१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अन्ततः ‘५७ भाइ’ एमालेमै



काठमाडौं । झन्डै डेढ महिनाअघि भएको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू अन्ततः एमालेमै रहने भएका छन् ।

५ पुस २०७७ मा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनविरुद्धको लडाइँमा नेपाललाई साथ दिँदै आएका नेपालनिकट नेताहरूले आठ महिनापछि उनको साथ छोडेका हुन् । योबीचमा एमाले वरिष्ठ नेता नेपालले भने नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

निर्वाचन आयोगले नयाँ दल दर्तालाई मान्यता दिने दिन नजिकिँदै जाँदा उनीहरूले नेपालको साथ छोडेका हुन् । पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका ती नेताहरू र अध्यक्ष ओलीबीच सोमबार भएको बैठकमा सहमति जुटेपछि उनीहरू एमालेमै रहने निष्कर्षमा पुगेका हुन् ।

तेस्रो धारका रूपमा चिनिएका ‘५७ भाइ’ले पार्टी एकताका लागि मंगलबारसम्मको अल्टिमेटम दिएको भए पनि सोमबार नै अध्यक्ष ओलीसँग सहमति जुटेको हो । अध्यक्ष ओलीले मंगलबारभित्र १० बुँदे सहमति कार्यान्वयनका लागि चित्तबुझ्दो जवाफ नदिए आफूअनुकूल निर्णय गर्न स्वतन्त्र रहेको उनीहरूले बताउँदै आएका थिए । एमाले सचिव योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको बताए ।

२ जेठ २०७५को अवस्थामा फर्किने विषयमा अध्यक्ष ओली सहमत भएको उनको भनाइ थियो । ‘त्यो कसरी हुने भन्नेबारे मंगलबार बस्ने बैठकबाट टुंग्याउने छौं, पार्टीभित्र कसैलाई पनि पक्षपात नहुने र सबैको पुरानो जिम्मेवारी कायम हुनेछ,’ भट्टराईले भने, ‘हाम्रा पुराना जिम्मेवारीहरू कायम हुनेछन् र पार्टीभित्र कसैमाथि पनि पक्षपात हुँदैन ।

कसैमाथि पनि अन्यायपूर्ण व्यवहार हुँदैन भन्ने कुराको सुनिश्चितता पार्टी स्थायी कमिटीले गर्छ ।’ १० बुँदे कार्यान्वयनमा सहमति जुटेपछि मंगलबार स्थायी कमिटी बैठक बोलाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने बताए ।

बैठकमा २ जेठ २०७५ को स्थायी कमिटीमा रहेका नेताहरू मात्रै सो बैठकमा सहभागी हुनेछन् । एमाले स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले मंगलबार बस्ने स्थायी कमिटी बैठकले १० बुँदे प्रस्ताव कार्यान्वयनबारे निर्णय गर्दै अगाडि बढ्ने बताए । बैठकमा एमालेले कारबाही गरेका नेता नेपालसहित १४ नेताहरूबारे पनि चर्चा भएको तर त्यसबारे पनि मंगलबार बस्ने बैठकले निर्णय गर्ने उनले बताए । बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले पार्टीलाई सुदृढ गर्ने गरी छलफल भएको बताए ।

उनले बैठकले १० बुँदे प्रस्ताव कार्यान्वयनमा लाने विषयलाई यसअघिकै स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरिसकेको भए पनि त्यसमा थप जोड दिँदै मिलाउनुपर्ने प्रक्रिया मिलाएर पूर्ण रूपमा कार्यान्वयनमा लाने सहमति भएको बताए ।

‘छलफलले १० बुँदे प्रस्तावको कार्यान्वयनको प्रक्रियालाई थप तीव्रता दिने निर्णय गरेको छ र यसबारे थप निर्णय गर्न मंगलबार स्थायी कमिटीको बैठक डाकिएको छ,’ ज्ञवालीले भने, ‘यो छलफलपश्चात् पार्टी एकतामा देखिएका समस्या समाधान हुने, पार्टी दृढतापूर्वक अगाडि बढ्ने विश्वास लिएका छौं ।’

एमालेमा नेपाल समूहका नेताहरू यसअघिका पार्टी बैठकमा उपस्थित नभएकाले १० बुँदे प्रस्तावको कार्यान्वयनमा समस्या उत्पन्न भएको र मंगलबार उनीहरू बैठकमा उपस्थित भएपछि त्यस्तो अवस्था नरहने ज्ञवालीले बताए । छलफलमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र सचिव ज्ञवाली सहभागी थिए ।

नेपाल समूहलाई साथ दिँदै आएका तर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा नगएका एकता पक्षधर उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, स्थायी कमिटीका सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको सहभागिता रहेको थियो ।

पार्टी एकता पक्षधर नेताहरूले अध्यक्ष ओलीसँग १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न र नेता नेपालसँग नयाँ पार्टी दर्ताको प्रक्रियाबाट पछाडि फर्किन माग गर्दै आएका छन् । तर, नेता नेपालले नयाँ दल दर्ताको प्रक्रियाबाट पछाडि फर्केका छैनन् । यसैबीच राष्ट्रपति भण्डारी र नेपालबीच भेटघाट भएको छ ।

सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा भण्डारी र नेपालबीच भेटघाट भएको हो । एमाले विभाजन भएपछि नयाँ दल गठन गरेका नेपाल र भण्डारीबीच पार्टीलाई एकताबद्ध बनाउनेबारेमा छलफल भएको स्रोतको दाबी छ । एमाले विभाजन भएपछि राष्ट्रपतिले चासो व्यक्त गरेको स्रोतले जनाएको छ । एमाले अध्यक्ष ओली र नेपाल समूहबीच विवाद चर्किंदै गएपछि पार्टी विभाजन भएको हो ।

दुई÷दुईपटक प्रतिनिधिसभा विघटन गर्दै संविधान र लोकतन्त्रको विरोधमा ओली लागेपछि नेपालले बाध्य भएर एकीकृत समाजवादी पार्टी गठन गरेको बताउँदै आएका छन् । विस्तृत समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ६ : ४३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान