१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

निषेधाज्ञाको मौका छोपी उद्योगीले बढाए निर्माण सामग्रीको मूल्य



काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन ।

विश्व महामारीका रूपमा दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत १६ वैशाखदेखि जारी राखेको काठमाडौं उपत्यकालगायत मुलुकभरका अधिकांश ठाउँको निषेधाज्ञाकै समयमा हाल उत्पादक र विक्रेताले छडमा प्रतिकेजी ३० प्रतिशत र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ मूल्यवृद्धि भएको छ ।

निषेधाज्ञा लागू भएको ११औं दिन सोम्बारसम्म छड, सिमेन्टलगायत विभिन्न निर्माणजन्य वस्तुको भाउ अस्वाभाविक रूपमा अत्यधिक बढाएको आमउपभोक्त एवं सरोकारवालाको भनाइ छ । उनीहरूले कोरोना कहर र निषेधाज्ञाको मौका छोपेर व्यवसायीले यसरी निर्माणजन्य वस्तुहरूको मूल्य अत्यधिक बढाएको बताएका छन् ।

उनीहरूका अनुसार निषेधाज्ञा लागू भएको एक साता बित्न नपाउँदै छड र सिमेन्ट उत्पादक तथा विक्रेताले प्रतिकेजी छडमा ३० प्रतिशत र प्रतिबोरा सिमेन्टको मूल्यमा २५ रुपैयाँ वृद्धि गरेको जानकारी गराएका छन् । अहिले सिमेन्ट मात्रै होइन निर्माणजन्य सम्पूर्ण सामग्रीको मूल्य बढेको छ । फलामजन्य निर्माण सामग्रीअन्तर्गत विभिन्न साइजका डन्डी, जीआई तार, ग्याल्बिन तार, पाइपलगायतका सामग्रीको मूल्यवृद्धि भएको छ भने अन्य खानीजन्य निर्माण सामग्रीको मूल्य पनि अत्यधिक बढेको छ ।

निर्माण सामग्रीको मूल्यवृद्धिसँगै कृत्रिम अभाव भएपछि हाल काठमाडौं उपत्यकालगायत मुलुकभरको निर्माणका काम ठप्प भएको निर्माण व्यवसायीको गुनासो छ । महामारीको समयमा नै उद्योगी/व्यवसायीले मिलोमतोमा मूल्यवृद्धि तथा कार्टेलिङ गरेको आरोप निर्माण व्यवसायीको छ ।

उनीहरूका अनुसार अहिले निर्माणजन्य सामग्रीको अभावसँगै फलामजन्य सामग्रीमा प्रतिकेजी २० देखि २५ रुपैयाँ र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ मूल्यवृद्धि भएको छ । यस्तो विषम परिस्थितिमा पनि निर्माणजन्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धि भएपछि अस्वाभाविक रूपमा बढाइएको मूल्यवृद्धि रोक्न निर्माण व्यवसायीले केही दिन अघि वाणिज्य तथा आपूर्ति उपभोक्ता हित संरक्षण विभागलाई मूल्यवृद्धि रोक्न भन्दै ध्यानाकर्षणसमेत गराएका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोहन दाहालले यस्तो जानकारी गराएका हुन् । उनले अहिले मुलुक र सम्पूर्ण देशवासीलाई परेको यस्तो विपत्तिको विषम परिस्थितिमा सबैले मिलेर कोरोनासँग लड्दै काम गर्नुपर्ने ठाउँमा उल्टै उत्पादक र विक्रेताले कार्टेलिङ गरी निर्माणजन्य वस्तुहरूको मूल्यवृद्धिसँगै कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाए ।

मुलुकको धेरै ठाउँमा निषेधाज्ञा लागू भएपछि निर्माणजन्य सामग्रीको माग पहिलेको तुलनामा केही कम भए पनि हाल यस्तो सामग्रीको मूल्य भने अत्यधिक बढेको बताउँदै महासंघका महासचिव दाहालले भने, ‘सरकारले निषेधाज्ञा लागू गर्नुअघि डन्डीको मूल्य प्रतिकेजी ८० देखि ८५ रुपैयाँ थियो । हाल प्रतिकेजी फलामे डन्डीको भाउ बढेर १ सय ७ रुपैयाँ पुगिसकेको छ ।’ अझै बढ्छ भन्ने कुरा पनि आइरहेको भन्दै उनले हाल सिमेन्टमा पनि प्रतिबोरामा २५ रुपैयाँ बढेको जानकारी दिए ।

सरकारले गत १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु गरेको थियो । उनले निषेधाज्ञा गरेको ११औं दिन सोमबारसम्म यति धेरै मूल्यवृद्धि हुँदा पनि सरकार चुप लागेर बसेकाले अहिले निर्माण व्यवसायी मात्र नभएर आमउपभोक्ता मारमा परेको बताए । यो एक साताकै अवधिमा निर्माण सामग्रीको मूल्य यसरी अत्यधिक बढ्दा पनि सरकार मौन बस्नुमा अहिले आफूहरू अचम्ममा परेको उनको भनाइ छ ।

यसअघि महासंघको तर्फबाट निर्माण व्यवसायीले मूल्यवृद्धि रोक्न भनेर बजार नियमनकारी निकाय वाणिज्य विभागको ध्यानाकर्षण गराएको जानकारी गराउँदै उनले विभागले अब निर्माण सामग्रीको बजारभाउ नियन्त्रणमा लिन अनुगमन गर्ने प्रतिबद्धता जनाए पनि अझै भाउ नघटेको बताए ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले भने हाल सिमेन्टको मूल्यवृद्धि नभएको दाबी गरेका छन् । उनले ढुवानीमा प्रतिबोरा ५/१० रुपैयाँ कसैले बढाएको भए बेग्लै कुरा भए पनि उत्पादक उद्योगले भने सिमेन्टको मूल्य नबढाएको बताए । सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाले जानकारी गराएअनुसार अहिले सिमेन्ट प्रतिबोरा पीपीसीकोे ६ सय रुपैयाँ र ओपीसीको ७ सय रुपैयाँ फ्याक्ट्री मूल्य छ । यो निषेधाज्ञा लागू हुनुभन्दा पहिलेकै मूल्य भएको उनको दाबी छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पनि अहिले निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै गुनासो आउन थालेपछि अनुगमन सुरु गरेको बताएको छ । विभागका अनगुगमन शाखा प्रमुख शिवराज सेढाईंले अहिले विभागले निर्माण सामग्रीमा कमै अनुगमन गरेको भए पनि यसरी गुनासो बढ्न थालेपछि तीव्रता दिएको बताए ।

अहिले कोरोना भाइरसको महामारीमा आफूहरूको ध्यान अत्यावश्यक उपभोग्य बस्तु र स्वास्थ्य सामग्रीमा भएको र निषेधाज्ञामा निर्माण सामग्रीका पसलहरू बन्द हुनुपर्ने भएकाले र दिउँसो झट्ट हेर्दा पसल बन्द देखिएकाले अनुगमन गर्न समस्या भइरहेको बताउँदै सेढाइँले भने, ‘हाल गुनासो आएअनुसार हामीले अनुगमन गरिरहेका छौं ।’ निर्माण व्यवसायीले जानकारी गराएअनुसार अहिले सरकारले स्वास्थ्य सुरक्षा अपनाएर निर्माणका काम गर्न पाइने भने पनि सरकारका विभिन्न निकायबीच अपसी समन्व नभएका कारण निर्माणका काम ठप्प भएका छन् ।

गत वर्षको भन्दा अहिलेको कोरोना भाइरसको संक्रमण फैलने दर निकै चर्को र मृत्यदर पनि उच्च रहेका कारण अहिलेको निषेधाज्ञामा मान्छेहरूको चहलपहल कम भएको, निर्माण सामग्रीको अभाव र अत्यधिक मूल्यवृद्धिले थालिएका विभिन्न निर्माण आयोजनाको काम ठप्प भएको अधिकांश निर्माण व्यवसायीको भनाइ छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : २८ बजे

इलाम-२ मा सुहाङ नेम्वाङ विजयी

इलाम । इलाम-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि