१० पुस २०८२, बिहिबार | December 26, 2025

न दिनमा भोक, न रातमा निद्रा



मेलम्ची (सिन्धुपाल्चोक) । अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् ।

मेलम्चीका किसान चैतमा रोपेको धान भित्र्याएर फेरि रोपाइँ गर्ने चटारोमा हुन्थे तर अहिले किसान फुर्सदिला देखिन्छन् । उनीहरूलाई न त दिनमा भोक छ न त रातमा निद्रा । असार १ गते मेलम्ची तथा इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची नगरपालिकाको ३ हजार ५०० रोपनी धान खेतलाई बगरमा परिणत गरेपछि यहाँका किसानलाई असारको चटारो छैन ।

‘चैतमा रोपेको धान भित्र्याएर हिजोआज रोपाइँमा व्यस्त हुने बेला हो यो । अहिले खेतसँगै घर बाढीले पुर्‍यो, लहलह हुन थालेको धान खेत ढुंगा र बालुवाले पुरेको छ,’ आँगनको डिलमा बसेर मेलम्चीको बाढीले पुरेको खेत हेर्दै ८६ वर्षीय टंकप्रसाद दुलालले सुस्केरा हाल्दै भने ।

उनले २०२४ सालमा मेलम्चीमा बाढी आए पनि यस्तो विनाश र दुःख भने नदिएको स्मरण गरे । आफ्नो जीवनमा पहिलो पटक असार महिनामा समेत चौतारामा बसेर गफ गर्ने समय पाएको र वर्षभरि पालेका गोरु असार साउनमा समेत फुर्सदिला भएको विरह उनले सुनाए । असार १ गते आएको बाढीले पसाइसकेको धानसहित उनको १२ रोपनी खेत बगरमा परिणत गरेको थियो ।

‘एक बालीमै ५० मुरी फल्ने खेत बालुवा र ढुंगामुनि होला भनेर कसले पो सोचेको थियो हो र ?’ दुलालले भने ।

मेलम्चीकै ठाकुरप्रसाद रिजालको अवस्था पनि यस्तै छ । मध्य असारमा समेत रोपाइँ गर्नु नपर्ला भनेर आफूले सपनामा समेत नसोचेको उनले बताए । ‘यो बेला रोपार, बाउसे, गोरु र हली खोज्न व्यस्त रहने हामी यो वर्ष बाढीले पुरेको खेत हेरेर बसिरहेका छौं,’ रिजालले भने ।

व्यावसायिक रूपमा भैंसीपालनसमेत गर्ने रिजाललाई यस वर्ष भैंसीलाई खुवाउने परालको जोहो कसरी गर्ने होला भनेर चिन्ता समेत थपिएको छ । घर पुरिएपछि सामुदायिक भवन र विद्यालय भवनबाट भाडामा कोठा खोजेर बिस्तारै दैनिक व्यवस्थित बनाउने प्रयासमा रहेका मेलम्चीका बाढीपीडितलाई जीविकोपार्जनमा भने समस्या परेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले बताइन् ।

उनले असार महिनामा पनि किसान फुर्सदिला हुनु भनेको दीर्घकालीन रूपमा खाद्यान्नलगायतको समस्या देखिन सक्नेतर्फ आफूहरू गम्भीर बनेको बताइन् । ‘मेलम्चीलाई पुरानै लयमा फर्काउन र अर्को वर्षासम्म लहलह धान फलाउने खेत बनाउन प्रयास गरिरहेका छौं,’ उनले भनिन् । उपप्रमुख नेपालले नदीलाई पुरानै धारमा फर्काउन १० वटा डोजर र दर्जनौं टिप्पर प्रयोग गरिरहेको बताइन् । आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले लेखेका छन ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : ०२ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र