२० मंसिर २०८२, शनिबार | December 7, 2025

३५ करोड कमिसनले रोकिएको खोप खरिद



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ ।

खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्टबिनै ५० लाख डोज भ्याक्सिन खरिद गर्न खोज्दा नेपाली एजेन्टले कमिसन माग गरेर प्रक्रिया नै अघि बढ्न नदिएको मन्त्रालयको दाबी छ ।

‘खोप खरिदमा बिचौलियाले १० प्रतिशत कमिसन लिन खोजे, बिचौलियाको सक्रियताका कारण २७ दिनसम्म अप्ठ्यारोमा परियो,’ स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हिमाल खबरसँगको अन्तर्वार्तामा भनेका छन्, ‘यो २७ दिन यति निर्णायक भयो, यही बीचमा भारतमा ह्वात्तै संक्रमण बढ्न थाल्यो । त्यही कारण ५० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढ्न सकेन ।’ खोप खरिद रोकिएलगत्तै मन्त्रीले सीमित सञ्चारकर्मीसँग एजेन्टको स्वार्थ पूरा गर्न नसकिएको बताएका थिए ।

‘नेपाली जनतामाथि अन्याय गर्ने यस्ता बिचौलिया पनि देखियो, जसले गर्दा खोप ल्याउन सहज भएन,’ सञ्चारकर्मीसँग त्रिपाठीले भनेका थिए । कमिसनकै कारण खोप ल्याउन नदिन बिचौलियाहरू सफल भएको मन्त्रालयको बुझाइ छ । सिरमको नेपाली एजेन्ट हुकाम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्रालि हो । हुकाम विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतुसिंह वैद्यका नाममा छ । उनीहरूले खोप खरिद गर्दा १० प्रतिशत कमिसन मागेको मन्त्रालयको दाबी छ ।

फागुन ४ को मन्त्रिपरिषद् बैठकले एक डोजको ४ अमेरिकी डलरका दरले २० लाख खोप खरिद गर्न ८० प्रतिशत रकम भुक्तानी गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार फागुन ९ मा १० लाख डोज खोप आयो । अझै १० लाख डोज आउन बाँकी छ । १० लाख डोज आएपछि मन्त्रालयले ५० लाख डोज खोप खरिदको प्रस्ताव सिरमलाई पठाएको थियो ।

२० लाख डोज किन्दा स्थानीय एजेन्टलाई कमिसन नदिने सिरमसँग सम्झौता नै भएको थियो । ५० लाख डोज खरिदमा भने एजेन्ट बाधक भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

२० लाख खोप ४ लाख प्रतिडोजमा खरिद गर्ने सम्झौता भएकामा ५० लाख खोप खरिद गर्न कमिसनसहित प्रतिडोज ६.०५ डलरमा सिरमबाट प्रस्ताव आएको मन्त्रालयले जनाएको छ । खोप खरिदको छलफल चल्दा फागुन तेस्रो साता एक डलरको १ सय १५ नेपाली रुपैयाँ थियो । यसअनुसार एक डोज खोपको ६ सय ९५ रुपैयाँ ७५ पैसा पर्थ्यो । ५० लाख डोज खोप खरिद गर्दा ३ अर्ब ४७ करोड ८७ लाख ५० हजार रुपैयाँ पर्थ्यो । १० प्रतिशत कमिसन घटाउने हो भने ३४ करोड ७८ लाख ७५ हजार रुपैयाँ कम पैसामा खोप खरिद गर्न सकिन्थ्यो ।

एजेन्टकै दबाबमा खोप उत्पादन गर्ने कम्पनीले एजेन्टको कमिसनसमेत जोडेर मूल्य प्रस्ताव गरेको स्वास्थ्य सेवा विभागका एक अधिकारीले बताए । १० प्रतिशत कमिसन दिनु नपर्ने हो भने एक डोजको ५ दशमलव ४४ डलर पर्थ्यो । स्वास्थ्य मन्त्रालयले कमिसन दिएरै खोप खरिद गर्न चाहे पनि ८० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने बाध्यता थियो ।

कुनै सामान खरिद गर्दा सरकारले अग्रिम २० प्रतिशत रकम मात्रै भुक्तानी गर्न पाउने कानुनी व्यवस्था छ । ‘हामीले २० प्रतिशत रकम दिएपछि एजेन्ट ६० प्रतिशत लगानी गर्नसमेत नसक्ने हैसियतका रहेछन्,’ प्रवक्ता गौतमले भने, ‘आफू लगानीसमेत गर्न नसक्ने, कमिसन मात्रै लिनेलाई हामीले विश्वास गर्न सकेनौं । त्यसैले खोप खरिद अघि बढ्न सकेन ।’

कमिसनको विषय उठेपछि मन्त्री त्रिपाठी, सचिव लक्ष्मण अर्यालसहित केही कर्मचारीहरू खोप खरिदका लागि सिरम कम्पनीबाहेक अर्को विकल्पमा जान नहुने अडानमा थिए । उक्त समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ७ : २६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल