१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अक्सिजनमा चरम नाफा : खरिद मूल्य ४००, बिक्री ९१५



काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ । त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो ।

तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले भेरी अस्पताललाई लामो समयदेखि ९ सय १५ रुपैयाँमा बेच्दै आइरहेको छ । यो महामारीमा प्राणवायु अक्सिजनकै कालोबजारी गरेर उसले सय प्रतिशतभन्दा बढी मुनाफा कमाइरहेको छ । ​जयेशका सञ्चालक राजीव तेलंगाका अनुसार उक्त कम्पनीले नेपालगन्ज परसपुरस्थित एचओ अक्सिजन ग्यासबाट प्रतिसिलिन्डर ४ सयमा खरिद गर्छ । त्यही अक्सिजन भेरी अस्पताललाई ९ सय १५ रुपैयाँमा बेच्ने गरेको तेलंगाले खुलस्त बताए ।

तेलंगाका अनुसार उक्त ट्रेडिङले सानो सिलिन्डर २ सय ५० रुपैयाँमा किन्छ। त्यसलाई उक्त अस्पताललाई ५ सय १५ मा बेच्छ । दुवै आकारका सिलिन्डरमा दोब्बरभन्दा बढी मूल्य लिने गरेको छ ।

त्यही सप्लायर अर्थात् जयेशले नै बाँकेकै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई भने प्रतिसिलिन्डर १५ रुपैयाँ मात्र नाफा खाएर बेचिरहेको छ । शिक्षण अस्पतालका प्रबन्ध सञ्चालक डा.सुरेशकुमार कनोडियाले प्रतिसिलिण्डर ४ सय १५ रुपैयाँमा खरिद गरिरहेको बताए । उनले भने, ‘त्यही अक्सिजन ल्याउन पनि रातदिन कर्मचारी खटाउनु परेको छ ।’ सप्लायर्सले महेन्द्रनगर पठाउँदा ८ सय ९५ तथा धनगढी र दाङलाई ८ सय १० रुपैयाँ लिने गरेको छ । रुपन्देहीमा लोड अनलोड बाहेकको ७ सय ५० रुपैयाँ मूूल्य तोकिएको छ ।

भेरीमा भने अचाक्ली महँगो मूल्य राखिएको छ । चैतमा उक्त सप्लायर्सले भेरीमा सानो ३५ समेत एक हजार ८ सय ६० सिलन्डर अक्सिजन आपूर्ति गरेको छ । चैतमा मात्र उसले थोक मूल्यभन्दा ९ लाख ४९ हजार १ सय ५० रुपैयाँ बढी लिएको छ ।

त्यस्तै वैशाखको १५ गतेसम्म सानो ५५ सहित ३ हजार तीन सय ३८ सिलिण्डर पठाएको छ । यस अवधिमा १६ लाख ८६ हजार ८ सय ४५ रुपैयाँ बढी लिएको देखिन्छ । गत वर्ष मंंसिर यताको रकम जोड्ने हो भने अस्पताललाई ठूलो मात्रामा नोक्सानी भएको देखिन्छ ।

तेलंगाका अनुसार धनगढीदेखि रुपन्देहीसम्म ग्यास ढुवानी गर्दा पनि प्रतिसिलिण्डर एक सय ५० रुपैयाँ खर्च हुन आउँछ । अक्सिजन गाडीमा लोड अनलोड (चढाउने र झार्ने) कार्यमा प्रतिसिलिण्डर थप ६० रुपैयाँ लाग्छ । भेरी सबैभन्दा पायक र नजिक दूरीको हो । त्यसमै सबैभन्दा महँगो मूल्य परिरहेको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापा अक्सिजन उत्पादक कम्पनीको एकाधिकार रहेकाले महँगो पर्न गएको बताउँछन् । टेण्डर प्रक्रियामा जाँदा सबैभन्दा सस्तो मूल्य दिनेलाई टेण्डर दिएको उनको भनाइ छ । उनले भने, ‘टेन्डरमा जानुअघि ९ सयभन्दा बढी मूल्य भनेका थिए । टेण्डरमा जाँदा पनि सबैभन्दा सस्तो ९ सय १५ परेकाले स्वीकृत गरिएको हो ।’

मिलेमतोमा टेन्डर

भेरी अस्पतालले ८ मंसिर ०७७ मा अक्सिजन आपूर्तिसम्बन्धी टेन्डर आह्वान गर्दै नेपालगन्जको एक स्थानीय पत्रिकामा सूचना प्रकाशन गरेको थियो । १० पुसमा टेन्डर स्वीकृत गर्दा जय हार्डवेयर ट्रेडर्सले ठूलो अक्सिजन प्रतिसिलिन्डर ९ सय ५० र सानोलाई ५ सय ३५ रुपैयाँ मोल राखेको थियो । अर्को नवज्योति इन्टरप्राइजेजले ठूलोलाई ९ सय ३५ र सानोलाई ५ सय ४० देखाएको थियो। सबैभन्दा कम जयेश ट्रेडिङ कन्र्सनले ठूलोलाई ९ सय १५ र सानोलाई ५ सय १५ मोल राखेको थियो ।

त्यही भएर जयेशको स्वीकृत गरिएको अस्पतालका फार्मेसी सुपरभाइजर दिनेश नेपालीले बताए । जयेश ट्रेडिङ कन्सर्नका राजीव तेलंगा अक्सिजन प्लान्ट सञ्चालन गर्छन्, सप्लायर्स पनि हुन् ।

टेन्डरमा सामेल बाँकी दुई कम्पनीले अक्सिजनको कारोबार गर्दैनन् । कम्तीमा ३ वटा फर्मको सहभागिता जनाउन तिनीहरूलाई नाटकीय ढंगमा सामेल गरिएको सम्बद्ध स्रोतले बतायो । ती दुवै फर्म तेलंगाका नातेदार र आफन्तका रहेको बुझिएको छ । टेन्डरमै ‘कार्टेलिङ’ गरेको देखिएको छ ।

भेरीले यसअघि पनि जयेशबाटै अक्सिजन लिने गथ्र्यो । गत वर्ष मात्र पहिलो पटक टेन्डर प्रक्रियामा गएको हो । नगरमै रहेको अक्सिजन कम्पनीबाट सस्तोमा किन्न छाडेर अस्पताल प्रशासन टेन्डर प्रक्रियामा गएको हो । यसबाट मिलिभगतमा सजिलो हुने गरेको पाइएको छ ।

मूल्य अत्यधिक रहेको बिरामीबाट गुनासो बढेपछि वैशाख १५ देखि प्रतिसिलिन्डर १ सय ६५ रुपैयाँ घटाइएको छ । सप्लायर्स तेलंगाले हाल ७ सय ५० रुपैयाँमा उपलब्ध गराइरहेको बताए । अक्सिजन उत्पादक कम्पनीले भने भेरी अस्पतालले आफूसँग सिधै खरिदको सम्झौता गरेमा निकै सस्तोमा दिन सकिने बताएको छ ।

बिरामीको आफ्नै अक्सिजन

जनताको करबाट भेरी अस्पतालले महँगो अक्सिजन खरिद गरे पनि बिरामी भने आइसोलेसन र वार्डमा आफ्नै अक्सिजन बोकिरहेका छन् । बर्दिया गुलरिया नगरपालिका-११ का जगत ढकाल शुक्रबार दिउँसो भेरी अस्पतालको इमरजेन्सी अगाडि एउटा ठूलो र अर्को सानो अक्सिजन सिलिण्डरसहित भेटिए ।

ढकालले अस्पतालमा जुनसुकै बेला अक्सिजन सकिने खतरा रहेकाले सिलिण्डरको जोहो गरेको बताए। उनका साढु भाइ भेरीको आइसोलेसनमा कोरोनाको उपचार गराइरहेका छन् । ‘माछापालनका लागि राखेको अक्सिजन सिलिण्डर थियो । त्यही भरेर ल्याएका हौं’, उनले सुनाए, ‘अस्पतालमा अक्सिजन सकिएर बिरामीको मृत्यु भएको खबर सुनेर आफैं विकल्प खोजेका हौं ।’ उनले तेस्रो पटक अक्सिजन सिलिण्डर फिलिङ गरेर ल्याएका थिए ।

इमरजेन्सी अगाडिको पार्किङमा मोटर साइकलमा सानो अक्सिजन सिलिण्डर भर्न जाँदै गरेको अवस्थामा भेटिएका थिए, बाँकेको राप्ती सोनारी गाउँपालिका १ कुसुमका सुरेश खत्री। उनकी फुपूको इमरजेन्सी अगाडिको टेन्टमा राखेर दुई दिनदेखि उपचार भइरहेको छ ।

‘हिजो अक्सिजन लेवल ६० पुगेको थियो । डाक्टरले आफैं सिलिण्डर ल्याएर आउनुस् । लगाइदिन्छौं भने । १५ हजार रुपैयाँ धरौटी राखेर ल्याएको हुँ’, उनले दु:खेसो पोखे, ‘कसै कसैलाई त अस्पतालले पनि अक्सिजन लगाइदिँदो रहेछ । कस्तोलाई दिन्छ, थाहा भएन ।’

भेरी अस्पतालको आइसोलेसन वार्डमा १५/२० जना बिरामीले आफैं अक्सिजन सिलिण्डरको व्यवस्था गरेका छन् । अस्पतालका प्रमुख डा. थापा पाइप लाइनबाट अक्सिजन दिने व्यवस्था भए पनि बिरामीले सिलिण्डर राख्ने गरेको बताउँछन् । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ८ : ०६ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु