२० माघ २०८२, मंगलबार | February 3, 2026

पशुपतिनाथ मूल मन्दिर क्षेत्र सुनसान, बाहिर भक्तजनको चहलपहल



काठमाडौं । साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ ।

सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । मूल मन्दिर क्षेत्रमा भक्तजनलाई जान दिइएको छैन । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।

वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा तालाबन्दी गरिएको छ । धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको सदस्यसचिव ढकाल बताउँछन् । साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन् ।

गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो । साउन १ गते भएकाले आज बिहान पशुपति क्षेत्रको बाहिरी परिसरमा भने गत दिनहरूमा भन्दा बढी चहलपहल देखिएको कोषले जनाएको छ ।

विसं २०७६ चैत पहिलो सातादेखि मङ्सिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरिएको थियो । पुस १ गतेदेखि बिहान छ बजेदेखि मध्याह्नसम्म खुला गरिएको थियो । महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो । वैशाख लागेपछि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पुनः बन्द गरिएको हो । सदस्यसचिव डा ढकाल वातावरण सामान्य बन्दै गएमा तीजमा भने मन्दिर खोल्न सकिने बताउँछन् ।

भक्तजनका लागि बन्द गरिए पनि पशुपतिनाथ मन्दिरमा नित्य पूजालगायत कर्म भने जारी छ । पशुपति क्षेत्रको घाट सेवा पनि सञ्चालन भइरहेको छ । यस कोरोनाका कारण निधन हुनेको सङ्ख्या बढेपछि आर्यघाट, भष्मेश्वरघाट, विद्युतीय शवदाह गृहलगायत स्थानमा शव जलाउने क्रम पनि वृद्धि भएको छ । कोरानो उच्च विन्दुमा पुगेका बेला वैशाख अन्तिम र जेठ दोस्रो सातासम्म दैनिक २०० सम्म शव आएको कोषले जनाएको छ । विद्युतीय शवदाह गृहको क्षमताले नधानेपछि वाग्मती किनारमै पनि कोरोनाबाट निधन भएकाको शव जलाइएको थियो । पशुपति क्षेत्रमा विद्युतीयसमेत १५ वटा घाट सेवा उपलब्ध छ ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । राजधानीका अन्य शिवालयमा भने भक्तजनको चहलपहल देखिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ११ : १० बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको