२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कांग्रेस महाधिवेशन : तीन गुट, गुटभित्रै फुट



काठमाडौं । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो ।

अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन् । कांग्रेसमा १३ औं महाधिवेशनपछि स्थापित तीन गुट छन् ।

पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । उनको गुटलाई कांग्रेसमा संस्थापन समूह मानिन्छ । अर्को गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेका छन् । उनी गत १३ औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि त्यसअघिको कोइराला गुटलाई आफ्नो थरबाट चिनाउन सफल भएका छन् ।

त्यसबाहेक कांग्रेसमा अर्को गुटको नेतृत्व कृष्णप्रसाद सिटौलाले गरिरहेका छन् । यो गुट पनि १३ औं महाधिवेशनपछि नै संस्थागत भएको हो । सिटौलासमेत पहिलो चरणमा देउवासँगै महाधिवेशनमा भिडेका थिए । त्यसपछि दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएर उनी तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन् ।

तर १३ औं महाधिवेशन भएको पाँच वर्ष पूरा भएर १४ औं महाधिवेशनमा होमिँदै गर्दा भने कांग्रेसभित्रको संस्थागत गुट नै फुटको सँघारमा पुगिसकेको छ । केही नेताहरूले भने धमाधम धार फेर्न थालिसकेका छन् ।

१४ औं महाधिवेशनमा संस्थापन समूहबाट सभापति देउवा नै सभापतिका आकांक्षी छन् । यस्तै, सो समूहबाट हालका उपसभापति विमलेन्द्र निधिले सभापतिमा दाबेदारी राखिसकेका छन् । उनले हालको संस्थापनबाट देउवाविरुद्ध विद्रोह गरेर उम्मेदवार बन्ने औपचारिक घोषणा गरिसकेका छन् ।

‘म सभापतिका लागि पूर्णरूपमा तयारीसहित अघि बढिसकेको छु, सबैसँग निरन्तर छलफलमा छु, सम्पर्कमा छु, जिल्लाका साथीहरूसँग पनि भेटघाट र संवाद भइरहेको छ,’ पार्टी सभापतिका लागि मैदानमा उत्रिएका निधिले भने ।

यस्तै, संस्थापनबाटै नेता गोपालमान श्रेष्ठ पनि सभापतिको आकांक्षी हुन् । तर, उनले अहिलेसम्म औपचारिक रूपमा मुख खोलेका छैनन् । निधि र श्रेष्ठ दुवै मैदानमा उत्रने हो भने देउवालाई चुनौती थपिन्छ ।

यसैगरी, संस्थापनइतर मानिएको पौडेल समूहबाट वरिष्ठ नेता आफैं सभापतिको मुख्य दाबेदार हुन् । उनी आफ्नो समूहमा सहमति गराएर सर्वसम्मत उम्मेदवार हुने दाउमा अघि बढ्दै आइरहेका छन् ।

सोही समूहबाट हालका महामन्त्री डा‍ शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा‍ शेखर कोइरालासमेत सभापतिका आकांक्षी हुन् । यो समूहलाई मिलाउन नेत्री सुजाता कोइराला निकै सक्रिय रहँदै आइरहेकी छन् । यस्तै नेता अर्जुननरसिंह केसीसमेत यसपटक यो गुटभित्र सहमति गराएर सभापति पद देउवाबाट फुत्काउन सक्रिय भएर लागिरहेका छन् । यो समूहबाट कोइराला परिवारबाटै सभापतिमा दाबी हुने सम्भावनासमेत छ ।

यसैगरी, कांग्रेसभित्रको अर्को गुट सिटौला समूह हो । सिटौला आफैं पनि आगामी महाधिवेशनका लागि टिम नै घोषणा गर्ने तयारीमा छन् । उनले यसअघि सीमित व्यक्तिलाई राखेर टिम बनाएको भए पनि यसपटक टिमसहित उम्मेदवारी घोषणा गर्ने बताउँदै आइरहेका छन् ।

यसैगरी, कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङलेसमेत पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । १३ औं महाधिवेशनमा गगन थापा कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धारबाट महामन्त्रीका उम्मेदवार बनेका थिए । यसपटक भने उनले महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

‘तपाईं यसपटक कुन समूहबाट उम्मेदवार रु’ भन्ने प्रश्नमा थापाले राजधानीसँग भने, ‘म गत महाधिवेशनमा कृष्ण सिटौला दाइको समूहबाट मैदानमा थिएँ, यसपटक वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला दाइ दुवैलाई एक ठाउँमा ल्याउने प्रयासमा अघि बढेको छु ।’

थापाले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ४ मा आयोजित कार्यक्रममा अग्रजमाझबाट उम्मेदवारी घोषणा गरेका थिए । त्यसयता उनी वरिष्ठ नेता पौडेल समूहले आयोजना गरेका कार्यक्रममा निरन्तर सहभागी हुँदै आइरहेका छन् । उनी पौडेल समूहले सभापतिका आकांक्षीहरूबीच एकता र सहमति हुने भनी १७ भदौमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रममासमेत सहभागी बनेका थिए ।

यस्तै, हालका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि १४औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले १०८ औं बीपी जयन्तीका अवसरमा २४ भदौमा बीपी संग्राहलय सुन्दरीजलबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका शर्माले आफ्नो निकटता सभापति देउवासँग प्रस्ट रहेको तर महाधिवेशनका विषयमा भने आफूले उम्मेदवारी मात्रै घोषणा गरेको बताए ।

‘म १३ औं महाधिवेशनमा पहिलो चरणबाट नै शेरबहादुर देउवासँगै थिए, अहिले पनि गुटगत हिसाबले कता निकट छु भन्ने प्रस्ट छ, मैले अहिले व्यक्तिगत रूपमा आफ्नो उम्मेदवारी घोषणा गरें, प्यानल बनाउने काम सभापतिको हो, महामन्त्रीको उम्मेदवारले होइन,’ शर्माले भने । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ६ : ५९ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ