७ पुस २०८२, सोमबार | December 22, 2025

गलकोटको मूर्तिकला सङ्ग्रहालयलाई गति दिन गुरुयोजना तयार गरिँदै



बागलुङ । दश देशका १५ प्रसिद्ध मूर्तिकारका कलाकृति रहेको खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय निर्माणको कामलाई गुरुयोजनामार्फत अगाडि बढाइने भएको छ । गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन उक्त सङ्ग्रहालयलाई पर्यटकीय र सांस्कृतिक सम्पदास्थल बनाउन योजनाबद्ध विकासको थालनी गर्न लागिएको हो ।

गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । ललितपुरको ‘हाबिल इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले गुरुयोजना निर्माणको जिम्मा लिएको रानाले बताए। गत मङ्गलबार कन्सल्टेन्सीले गुरुयोजनाको प्रारम्भिक प्रतिवेदनसहित प्रस्तावना र अवधारणा समेटिएको भिडियो सामग्री सार्वजनिक गरेको थियो ।

गलकोट नगरपालिकाको आयोजना र कन्सल्टेन्सीको प्राविधिक व्यवस्थापनमा भएको उक्त अन्तक्र्रियामा गुरुयोजना निर्माणबारे रचनात्मक सुझाव प्राप्त भएको अध्यक्ष रानाले बताए । “प्रारम्भिक प्रतिवेदनमाथि छलफल र परामर्श भयो, सुझाव आएका छन्, अपुग रहेका विषयलाई परिमार्जन गरी गुरुयोजनालाई पूर्णता दिन्छौँ”, उनले भने, “अबको एक महिनाभित्र गुरुयोजना बनिसक्ने छ, त्यसपछि सङ्ग्रहालयको पूर्वाधार निर्माणलाई गति दिइने छ ।”

गुरुयोजना अनुसारको संरचना बनाउन रु ३६ करोड ६५ लाख खर्च हुने प्रतिष्ठानले जनाएको छ । पूर्वाधार निर्माणको कामलाई दुई चरणमा बाँडिएको अध्यक्ष रानाले बताए । सुरुआतका दुई वर्षमा रु सात करोडको लागतमा सडक स्तरोन्नति, बगैँचा, टिकट कक्ष, प्रवेशद्वार निर्माणलगायतको काम गरिनेछ । यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गलकोट नगरपालिकाको पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गतको बजेट खर्च हुने प्रतिष्ठानले जनाएको छ । मन्त्रालयको रु चार करोड ५५ लाख तथा नगरपालिकाको रु दुई करोड ४५ लाखको लागतमा पूर्वाधार निर्माणको काम हुनेछ । सङ्ग्रहालय निर्माण र पर्यटकीय लेक घुम्टेसम्म सडक पहुँच विस्तार गर्न सो रकम खर्च गरिने छ ।

सङ्ग्रहालयमा पर्यटकीय पूर्वाधार निर्माणसँगै घुम्टे जोड्ने सडकको स्तरोन्नति पनि सोही बजेटबाट गरिने नगरप्रमुख भरत शर्मा गरैले बताए । दोस्रो चरणअन्तर्गत मूर्तिकला अध्ययन–अनुसन्धान, जडीबुटीरोपण तथा अनुसन्धान केन्द्र, नाट्यशाला, रेष्टुराँ, पोखरी, ढुङ्गेधारा, बहुउद्देश्यीय तथा प्रशासनिक भवन, पदमार्ग, शितलपाटी, वनभोजस्थललगायत संरचना बन्नेछन् ।

विसं २०७६ फागुनमा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका ढुङ्गाका मूर्तिलाई गत वर्ष नै सङ्ग्रहालयमा प्रतिस्थापन गरिएको थियो । उक्त कार्यशालामा नेपालसहित १० देशका १५ प्रसिद्ध कलाकारले मूर्ति कुँदेका थिए । कलाकारले ढुङ्गामा प्रकृति, जीवनचक्र, संस्कृति, सभ्यताबारे कला भरेका छन् । मूर्तिको शीर्षक दिने, विवरण राख्ने र साजसज्जाको काम समेत गरिने प्रतिष्ठानका अध्यक्ष रानाले बताए ।

कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटेर पुस्तिका निकाल्ने, दाताको शिलालेख राख्नेलगायत योजना प्रतिष्ठानको छ । पन्ध्र दिनसम्म कार्यशाला सञ्चालन गर्दा रु दुई करोड ३० लाखभन्दा बढी खर्च भएको थियो । कार्यशालास्थलका लागि स्थानीयवासीले झण्डै रु ३० लाखको २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । नगरप्रमुख गैरेले मूर्तिकला सङ्ग्रहालयसँगै पर्यटकीय लेक घुम्टेको एकीकृत विकासका लागि गुरुयोजनाले सघाउने उल्लेख गरे ।

सङ्ग्रहालय निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहको बजेटसहित जनसहभागिता पनि जुटाइएको छ । सङ्ग्रहालयलाई पर्यटकीय लेक घुम्टेसँग जोड्ने सडक निर्माणले गति लिँदै गएको छ । टेउवादेखि तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पु¥याउन तीन वर्षअघि काम थालिएको हो । साझेदारी कार्यक्रममार्फत छुट्टिएको सो बजेटले सडक विस्तार र स्तरोन्नतिको काम गरिने नगरपालिकाले जनाएको छ । निर्माणाधीन सङ्ग्रहालयमा नेपाली कलाकार प्रवीण श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले कुँदेको मूर्ति छ ।

यस्तै जापानका मूर्तिकार जुनीचिरो सुगीमोतो, चीनका ल्यू याङ्ग, इटालीका बेतीनो फ्रान्सेनी, फ्रान्सका जिवियर गोञ्जालेज, ताइवानका लिन लि जेन, क्यानाडाकी जुली ग्लास्पी, भारतका टुटु पटनायक, इजरायलकी तान्या प्रिमेन्जर, ब्राजिलका जर्ज लुइज सोडर र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्कोको कलाकृति राखिएको छ । सङ्ग्रहालयलाई ललितकलाको अनुसन्धान केन्द्र बनाउने दीर्घकालीन योजना रहेको अध्यक्ष राना बताउँछन् ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : ३० बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको