२६ माघ २०८२, सोमबार | February 9, 2026

‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’



काठमाडौं । चिटिक्क परेको सिमेन्टेड पानीको धारा छ तर पानी आउँदैन । धाराको टुटीबाट पानी चुहिन छाडेको दुई वर्ष भयो । गाउँका मानिसहरू धाराको टुटी हेर्दै हरेक दिन २ घण्टा लगाएर पानी लिन जान्छन् ।

गाउँमा सडक बन्यो । हर्न बजाउँदै गाडी आयो । तर, धारामा पानी आएन । खानेपानीको अभावले गाउँ नै छाडेर हिँड्नुपर्ने विकल्पबारे सोच्न थालेका छन् स्थानीय ।

रामेछापको खाँडादेवी गाउँपालिकाको माकादुमका-११ वर्षीय स्वर्णिम तामाङ त्यही धाराको टुटीमा झुन्डिएर खेल्थे । धारामा पानी आउन छाडेपछि हरेक दिनजसो स्वर्णिम बालाई सोध्छन्, ‘बा हाम्रो धारामा किन पानी नआएको ?’ प्रेम तामाङ छोराको प्रश्न सुन्छन् र पानीको मुहानै सुकेको जवाफ दिन्छन् ।

स्वर्णिम त्यतिमै रोकिँदैनन् । उनी फेरि प्रश्न गर्छन्, ‘किन मुहान सुकेको ?’ त्यसको जवाफ दिन नसक्दा उनका बाबु हैरान छन् । उनको बुझाइमा पानीको मुहान सुक्नुमा स्थानीय देवी रिसाएकी छन् । छोरा त्यतिमै रोकिँदैनन् । अर्को प्रश्न गर्छन्, ‘देवी किन रिसाएको त रु’ बालाई दिक्क लाग्छ । ‘चुप लाग जा खेल्न’ भन्दै गाग्री बोकेर पानी लिन जान्छन् ।

खाँडादेवी गाउँपालिका-६ माकादुमका स्थानीयले यो समस्या भोगेको अहिले दुई वर्ष भइसक्यो । पछिल्लो पाँच वर्षदेखि धारामा पानी कम आउने थालेको थियो । दुई वर्षदेखि भने उनीहरूको धारामा पानी आउनै छाड्यो ।

पानीको समस्या नै गाउँका जनताको सबैभन्दा ठूलो समस्या भएको बताउँछन् वडाध्यक्ष पुष्कर कार्की । उनी अहिले मुहान उत्खननको योजना बोकेर गाउँपालिकामा धाइरहेका छन् । केही वर्षअघिसम्म मोटरबाटोको योजना बोकेर धाउने गरेका उनी मुहान उत्खननको योजना बोकेर गाउँपालिका र प्रदेशसम्म धाइरहेका छन् ।

उनको अगुवाइमा नमुना मुहान उत्खननको कामसमेत भइसकेको छ । कुवापानीको कुवामा उत्खनन गर्दा पानीको स्रोत पर्याप्त भेटिएपछि उनीसँगै गाउँले पनि हर्षित भएका छन् । अब सुकेका मुहानको क्रमशः उत्खनन गरी पानी निकाल्ने योजना बनाएको वडाध्यक्ष कार्कीले बताए ।

यस वर्ष पनि सो वडामा अर्को एउटा पँधेराको पानी उत्खनन गर्ने कार्यक्रम राखिएको छ । कुवापानीमा रहेको कुवाको पानी २०७२ सालमा आएको भूकम्पपछि सुकेको थियो । त्यसपछि स्थानीयलाई पिउने पानीको निकै संकट भएको थियो ।

जथाभावी मोटर बाटो निर्माण गरेकाले पानीका मुहान सुक्न थालेको स्थानीय श्रीराम घिसिङले बताए । ‘पहिला मोटर बाटो निर्माण गरे, हामीलाई सुख नै होला भनेर मोटर बाटो बनाउनेमा नै ध्यान गयो,’ उनले भने, ‘मोटर बाटो बनाउँदा कुनै अध्ययन नै नगरीकन काम गर्दा मुहान विस्तारै सुक्दै गए ।’

उनका अनुसार रामेछापका अधिकांश पहाडी मोटर बाटो निर्माण गरिएका स्थानमा मुहान सुकेर पानी आउन छाडेको छ ।

गाउँपालिकाका अधिकांश क्षेत्रमा पानीको अभाव भएपछि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ पनि हैरान भएका छन् । उनले कुवापानीको मुहान उत्खनन गरेपछि पानी आएपछि हरेक ठाउँमा १० मिटर उत्खनन गर्ने योजना बनाएका छन् । ‘कुवामा खन्दा पानी भेटिएकाले अन्य पानी सुकेका मुहानमा पनि यसैगरी उत्खनन गर्ने हो भने पानीको मुहान भेटिने आशा पलाएको छ,’ गाउँपालिका अध्यक्ष तामाङले भने, ‘यही सिकाइको आधारमा अब सुकेको पानीका मुहान क्रमशः उत्खनन गर्दै जाने हो ।’

नेपालमा हरेक वर्ष मनसुनको सुरुवातसँगै बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपको जोखिम बढ्ने गर्छ । हरेक वर्ष बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण बर्खायाममा मात्र एक सयको हाराहारीमा नागरिकको ज्यान जाने गरेको छ भने ठूलो धनमालको क्षतिसमेत भइरहेको छ । योसँगै पानीको मुहानहरू सुक्दै गएका छन् । पछिल्लो समय ग्रामीण सडक निर्माण गर्दा वातावरणीय प्रभावको कुनै अध्ययन नगरी गरिएको निर्माणले जोखिम निम्त्याउँदै गएको वातावरणविद्हरूले बताउँदै आएका छन् ।

वातावरणविद् डा। रोशन शेरचनको बुझाइमा जथाभावी भौतिक संरचना निर्माणले प्रकृतिमा दख्खल पुगेको हो । ‘हाम्रो देशभरि नै निर्माण गरिएका अधिकांश ग्रामीण सडक वातावरणीय प्रभाव मूल्यांकनबिना नै निर्माण भएका छन्,’ उनले भने, ‘यसरी गरिएका निर्माणले पानीका मुहान सुक्ने र बाढी पहिरोको जोखिम बढी हुने गरेको हामीले देखेका छौं ।’ आजको राजधानी दैनिकमा सबिन शर्माले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ५७ बजे

जाँचबुझ आयोगको समयावधि २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५