प्रदेश सरकारको ‘सुजाता खिर महोत्सव’बारे मन्त्री नै बेखबर, खिरको ब्राण्डिङ योजना अलपत्र

खबर कुरा
१५ श्रावण २०७८, शुक्रबार
                 

बुटवल । लुम्बिनी प्रदेश सरकारले तामझामका साथ लाखौ खर्च गरेर २ वर्ष अघि लुम्बिनीमा सुजाता खिर महोत्सव गरेपनि त्यस यता आफैले शुरु गरेको परम्परालाई बिर्सिदिँदा प्रदेश सरकारको सुजाता खिरलाई ब्राण्डिङ गर्ने योजना अलपत्र परेको छ ।

लुम्बिनी भ्रमण वर्षसँगै प्रदेश सरकारले २०७६ को बद्ध पुर्णिमाको दिनबाट सुजाता खिरलाई ब्राण्डिङ गर्ने भन्दै खिर महोत्सवको शुरुवात गरेको थियो । बुद्ध पुर्णिमाबाट प्ररम्भ गरि परम्परादेखि नेपालमा खिरखाने दिन अर्थात साउन १५ का दिन खाने खिरलाई पनि सुजाता खिरको नामाकरण गर्ने महोत्सवमा त्यतीबेला भाषण गर्दै तत्कालिन पर्यटन मन्त्री लिला गिरिले उदघोष गरेका थिए ।

२०७६ जेठ ३ गते बुद्ध पुर्णिमाका दिन पारेर सरकारले झण्डै २५ लाख खर्च गरेर खिर महोत्सवको शुरुवात गरेको थियो । यसवर्ष पनि बुद्ध पुर्णिमाका दिन मुख्यमन्त्री लुम्बिनी पुगे, ध्यान गरे, पुजा गरे र भाषण पनि गरे, तर सुजाता खिर सम्झेनन् । २०७६ को बुद्ध पुर्णिमा होस् वा साउन १५, त्यस यता आफैले शूरुगरेको योजनामा सरकार आफै बेखबर जस्तै बनेको छ ।

सर्वसाधारणलाई मुल ढोका बन्द भएपनि सरकारी अधिकारी र बेलाबखत सरकारका उच्च पदाधिकारीलाई प्रार्थना र पुजा गर्न खुल्ने गरेको लुम्बिनीमा यसवर्ष कसैले सुजाता खिर सम्झेनन् । बुद्धदर्शनमा ठुलो महत्व राख्ने सुजाता खिरलाई प्रदेश सरकारले त बेवास्ता ग¥यो नै, लुम्बिनी विकास कोषले पनि सुजाता खिरको महत्व स्थापित गर्ने कुनै कार्यक्रम राखेन ।

प्रदेश सरकारमा बिभागिय मन्त्री परिवर्तन भएसँगै पुरानो मन्त्री र ब्यवस्थापनले गरेको कामलाई निरन्तरता दिन बिर्सने परम्पराका कारण प्राय एउटा मन्त्रीको कार्यकालमा शूर भएका कार्यक्रम मन्त्री फेरिएसँगै नदोहोरिने गरेको लुम्बिनी विकास कोषका एक अधिकारीले बताए । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चोधरीले भने मुख्य कारण कोरोना नै भएको बताउँदै मन्त्री फेरिनु पनि अर्को कारण भएको स्विकार गरे । ‘प्रदेशको मुख्य पहिचान हो खिर महोत्सव, कोरोनाका कारण समस्या भयो,’ उनले भने, – ‘मन्त्री र कर्मचारी परिवर्तनले पनि सामान्य कमजोरी भएकै हो भन्दा फरक पर्दैन ।’

प्रदेश सरकारमा पर्यटन मन्त्रालयमो जिम्मेवारी पाएका ग्रामीण तथा शहरी विकास मन्त्री हरि प्रसाद रिजालले आफुले बिगतमा सरकारले शुरु गरेका कामको आफुले अध्ययन गर्ने मौका नपाएको बताए । उनले मन्त्रीमात्र परिवर्तन भएको नभई मन्त्रालयको संरचना नै परिवर्तन भएकाले सबै डकुमेण्टहरु अध्ययन गर्न नपाएको भन्दै अध्ययनको अभावमा कमजोरी भएको स्विकार गरे । ‘एक दुई दिन अगाडि थाहा पाएको भएपनि मैले सानो कार्यक्रम राख्ने थिएँ, मन्त्रालयको संरचना नै परिवर्तन भएकाले मैले अध्ययन गर्नै पाईन ।’ उनले भने,-‘कोभिडको महामारीका कारण पनि कार्यक्रम तिर ध्यान नगएको पनि सत्य हो ।’

 

के हो सुजाता खिर ?

सिद्धार्थ गौतम दरवार छाडेर ज्ञानको खोजिमा बाहिरिएसँगै ज्ञान प्राप्तीका लागि उरुवेला राज्यको निरञ्जना नदीको किनारमा लामो समयदेखि तपस्या गरिरहेका थिए।

सिद्धार्थले गृहत्याग गरेपछि सोही नदी किनारमा ६ वर्षसम्म महातपस्या गरे। त्यस आसपासका धेरै गुरुको आश्रममा गएर सेवा गरे। एकपछि अर्को साधना गर्दै गए। ध्यान गरे, उपासना गरे । कैयौं दिन निराहार ब्रत बसे तर अहंकारको तृप्त अर्थात दुःखको संसार समाप्त भएन। एक दिन गुरुले भने– ‘दिनप्रतिदिन भोजन कम गर्दै जानू। जुन दिन भोजनमा एउटामात्र चामलको दाना रहन्छ, त्यो दिन ज्ञान प्राप्त हुन्छ।’

सिद्धार्थले त्यही अनुसार हरेक दिन चामलको दाना घटाउँदै भोजन गर्दै गए। ६ महिनामा एउटा चामलको दानामात्र बाँकी रह्यो र त्यही एक दाना चामलको भोजन भयो। एक दाना चामलको मात्र भोजन गर्दा पनि ज्ञान प्राप्त भएन, अपर्याप्त भोजनका कारण सिद्धार्थको शरीर पूर्णतया विनाश भयो। हड्डी र छालामात्र बाँकी रह्यो। भिक्षु परम्परा अनुसार एक दिन उरुवेलाको निरञ्जना नदी तरेर भिक्षाटनमा जानुपर्ने थियो। तर उनी नदी तर्न सकेनन्, नदि किनारमा ढले। हातखुट्टा चलेनन् । तब सिद्धार्थको चेतना भयो, ‘मलाई यो के भयो ? भवसागर तर्ने उद्देश्यले सन्यास लिएको मैले आज यो सानो नदी पनि तर्न सकिन ।’

प्राण बायुमात्र बाँकी रहेका सिद्धार्थ गौतम नदी तटमा निराहार तपस्या गरिरहेका थिए त्यही बेला एकजना सुजाता नाम गरेकी युवतीले पुजाको प्रसादको रुपमा जिर्ण शरिर लिएर तपस्या गरिरहेका सिद्धार्थलाई खिर प्रसादका रुपमा दिईन् । सिद्धार्थले सकिनसकी बिहान निरन्जना नदीमा स्नान गरेर सुजाताले दान गरेको खिर भोजन गरे। निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर र जीर्ण भइसकेको अवस्थामा सुजाता नामक युवतीले खीर खुवाएकै राती सिद्धार्थ गौतमले दिब्य ज्ञान प्राप्त गरे । बुद्ध दर्शनमा उल्लेख गरिएको यो कथाले बुद्ध धर्ममा सुजाता खीरको महत्व त्यहिबेलाबाट रहँदै आएको छ । खीरलाई सुजाता नाम गरकी युवतीले प्रदान गरेकै कारण सुजाता खीर नामाकरण गरिएको हो ।

सुजाताले दिएको खिरकै कारण सिद्धार्थको शरीरमा ऊर्जा सञ्चार भएको र वुद्धत्व प्राप्त गरेको अवसरको सम्झना तथा प्रवर्द्धनमा लुम्बिनीमा सुजाता खीर उत्सव शुरु भएको थियो ।

 

काे हुन् सुजाता ?

सिद्धार्थ गौतमको समकालीन सुजाता उरुवेला क्षेत्रको सेनानी गाउँमा बस्ने एक महिला थिइन्, जसले बुद्धलाई खिर खुवाइन्। सुजाताको दासीको नाम पूर्णा थियो, तीनै दासी पूर्णाले सिद्धार्थ गौतमलाई नाजुक अवस्थामा रुखमुनी बसेको देखेकी थिईन् ।

नदी किनारको शहरकी सुजाताले पुत्र प्राप्तीको चाहाना अनुरुप पुत्र प्राप्त भएमा सोही रुखमा खिर चढाउने भाकल गरेकी थिईन् । उनको भाकल अनुसार एकदिन सुजातालाई पुत्र प्राप्त भयो । उनले आफ्नी दासी, पूर्णालाई रूखको छेउमा भएको ठाउँ सफा गर्न पठाए जहाँ उनी खीर चढाउने भाकल गरेकी थिईन् । ठाउँ सफा गर्ने क्रममा, जब पूर्णाले गौतम बुद्धलाई त्यो रुख मुनि बसेको देखीन्, उनी उसलाई त्यो रुखको देवता ठानेर उनी आफ्नो मालिक्नी सुजातालाई बोलाउन गईन् । देवताको उपस्थिति को खबर संग प्रसन्न, सुजाता पनि तुरुन्तै त्यहाँ गाईको दूधको हलवा भरिएको सुनको थाली संगै पुगिन् र बुद्धलाई खिर चढाइन्। सुजाताले सिद्धार्थलाई ठूलो सम्मानका साथ खिर प्रस्तुत गरिन् र भनिन् -‘जसरी मेरो इच्छा पूरा भएको छ, त्यसरी नै तपाईको पनि पूरा होस्।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*