्रेड युनियन अधिकारको पक्षमा उभिन भवानी दाहालको आह्वान

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले