११ चैत्र २०८२, बुधबार | March 25, 2026

खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट



काठमाडौं । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् ।

सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो ।

नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुखबीच भएको छलफलपछि उक्त निर्णय कार्यान्वयनमा आएको जनाइएको छ । यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै लागू हुनेछ । गत वर्षको बजेटमा पनि दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

दुई सरकारी कम्पनीले हाल चामल, दाल, चिनी, नुन, गेडागुडी, तेल र एसटीसी ग्यासलगायतका सामान बेच्दै आएका छन् । खाद्य कम्पनीले छ प्रकारका चामल र कर्णालीको सिमीमा सरकारले तोकेको २० प्रतिशत छुट दिनेछ । साल्ट ट्रेडिङले पाँच जनासम्मको परिवारका लागि ग्यास (एसटीसी) एउटा, चिनी दुई केजी र नुन दुई केजी, भटमास तेल एक लिटर, दुई केजीको पिठोमा छुट दिनेछ ।

खाद्य कम्पनीका कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सरकारले बजेटमार्फत दिने भनेको छुट योजनाअनुसार कम्पनीले शुक्रबारदेखि नै चामल र कर्णालीको सिमी बिक्री गर्ने जानकारी दिए । उनका अनुसार कम्पनीले सोना मन्सुली चामल, जिरा मसिनो (स्टिम), स्टिम रज्जित, मध्यम मकवानपुरे चामल र कर्णालीको सिमीमा छुट दिने छ ।

“खाद्यान्न कम्पनीले हाल तेल, डीडीसीको घिउ, साल्ट ट्रेडिङको ग्यास (एसटीसी), दाल, पिठोलगायतका थुप्रै सामान बिक्री गर्दै आएको छ,” कार्यकारी अधिकृत चन्दले थपे “तर सबैमा हामी त्यो छुट दिन सक्दैनौँ । हामी आफूले खरिद गरेको सामानमा मात्रै छुट दिने तयारी गरेका छौँ ।”

खाद्य कम्पनीले यही जेठ १३ गतेदेखि लागू गरिएको नयाँ चरणको निषेधाज्ञापछि उपत्यकाका विभिन्न ठाउँमा अनलाइन वा फोनमार्फत आएका मागअनुसार निःशुल्क डेलिभरी सेवा पनि दिँदै आएको जानकारी उनले दिए । निःशुल्क डेलिभरीमा सरकारले गरेको छुट योजना कार्यान्वयन गर्न भने नसकिने चन्दको भनाइ छ ।

साल्ट ट्रेडिङले ग्यास, चिनी, नुन, आँटा, भटमासको तेलमा सरकारले तोकेको २० प्रतिशत छुट दिने व्यवस्था शुक्रबारदेखि नै कार्यान्वयन गर्ने भएको छ । साल्ट ट्रेडिङका उपमहानिर्देशक कुमार राजभण्डारीले निषेधाज्ञा अवधिभर पाँच जनाको एउटा परिवारका लागि चिनी दुई केजी, नुन दुई केजी, एउटा ग्यास, आँटा दुई केजीमा २० प्रतिशत छुट दिने जानकारी दिए ।

उनका अनुसार यो सुविधा साल्ट ट्रेडिङका बिक्री केन्द्रहरू कालीमाटी, सतुङ्गल, जडीबुटी, जावलाखेल र भक्तपुरबाट मात्रै पाइने छ । छुटको सामान लिनका लागि परिवार एक जनाको नागरिकताको प्रतिलिपिको पछाडि सबै परिवारका सदस्यको नाम लेखिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको पनि उनले जानकारी दिए । साल्ट ट्रेडिङले यीबाहेक पनि चामल, दाल, तेल घिउ, गेडागुडी, पिठो, मरमसलालगायत भान्सामा प्रयोग हुने सबै वस्तु बजारबाट लिएर बिक्री गर्दै आएको छ ।

साल्ट ट्रेडिङले पछिल्लो पटक सबै खाद्यान्न पसल बन्द हुँदा तीनवटा मोबाइल भ्यानमार्फत उपत्यकाका विभिन्न ठाउँमा पुगेर खाद्यान्न बिक्री गर्दै आएको छ । साथै शुक्रबारदेखि दिने छुट सेवा मोबाइल भ्यानमार्फत भने नपाइने स्पष्ट पारेको छ । गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ७ : १६ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग