७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

अक्सिजन आपूर्तिको सुनिश्चितता नभए भयावह स्थिति आउनसक्छ : डा. राजेन्द्र खनाल, प्रमुख, लुम्बिनी प्रादेशिक अस्पताल



यतिबेला नेपालका प्रायः सबै अस्पतालहरुमा अक्सिजनको चरम अभाव छ । कतिपय अस्पतालले सुचना निकालेर अक्सिजन नभएकाले बिरामी भर्ना गर्न नसक्ने जानकारी समेत दिइसकेका छन् । सरकारले कोरोना संक्रमणको उपचारका लागि तोकेका अस्पतालहरुमा पनि उपचारमा संलग्न चिकित्सकहरु संक्रमितको उपचारमा भन्दा अक्सिजन खोज्न दौडनुपर्ने अवस्था देखिएको छ ।
अस्पतालमा अक्सिजन अभाव हुनुको पछाडि धेरै कारणहरुमध्ये सर्वसाधारणले घरघरमा सिलिण्डर होल्ड गरेको पाइएको छ । घरमा अक्सिजन राखेर संक्रमित वा अन्य बिरामीले आफुखुसी प्रयोग गर्नु कत्तिको उपयुक्त होला ? अक्सिजनको यस्तै अभाव भैरहेने हो भने चिकित्सकीय अवस्था कस्तो होला ? जस्ता विषयमा केन्द्रित रहेर अक्सिजनको चरम अभाव खेपिरहेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा. राजेन्द्र खनालसँग खबरकुराका लागि शरण कर्माचार्यले कुराकानी गरेका छन् ।

 

बजारमा अक्सिजनको अभाव हुनुको कारण के हो ?

लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले कोभिड बिरामी बाहेक नन कोभिड इमर्जेन्सी सेवा पनि चलेको छ । डायलाइसिस, ६ बेडको आईसीयू र ८ बेडको एनआईसीयू पनि संचालनमै छ । त्यसरी नै त्यहाँ पनि अक्सिजन चाहिन्छ । अनि कोभिड बिरामीको आकस्मिक अप्रेसन र अस्पतालमै सुचीकृत भएका डायलाइसिसका बिरामी कोभिड पोजिटिभ भएर आउँदा पनि छुट्टै गर्ने व्यवस्था छ । त्यहाँ पनि अक्सिजनको सपोर्ट चाहिन्छ र चाहिन सक्ने हुन्छ । अहिले ओपीडीमा त्यति बिरामी नआएका भए पनि डेलिभरी गर्न आउनेको चाप अझ बढि छ ।

 

अहिले लुम्बिनी प्रादेशिक अस्प्तालमा अक्सिजन ठ्याक्कै कति खपत भैरहेको छ ? यहाँहरुलाई चाहिने कति हो ?

अहिलेको अवस्थामा ३४ घन्टामा ४५० सिलिन्डर जति अक्सिजन खपत भएको छ । अक्सिजनको माग बिरामी बढ्दै गएपछि अझ बढ्छ । अहिले यहाँको अवस्था बेडदेखि बाहेक पनि इमर्जेन्सीमै भुईंमा बसेर अक्सिजन लिइराखेको अवस्था हो । २६ बेडको अर्को एचडीयू चल्दा यो माग ५५० सिलिन्डर जति पुग्छ । त्यसरी नै अर्को अस्पताल नवनिर्मित भवनमा ३५ बेडको आईसीयू र ६० बेडको अरु एचडीयू बनाउने हो भने हामीलाई दैनिक १००० सिलिन्डरभन्दा बढि चाहिन्छ ।
केही समयअघिदेखि बिग्रेर बसेको रोटरी बुटवलले दिएको अक्सिजन प्लान्टलाई फ्रान्सबाट सामान मगाएर मर्मत गरेपछि त्यहाँबाट २० सिलिन्डर जति अक्सिजन निस्किएको छ ।

अक्सिजन आपूर्तिको सुनिश्चितता नहुने हो भने कल्पना भन्दा बाहिरको भयावह स्थिति आउनसक्छ । जस्तो टीभीमा मित्र राष्ट्र भारतका केहि अस्पतालको दृश्य देखिने गरेको छ । हामी निरीह भएर रहनुपर्ने अवस्था हुनेछ

यहाँको स्थानीय अक्सिजन सप्लायर्सको दैनिक क्षमता ११०० सिलिन्डरको रहेको छ । तिनैबाट यहाँका अस्पताल र स्थानीय तहमा आपूर्ति भैरहेको छ । मान्छेले पछि के हुने हो के भनेर अक्सिजन सिलिन्डर घरघरमै लगेर राख्न लागेपछि पनि अभाव भएको हो । यो नराम्रो हो किनकी चिकित्सकीय निगरानीबेगर अक्सिजन प्रयोग गर्न खोज्नु जोखिमपूर्ण हुन्छ । अक्सिजन एउटा दबाई जस्तै हो । यसको मात्रा कति दिनपर्ने हो सो चिकित्सकीय निगरानीमा गरिनुपर्छ । अन्यथा यसका साइड इफेक्ट र दुर्घटना हुने डर हुन्छ । नचाहिने अवास्थामा फोक्सोलाई राम्रो बनाउँछु भनेर पहिल्यै लिन खोज्नु या रोकी रोकी त्यत्तिकै लिनुले केहि पनि राम्रो काम गर्दैन । उचित मात्राको फ्लोको अक्सिजनको साथ साथ अन्य औश्धी पनि चिकित्सकको निगरानीमा दिनु पर्छ ।

 

कतिपय व्यक्तिहरुले घरघरमा सिलिण्डर होल्ड गरेर राखेका छन् । चिकित्सकिय हिसाबले भन्दा विना दक्ष प्राविधिक व्यक्ति स्वयंमले अक्सिजन प्रयोग गर्न मिल्छ ?

बुढेसकालमा भएको खोकीजन्य दीर्घ दमका बिरामीलाई बढि अक्सिजन दिँदा स्वचालित हुने श्वासप्रश्वासको प्रक्रिया अवरुद्ध हुन सक्छ । त्यस्तै हाई फ्लो अक्सिजन चाहिने ठाउँमा कम्ती दिएर परिणाम आउँदैन । अक्सिजनमै बढि बानी परे मान्छे अक्सिजन नभै नहुने डिपेन्डेन्ट अवस्थामा समेत पुग्न सक्छ । त्यसलाई बिस्तारै कम कम गर्दै जानुपर्ने हुन्छ । अक्सिजन चलाउन जाने प्राण दिन्छ भने अलिकति कमजोरी भएर प्राण लिन पनि सक्छ ।

चिकित्सकीय निगरानीबेगर अक्सिजन प्रयोग गर्न खोज्नु जोखिमपूर्ण हुन्छ । अक्सिजन एउटा दबाई जस्तै हो । यसको मात्रा कति दिनपर्ने हो सो चिकित्सकीय निगरानीमा गरिनुपर्छ । अन्यथा यसका साइड इफेक्ट र दुर्घटना हुने डर हुन्छ

दक्ष व्यक्तिले बाहेक अरुले बिरामीलाई कति मात्रामा अक्सिजन आवश्यक छ भनेर छुट्याउन सक्दैन, आफुखुशी अक्सिजनको प्रयोग गर्दा बिरामीलाई ठूलो जोखिम हुन सक्छ ।
म फेरी भन्छु, यसको मात्रा कति दिनपर्ने हो सो चिकित्सकीय निगरानीमा गरिनुपर्छ । अन्यथा यसका साइड इफेक्ट र दुर्घटना हुने डर हुन्छ । नचाहिने अवास्थामा फोक्सोलाई राम्रो बनाउँछु भनेर पहिल्यै लिन खोज्नु या रोकी रोकी त्यत्तिकै लिनुले केहि पनि राम्रो काम गर्दैन । उचित मात्राको फ्लोको अक्सिजनको साथ साथ अन्य औषधी पनि चिकित्सकको निगरानीमा दिनु पर्छ ।

 

घरमा अक्सिजनको सिलिण्डर राख्नु कत्तिको जोखिम छ ?

अक्सिजन एउटा अत्याधिक प्रज्वलनशील पदार्थ पनि हो । सानो लापरर्वाहीले आगलागी भएर जनधनको क्षती पनि हुन सक्छ । एउटा चिकित्सकको नाताले मैले भन्नुपर्दा दक्ष व्यक्ति बिना अक्सिजन आफु खुसी प्रयोग गर्न हुँदैन । सानो असावधानीले पनि जिउधनको सर्वनाश हुन सक्छ ।

 

चिकित्सकको सल्लाह बिना, दक्षब्यक्ति बाहेक सर्वसाधारणले आफुखुसी अक्सिजन लगाउँदा हुने जोखिम अरु के के हुन सक्छन् ?

अक्सिजन आवश्यक परेको बिरामीलाई कति अक्सिजन आवश्यक हो भन्ने कुरा चिकित्सक वा दक्ष स्वास्थ्कर्मीलाई मात्र थाहा हुन्छ । खोकीजन्य दीर्घ दमका बिरामीलाई आवश्यकता भन्दा बढी अक्सिजन दिँदा श्वासप्रश्वासको प्रक्रिया अवरुद्ध भएर मृत्यु पनि हुन सक्छ । कसैलाई हाई फ्लो अक्सिजन चाहिने अवस्था आउन सक्छ, तर पुरा फ्लो दिन नसकेको अवस्थामा अक्सिजनको मात्रा नपुगेर पनि बिरामीको मृत्यु हुन सक्छ । मात्रा र आवश्यकता नहेरी दिएको अक्सिजनले परिणाम आउँदैन । अक्सिजनमै बढि बानि परे मान्छे अक्सिजन नभै नहुने डिपेन्डेन्ट अवस्थामा पुग्न सक्छ ।

अक्सिजन आपूर्तिको सुनिश्चितता नहुने हो भने कल्पना भन्दा बाहिरको भयावह स्थिति आउनसक्छ । जस्तो टीभीमा मित्र राष्ट्र भारतका केहि अस्पतालको दृश्य देखिने गरेको छ । हामी निरीह भएर रहनुपर्ने अवस्था हुनेछ

 

अस्पताललाई पर्याप्त अक्सिजन आपुर्ति गर्न के गर्नु पर्ला ?

आपूर्तिको समुचित ब्यवस्थापन गर्न अस्पतालको माग अनुसार आपूर्ति गरिने व्यवस्था गरिनुपर्छ । बिरामीको उपचारमा लाग्नुपर्ने डाक्टरलाई यसको तनाव लिनपर्नु दुःखको कुरा हो । मेरो गत हप्ता देखिको दिन र रात यसैमा बितेको छ । डाक्टर आईसीयू र एचडीयू मा अक्सिजन सकिँदैछ । इमर्जेन्सीमा अक्सिजन सिद्धिएर बिरामी सकस अवस्थामा छन्, लौ न केहि गर्नुस भन्दै रात बिरात सिकायत आँउछ । मेरो बशमा केहि छैन । तै पनि मध्यरातमा तिनै बिरामीको लागि प्रशासनमा सीडीओ साब, प्रहरी प्रमुख, मन्त्रालयका सचिव लगायतलाई गुहार्न पुग्छु ।
अक्सिजनको आपूर्तिको लागि माथिल्लो निकायहरूले आवश्यक पहल गरिदिनुपर्छ । जस्तो हाम्रो अस्पतालले दैनिक १०० सिलिन्डर जतिको क्षमताको अक्सिजनको प्लान्टको लागि टेन्डर गरेर सम्झौताको लागि कार्य अगाडि बढाएको छ । तर अहिलेकि परिस्थितिमा युरोपबाट आउने सो मेसिनको ट्रान्सपोर्ट समयमै नभए गार्हो हुन्छ ।

कहिलेकाहीँ रिस पनि उठ्छ, तपाइँहरुले बेलैमा मान्छे जन्मिने, बिरामी परेर आउनपर्ने र जिन्दगी बिसाउने ठाउँको बेलैमा बिस्तार र ब्यवस्थित गर्न के गर्नु भयो र अहिले दवाब दिनुहुन्छ भन्दिउँ जस्तो लाग्छ । तर…..

संकटको यस्तो घडीमा महिनौं लाग्ने खरिद र निर्माण प्रक्रियाले केहि गर्न नसकिने हुन्छ । हेर्दाहेर्दै धेरैको जीवन समाप्त हुनेछ । त्यसरी नै अक्सिजनका आपूर्तिकर्तासँग समन्वय गर्न जरुरी छ । बिरामीको सेवाको लागि भवन, उपकरण, औषधि भएर मात्र हुँदैन आवश्यक जनशक्ति थप गर्नुपर्छ, संचालन खर्चको सुनिश्चितता हुनुपर्छ । धेरैजना जोखिममा छन, उनीहरुलाई सुरक्षा र उत्प्रेरणा दिनुपर्छ । अहिले खट्नेलाई सम्मान र काम कर्तव्यबाट भाग्नेलाई सम्बन्धित काउन्सिलबाट आवश्यक कारवाही पनि गरिनुपर्छ । यो सबै माथिल्लो निकायका काम हुन् । हामी बिरामीको सेवामा मात्रै समर्पित हुन पाऊँ ।

 

अहिले सबैतिर बेडको हाहाकार छ । संक्रमितहरु बेड नपाएर मृत्युवरण गरिरहेका छन् । तपाईंलाई बेडका लागि कत्तिको प्रेसर आउने गरेको छ ?

यस्तो कुराको लागि अस्पताललाई सहयोग गर्न चेतनशील मान्छेहरुलाई नागरिक हेल्प डेस्क बनाउनुस भनेर सार्वजनिक आग्रह गरेको छु । मलाई अहिले मेरो मान्छेको लागि आइसीयू र बेड मिलाइदिनुस भनेर मन्त्री माननीय प्रशासक नेता लगायत धेरैको मलाइ गरिने फोनको ९० प्रतिशत जति आग्रह हुन्छ । त्यो मैले एक्कासी कसरी गर्न सक्छु र, ? उहाँहरुलाई पनि गार्है होला । त्यो पनि बुझ्छु । अहिले पैसा, पद, पावर भएर पनि केहि हुने अवस्था छैन । यो बसको सिट मिलाउने कुराजस्तो त होइन नि । उपचाररत सिकिस्त बिरामीलाई निकालेर अर्कोलाई राख्न मिल्छ ? बिरामीको अवस्थामा सुधार आए हाम्रो प्रोटोकल अनुसार गर्ने कुरा कसैले निर्देशन गर्नुपर्ने होइन । कहिलेकाहीँ रिस पनि उठ्छ, तपाइँहरुले बेलैमा मान्छे जन्मिने, बिरामी परेर आउनपर्ने र जिन्दगी बिसाउने ठाउँको बेलैमा बिस्तार र ब्यवस्थित गर्न के गर्नु भयो र अहिले दवाब दिनुहुन्छ भन्दिउँ जस्तो लाग्छ । तर संयम गरेर राख्छु, किनभने मसँग सहन सक्ने र मान्छेको करुणा बुझ्ने क्षमता अन्य क्षेत्रमा भएका भन्दा कैयौं गुणा बढि छ जस्तो लाग्छ, किनभने सयौंका पीडाको साक्षी हुनुपर्ने विवशता सेवामा समर्पित डाक्टर र नर्समा हुन्छ ।

 

अझै पनि आपुर्ति हुन नसके भोलिका दिनमा कस्तो जोखिम देखिएला ?

अक्सिजनको आपूर्तिको सुनिश्चितता नहुने हो भने कल्पना भन्दा बाहिरको भयावह स्थिति आउनसक्छ । जस्तो टीभीमा मित्र राष्ट्र भारतका केहि अस्पतालको दृश्य देखिने गरेको छ । हामी निरिह भएर रहनुपर्ने अवस्था हुनेछ । हाम्रो पनि अवस्था बिरामी भएमा अक्सिजनबिहिन भएर छट्पटाउनु पर्नेछ ।

फोटो : दिनेश श्रेष्ठ

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : ५७ बजे

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११