१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

मुलुक जोगाउने विजयी यात्राको गौरबगाथा, बुटवलको चिनारी जितगढी किल्ला



इतिहास जित्नेहरुको मात्र लेखिन्छ भन्ने पुरानो कहावतलाई विस्थापन गर्दै नेपालको एक अभेद्ध इतिहासमा भने पराजयको मात्र इतिहास कोरिएको पाइएको छ । युद्धमा पराजय भोग्न बाध्य योद्धाहरुको इतिहास लेखिरहँदा युद्धमा जित्दै दुश्मनहरुलाई लखेट्न सफल योद्धाको इतिहास भने ओझेलमा परेको छ । गोर्खा राज्यको बिस्तार गर्दै विशाल नेपाल बनाउने अभियानलाई नै प्रभावित पार्नेगरी पराजयको इतिहास सुन्दर अक्षरमा लिपीबद्ध गरिएपनि राज्यको अस्तित्व जोगाउन सफल बुटवलको जितगढीको जितको इतिहास भने अँध्यारो कुनामा थन्काइएको छ । ज्यानको बाजी लगाएर दर्जनौ दिनसम्म पानी बिना लड्दा लड्दै पनि पराजय भोग्न बाध्य बलभद्र कुँवरको इतिहास सबैतिर लेखिएपनि अंग्रेजहरुलाई लखेट्दै सिमा पारी पु¥याउन सफल उजीरसिंह थापाको भने खासै चर्चा भएको सुनिँदैन ।

‘अङ्ग्रेज–गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास रहेको रुपन्देहीको जितगढीलाई राज्य संचालकहरुले चटक्कै बिर्सिदिँदा जितगढी आफैमा हारिरहेको छ । राष्ट्रियताको प्रतिबिम्बका रुपमा रहेको युद्ध ईतिहांसको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जितगढी (उजीरसिंहगढी)’ को हालत देख्दा मन नरुने सायद कमै होलान् । जितगढीमा आज पनि युद्धसम्बन्धी जीवन्त ऐतिहासिक वस्तु तथा प्रमाण भेटिन्छ । युद्धसँग सम्बन्धित पुरानो दस्तावेज उल्लेखित अंशहरु आज पनि जस्ताको तस्तै रहेको छ जितगढीमा । तर राज्यले नहेरी दिँदा जितगढीको ऐतिहासिक सम्पदाहरु दिन प्रतिदिन जिर्ण बन्दै गएको छ । त्यसो त जितगढीको बिषयमा उल्लेखित तथ्यांकमा इतिहासकारहरुबीचमा समेत फरक फरक धारणा छ । इतिहासकार प्राध्यापक डाक्टर तेजबहादुर श्रेष्ठले बेलायतको एक संग्रालयमा जितगढीको चर्चा सहितको सामाग्री भेटाएपछि मात्र जितगढीको बिषयमा नेपालमा बहस हुन थालेको हो ।

अमरसिंह थापाको समयमा भएको ‘अङ्ग्रेज–गोर्खा युद्ध’मा पाल्पाको गोर्खा फौजको कमाण्ड कर्णेल उजीरसिंह थापाले गरेका थिए । रणपतिका रूपमा लडाई लड्दा कर्नेल उजिरसिंह थापा १८ वर्षका नवयुवक थिए । जितगढी सेनकालमा बनेको थियो वा पाल्पा गोर्खामा विलय भएपछि बनाइएको थियो भन्ने तथ्य आज पनि खुल्न सकेको छैन । तर नालापानी, देउथल आदि ठाउँका किल्ला र जितगढी किल्ला वास्तुशास्त्रका आधारमा हेर्दा सँगसँगै बनेको हुन भन्ने प्रशस्त आधार भेट्न सकिन्छ । सेनकालमा पाल्पाको संरक्षण गर्न पूर्वतिर वाकुमगढी र पश्चिम दक्षिणपट्टि बल्ड्याङ्ग गढी थियो ।

संवत् १८७१ स्थल मार्गबाट अङ्ग्रेजले बृहत गोर्खा अधिराज्यसित ६–७ ठाउँबाट युद्ध छेडिसकेका थिए । मकवानपुर (चितवन क्षेत्र) बारा–पर्सा–रौतहट, मिथिलाक्षेत्र र बुटवलको जितगढी क्षेत्र युद्धबाट नेपाल जोगाउनका लागि किल्लाको रुपमा स्थापित गरिएको थियो ।

तत्कालीन युद्धमा अंग्रेज फौजलाई परास्त गर्न सफल जितगढी नहुन्थ्यो भने सायद हामी आज नेपाली हौ भन्न पनि पाउँदैन थियौ होला । जितगढी लगायतका किल्लाहरुमा गोर्खा फौज डटेर नलडेको भए न हामी नेपाली भन्न पाउँथ्यौ न नेपाल रहन्थ्यो भन्दा अतिसयुक्ति हुँदैन ।
जतिबेला विशाल नेपाल बनाउने गोर्खालीहरुको अभियानमाथि अंग्रेजहरुले धावा बोलेका थिए त्यतिबेला भीमसेन थापा ३७ वर्षका वयस्क थिए । भीमसेन थापाले उक्त युद्धमा आफ्नै होनहार भाइ कर्णेल रणवीरसिंह थापालाई मकवानपुर चितवनक्षेत्र र आफ्नो धर्मपुत्र (अघोषित) उजिरसिंहलाई बुटवल र पश्चिम नेपालका समग्र सामरिक केन्द्र हेर्ने पाल्पा गौंडा खटाएका थिए । जितगढी, दाउन्ने, चितवन, लोटन, समनपुर, हरिहरपुर आदि महŒवपूर्ण किल्ला जोडिएको थियो ।

सेनकालमा बुटवल लगायत सेरोफेरोको भू–भागलाई अवधलाई रकम तिरेर सेनहरुले उपभोग गर्दै आएका थिए । पृथ्वीपाल सेनको पालामा पाल्पा राज्य नेपाल अधिराज्यमा विलय हुन गयो तर अवधको रकम लिएको आधार मान्दै बुटवललाई कम्पनी सरकारले आफ्नो भएको दाबी समेत गरेको थियो । जुम्ला राज्यलाई नेपाल अधिराज्यमा विलय गरेपछि मुस्ताङ राज्य जुन जुम्लाको अधिनमा थियो स्वत नै नेपाल अधिराज्यमा विलय भयो । यता गोर्खालीहरुको भने सेन राज्यको अधिनमा रहेको बुटवल र स्यूराज पनि नेपालकै हुनुपर्ने दाबी रहेको थियो । सोहि अनुसार जनरल अमरसिंह थापाको ब्रिटिस साम्राज्यवादको विरुद्ध पंजाव केशरी रणजित सिंहसँग १३ बुँदे (सवाल) पत्र लेखेपछि कम्पनी सरकार आगो भएको थियो ।

कम्पनी सरकार र नेपाल सरकारसँग भएको सन् १८०१ को सन्धीको धारा ५ मा ‘दुई देशबीच सिमासम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तको आधारमा दुवै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने’ भन्ने व्यहोरालाई समेत बेवास्ता गर्दै कम्पनी सरकारले पूर्वको बाइस गाउँ, बुटवल र स्यूराजको खिचलो उठाएको थियो । सन् १८१४ नभेम्बर १ तारिखका दिन कम्पनी सरकारका जनरल हास्टिङगका माक्र्युसले नेपाल विरुद्ध एकतर्फ युद्ध घोषणा गरेको थियो ।

ब्यापारिक नाका कब्जा गर्ने उद्देश्यले नै अंग्रेजले बटौली र स्यूराज किल्ला कब्जा गर्न आक्रमण गरेको तर्क छ बुटवल बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक सुर्यबहादुर जीसीको ।

अंग्रेजले पाँच ठाउँबाट आक्रमणको तैयारीमा सतलज र यमुना बीचको भू–भागलाई कब्जा गर्न रुपारबाट कर्णेल डेभिड अक्टरलोनी, देहरादुनको भू–भाग कब्जा गर्न सरहानपुरबाट मेजर जनरल रोवट रालो जिलेप्सी, (उनको नेपालसँगको युद्धमा मृत्यु भएको थियो) गोरखपुरबाट मेजर जनरल जोन सुलिभान उड, मकवानपुरको बाटो भएर काठमाडौ हान्न दानापुरबाट मेजर जनरल वेनेट मार्ले र कोशीदेखि टिस्टा नदीसम्मको क्षेत्र हेर्न क्याप्टेन वैरी ल्याटर खटिएका थिए । मेजर जनरल जोन सुलिमान उड एक हजार अंग्रेजी सेना र तीन हजार हिन्दुस्तानी फौज लिई वनारस गोरखपुर बुटवल हुदै पाल्पा हान्ने कम्पनी सरकारको योजना थियो ।

त्यसबखत यातायातका असुविधा भएकोले हतियार र खरखजानाहरु गाडाबाट ढुवानी गर्नुपर्ने साथै रसद पानी र अन्य सामान ढुवानी गर्न कुल्लीको व्यवस्था गर्दागर्दै ढिलो भइसकेको थियो । त्यसै बेला आठ हजार नेपाली फौजहरु लोटनमा हमला गर्दैछन् भन्ने हल्लाले जनरल उड झन हतोत्साही भएका थिए । आफ्नो पहिलेको योजना अनुसार लोटन, पाल्ही, मिनारी, स्यूराजलाई एकै पटक हमला गर्ने योजनालाई थाती राखी सबै छब्बीस कम्पनीका फौज र एघार वटा गनसहित बुटवल गौडा नै सबैभन्दा पहिले आक्रमण गर्ने निधो गरी उनीहरु बुटवलतिर बढेका थिए ।

नेपालतिरको तैयारीमा बुटवल बजारको छेउमा तिनाउ नदीको किनारमा रहेको जितगढीबाट जमिन अग्लिदै उच्च पहाडको टुप्पामा नुवाकोटगढी रहेको र सो गढीबाट पहाडै पहाड भएर पाल्पा जाने बाटो पनि छेकिने र हाल पाल्पा जाने राजमार्गको बाटोको निगरानी पनि गर्न सकिने अंग्रेजहरुको योजना रहेको थियो ।

उक्त गौरव बोकेको सवूज पल्टनसहित गुरु वक्स गुल्मको बल थपी प्रधानमन्त्री भीमसेन थापाले आफ्ना भतिजा कर्णेल उजीर सिंह थापालाई सो गढीमा पठाएका थिए । उजीर सिंह जितगढी पुग्नु अघि करिब ५०० नफ्रि भएको गुरु वक्स गुल्मको दुईसय जवान र सवूज पल्टनको पाँच टुकडी लिई जितगढी किल्लाका कमाण्डर वीरभञ्जन पाण्डे जितगढीमा डटेका थिए ।

कम्पनी सरकारतिरको जनरल उडले पाल्पा हान्न दुईवटा बाटाहरु अपनाएका थिए । पहिले पहाडैपहाड गएर नुवाकोटगढीलाई ध्वस्त पारी पाल्पा हान्ने, अर्को जितगढीलाई ध्वस्त गरी हालको राजमार्गको बाटो भई पाल्पा हान्ने योजना थियो । पहिलो योजनालाई नुवाकोट गढीको वरिपरि तीन माइलसम्म पानी नभएको कारण देखाई कम्पनी सरकारको युद्ध सल्लाहकार कनकनिधि तिवारीले असहमत जनाएका थिए ।

स्यूराज क्याम्पमा पाँच कम्पनी र एउटा तोप छोडी अरु सबै फौज र तोपहरु लिएर जनरल उडको नेतृत्वमा जनवरी ३, १८१५. का दिन बुटवलतिर लागे । घना जंगल भएको बाटो त्यसमा पनि ढड्डीको जंगलले बाटो तय गर्न पनि कम्पनीको फौजलाई गाह्रो भएको थियो ।
फौज मार्च गर्दा बाटो बिराई जनरल उडसँग जम्मा तीन कम्पनी मात्र रहन गएको थियो । आफु पुगेको ठाउँबाट जंगल समाप्त भएको र ४० र ५० गज पर किल्लाजस्तो पर्खाल देखेपछि जनरल उडले पथप्रर्दशकको रुपमा आएका कनकनिधि तिवारीलाई खोजे तर कनकनिधि तिवारी कहीँ पत्ता लागेनन । जनरल उडले सेनाको सानो डफ्फा इन्जिनियर एन्सायन स्टेफललाई किल्लाको रेकी गर्न पठाए । अंग्रेज सेनाले वरिपरि हेर्दा किल्ला खाली जस्तोदेखि फर्कन मात्र के लागेका थिए किल्लाभित्रबाट गोलीको पर्रा छुट्यो । एकदुई जना त्यही ढले अरु बाचेर भागे ।

युद्धमा सबै हथकण्डा अपनाईने र कर्णेल उजीर सिंह थापाले पनि हथकण्डा अपनाएर अंग्रेजमाथि युद्ध जितेको कुरा केहि अतिरन्जित भएपनि असत्य हो भन्न नसकिने इतिहासविद् विमलबहादुर शाक्यको भनाइ छ ।

केही समयपछि कम्पनीका फौजहरु एकत्र भएपछि जनरल उडले फौजलाई दुई समूहमा बाँडे । एउटा समूहमा ग्रेनेडियर र दुइ कम्पनी दिई क्रोकरलाई कमाण्डर बनाए र अर्को समूहमा युद्धको नेतृत्व जनरल उड आफैले लिएर फौजलाई अगाडि बढाए । दुवै पक्षबीच घमासान युद्ध भएको थियो ।

किल्लाको दाहिने तिरबाट हमला गर्नेहरुको टोलीबाट नेपाली फौजका सरदार सूर्य थापाले वीरगति प्राप्त गरेका थिए । सरदार थापाको वीरगतिसँगै कर्णेल उजीर सिंह थापाको नेतृत्वमा नुवाकोटमा रहेको बाँकी सवूज र गुरुवक्स पल्टनका फौजहरु लिई जितगढी भित्रैबाट युद्धको नेतृत्व गर्न आइपुगेका थिए । लडाईंमा कम्पनी फौजका ब्रिगेड मेजर हैट र इन्जिनियर लेफ्टिनेन्ट मोरिशन नराम्ररी घाइते भएका थिए ।

गोरखालीहरुको सैनिक शक्ति भन्दा अंग्रेजहरुको शक्ति ज्यादा भएकोले अंग्रेजहरुले युद्ध त लडिरहेका थिए तर नेपाली सेनाको साहस, रणकौशल र आत्मविश्वास देख्दा जनरल जोन सुलिभान उडको जोश हराइसकेको थियो । सधै रक्षात्मक युद्ध लढ्ने गोर्खाली फौज एक्कासी आक्रमक शैलीमा प्रस्तुत भएपछि उडको दिमागले ठाँउ छाडिसकेको थियो । लगातार युद्ध लड्दा पनि गोर्खाली फौज पछि हट्ने छाँट नदेखाएपछि आफ्नो सहयोगी हार्डीम्यानसँग सल्लाह गरी जनरल उडले युद्ध भूमि छाड्ने आदेश दिएका थिए । पहिलो पटकको युद्धमा कतिको ज्यान गयो भन्ने सम्बन्धमा इतिहांसकारहरुका बीच फरक फरक तथ्यांक रहेको छ ।

बुटवलबाट कम्पनी सरकारको फौज फर्केपछि सूरजपुरा हुदै जनवरी ३ तारिखका दिन लोटन पुगे । जनरल उडलाई बुटवल जितगढीको विफलताले पिरोलिरहेको थियो । उनी निरन्तर जितगढी हान्ने प्रयत्नमा लागि नै रहेका थिए । एकैचोटि बुटवल नहानी पहिले स्यूराज, तुलसीपुर आक्रमण गरी पूर्वतिर लाग्ने योजना बनाएका जनरल उडले उजीरसिंह थापा नुवाकोटबाट पाल्पा फर्केको थाहा पाउने बित्तिकै बटौलीमाथि दोस्रो आक्रमण सुरु गरेका थिए । यसबेला मनसुन सुरु भइसकेको र मौसम खराब भइसकेको थियो । वर्षा लाग्नाले तिनाउ नदी बढी सकेको थियो । नदी तर्न नसकी कम्पनी फौज तिनाउ नदीको पूर्वपट्टिबाट बढ्दै पुरानो खस्यौली हाल बुटवल उपमहानगरपालिका तिरबाट बुटवल दरबारमा तोप आक्रमण सुरु गरेको थियो । वारिबाट पनि नेपाली फौजले प्रत्युत्तरमा एकदुई तोपका गोला छोडे । अंग्रेजहरुले गर्दै गरेको गोलाबारीको पारी बुटवलबाट केही जवाफ कारवाही भएन । अंग्रेज फौजले गरेको अठार पाउण्डको गोला प्रहारले बुटवल दरबार ध्वस्त भएपछि अंग्रेज फौजले बुटवल बजार र जितगढी शुन्य भएको अनुमान गरे । कुनै किसिमको खतरा नदेखि फौजलाई बुटवल पस्न जनरल उडले आदेश दिए । उडका सेनाहरुले तिनाउ नदी पार गर्न लागेको मात्र थियो, अभेद्य रुपमा रहेको जितगढीबाट गोलीको पर्रा छुट्यो । धरै अंग्रेज सेनाहरुको तिनाउ किनारमै मृत्यु भयो भने बाँचेका सेनाहरु भागाभाग भए । वर्षा सुरु भइसकेको र मलेरिया ज्वरोदेखि अति नै डराउने अंग्रेजहरु नेपाली सेनाको रणकौशल र साहस समेटिएको बुटवल र जितगढीसँग फेरि झुके र आफ्नो सेना त्यहाँबाट फिर्ता बोलाउने निर्णय गरे ।

कम्पनी सरकारको अत्याधुनिक हतियारका अगाडि घरेलु हतियारले लड्नु नेपाली फौजका लागि सानो कुरा थिएन । अंग्रेज सेनाहरु पैसाका लागि लडेका थिए भने उजीर सिंह थापाका सेना देश जोगाउन लडेका थिए । युद्ध त विचारले लडिन्छ, हतियारले लडिँदैन भन्ने उक्तिलाई कर्णेल
उजीरले पुष्टी गरेका थिए । नेपालीसँग जुन राष्ट्रियताको सोच थियो, त्यो विचार नै पर्याप्त थियो । अत्याधुनिक हतियारको कमी र कमजोर सैन्य शक्तिका कारण त्यति बेलाको लडार्इंमा नेपालीले पाँच किल्ला मध्ये सिन्धुली गढीमा भौगोलिक कारणले विजय प्राप्त गरेपनि अन्य ३ किल्लाबाट पछाडि फर्कनु मात्र परेन नौ हजार चार सय वर्गकिलोमिटर भू–भाग गुमाउन प¥यो ।
मुलुकले त्यति धेरै क्षती ब्यहोर्नु पर्दापनि बुटवल क्षेत्रमा जुन युद्ध भयो, नेपालले एक इन्च भू–भाग पनि गुमाउनु परेन, एक पटक होइन पटक पटक कम्पनी फौज खेदिए । यसरी बुटवलको जितगढीले नेपाली इतिहांसमा उच्च योगदान पु¥याएको छ ।

जितगढीको लडाईंमा सरदार सुर्य थापा, लेप्टेन अमर अधिकारी, कुम्भदान वृष सुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर वोहोरा, हवल्दार रणसुर वानिया एवं जुठे बस्नेत सहित पांच सय जनाले वीरगति प्राप्त गरेपछि मात्र नेपालीहरुले युद्ध जितेका थिए । युद्धमा काजी वीर भञ्जन पाण्डेको सुझबुझ र कर्णेल उजीरसिंह थापाको रण कौशलता नै जितको प्रमुख कारण थियो ।

बिश्व बिजेता अंग्रेजहरुलाई धुलो चटाउन सफल जितगढीले जोगाएको हाम्रो शान माथी नेपालका धरै शासकहरुले शासन गरिसकेका छन् । उजिर सिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले यस गढीलाई जितगढी भनिएको इतिहासकारहरुको तर्क छ ।

कस्तो छ किल्लाको बनोट ?

पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २०५ फिट छ र चौडाई करिव ५५ फिट छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँघुरो हुँदै गईराखेको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा छ । भित्ताको मोटाई ८ फुट ४ इन्च छ । गढीको भित्री भाग खुल्ला छ । यो गढीको निर्माण ईटा र सुर्खीको प्रयोगबाट भएको छ । करीव बाह्र लाखदेखि पन्ध्र लाख ईटा प्रयोग भएको छ ।


गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरुको निर्माण गरिएको छ । गढीमा शत्रुले आक्रमण गरेको बेला प्रत्याक्रमण गर्ने बुर्जा अर्धगोलाकार रुपमा निर्माण गरिएको छ । वुर्जाहरुमा चरहरु बनाइएका छन् । यी चरहरु बन्दुक छिराई आक्रमण गर्न सजिलो हुने हिसाबले निर्माण गरिएको हो ।

वि.सं. १८७३ पछि क्रमशः यो गढीको महत्व र प्रयोग नभएकोले उपेक्षित हुदै गयो । समयको गतिको साथ प्रकृति, मानव र अन्य प्रकोपहरुबाट नष्ट हुंदै आइराखेको यो गढीको हाल ५० प्रतिशत भाग मात्र बाँकी रहेको देखिन्छ । गढीको धेरै जसो भाग नाश भइसकेको छ । आधुनिकीकरणको प्रत्यक्ष प्रभाव यस गढीको वरिपरि निर्माण भएका घरहरुले देखाउँछन् । मध्यकालीन नेपालको इतिहासमा महत्वपूर्ण स्थान राख्ने सेन वंशी राजाहरुको पालामा बनेको यो गढीले राज्य विस्तारको बेला समेत महत्वपूर्ण भूमिका खेलेको हुनुपर्छ ।

यसरी उजागर भयो जितगढीको महत्व :

इतिहासकारहरुको पनि उपेक्षामा परेको पछिल्लो समयमा पाल्पाका इतिहासका निर्मल श्रेष्ठले भने जितगढीलाई उजागर गर्न केहि प्रयास गरेकाछन् । निर्मल श्रेष्ठ र देबेन्द्र बहादुर शाक्यले जितगढी सम्बन्धी पुस्तक प्रकाशन गरेसँगै बुटवलमा जितगढीको संरक्षणमा नागरिकस्तरमा चासो बढेको देखिन्छ । बिशेष गरि बुटवलका पुराना नागरिक अगुवा रबिन्द्र गोपाल लाकौलको संयोजकत्वमा जितगढी संरक्षण सम्बर्धन समिति गठन भएपछि जितगढीको महत्वका विषयमा चासो र चर्चा चलेको हो । संरक्षण समितिकै पहलमा नेपाली सेनाको समेत जितगढी किल्लामा उपस्थिती बढेसँगै जितगढीमा स्थानीय सरकारको ध्यान पुगेको हो । नागरिकस्तरबाट किल्लामा पटक पटक कार्यक्रम गर्ने र स्थानीय तहलाई झक्झक्याउने गरेपछि मात्र बुटवल उपमहानगरले जितगढीको अपनत्व ग्रहण गर्न तयार भएको हो ।

जितगढीमा पहिलो बिजय उत्सव बटौली संरक्षण समितीकै आयोजनामा २०७२ भाद्र ५ गते मनाईएको थियो । त्यस यता इतिहासकाहरुको अध्ययन र अनुसन्धानबाट बैशाख ७ गते आधिकारीक बिजय भएको दिन भएको पत्ता लागेपछि बैशाख ७ लाई बिजय उत्सव दिवसकारुपमा मनाउन थालिएको हो । बुटवल उपमहानगरले आधिकारीक दिन निर्धारण गर्न इतिहासकार श्रेष्ठ सहित ५ जनाको समिति बनाएर बैशाख ७ लाई बिजय उत्सव दिवस बनाउने निर्णय गरेको थियो ।

यसरी नेपालको इतिहासमा महत्वपूर्ण स्थान राख्ने यो गढीको ठूलो ऐतिहासिक र पुरातात्विक महत्व रहेको छ । यस गढीको संरक्षण र प्रचार प्रसारले एकातिर यस क्षेत्रको गौरवमय इतिहासलाई सम्झाउने छ भने अर्को तिर पर्यटनको विकासमा पनि यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

नेपालको राष्ट्रियता जोगाउनका लागि बुटवलको जितगढी किल्लाले जुन इतिहास बोकेको छ त्यो इतिहासलाई जोगाउन राज्यले सकिरहेको छैन् । बिगतका वर्षहरुमा कर्मकाण्डीयरुपमा केहि गैरसरकारी संस्था र जातीय संस्थाहरुले मात्र बिजय उत्सव मनाउने गरेपनि बिगत ४ वर्ष देखि स्थानीय सरकार अर्थात बुटवल उपमहानगरपालिकाले बैशाख ७ गतेलाई बिजय उत्सव दिवस मनाउन सुरु गरेको छ ।

ऐतिहांसिक तथा पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने जिम्मा पाएको बुटवल उप महानगरिपालिकाका प्रमुख शिवराज सुबेदीको सक्रियतामा गत वर्ष उत्सव मनाउँदा गरिएको प्रतिबद्धता अनुसार जितगढीमा कर्णेल उजिर सिंह थापाको पुर्णकदको शालिक स्थापना गरिनुका साथै कर्णेल उजीरसिंहलाई युद्धमा साथ दिने १२ कमाण्डरहरुको अर्धकदको शालिक निर्माण भएका छन् । किल्लामा चारैतिरबाट देखिने गरी राष्ट्रिय झण्डा फहराउने काम उपमहानगरले गरेको छ । पछिल्लो समय नेपाली सेनाले गढी किल्लाहरुका बिषयमा राखेको चासो र सक्रियता पनि जितगढीको संरक्षणको आशा पलाएको छ ।

मध्यकालीन नेपालको इतिहासमा महत्वपूर्ण स्थान राख्ने सेन वंशी राजाहरुको पालामा बनेको यो गढि किल्लाले नेपालको एकीकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । यसको ठूलो ऐतिहासिक र पूरातात्विक महत्व रहेको हँुदा यस गढीको संरक्षण र प्रचार– प्रसार हुन सके बुटवल क्षेत्रकै अतितको गौरबमय परम्परालाई सम्झाउने र सांस्कृतिक पर्यटनको विकासमा पनि यसले महत्वपूर्ण भुमिका खेल्ने देखिन्छ । आफ्नै घरआँगनीमा रहेको ऐतिहासिक सम्पदाको संरक्षण गर्नु पनि सुशासनकै परिभाषाभित्र पर्छ भन्ने यो लेखकको मान्यता छ ।

सन्दर्भ स्रोत : निर्मल श्रेष्ठबाट लिखित जितगढीको इतिहास
जितगढीका सम्बन्धमा विमलबहादुर शाक्यबाट लिखित लेख
इतिहासकार बिमलबहादुर शाक्य र जितगढी संरक्षणका अभियन्ता रबिन्द्र
गोपाल लाकौलसंग गरिएको कुराकानी

 

 

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : ३३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग