१६ बैशाख २०८१, आइतबार | April 29, 2024

चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइदै



सौराहा । नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान सुुरु भएको छ । निकुञ्जभित्र जथाभावी फालिने फोहोरका कारण वन्यजन्तु र जैविक विविधता संरक्षणमा प्रभाव परेको भन्दै निकुञ्जलाई फोहोर शून्य बनाउने अभियान थालिएको हो ।

विश्व वन्यजन्तु कोषको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र प्राकृतिक संरक्षण कोषसँगको समन्वयमा क्रियसन नेपालले ‘फोहोर शून्य निकुञ्ज’को अवधारणासहित अभियान सुरु गरेको हो ।

अभियान सफल बनाउन निकुञ्जले छोएका स्थानीय तहको समेत समन्वय र सहकार्य जरुरी रहेको क्रियसन नेपालकी परियोजना प्रमुख सुजाता कोइरालाले जानकारी दिइन । “हामीले चितवन निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाउने गरी अभियान थालेका छौँ”, कोइरालाले भनिन, “निकुञ्जभित्र फालिने फोहोरले निकुञ्जका वन्यजन्तु तथा जैविक विविधतामै गम्भीर असर गर्न थालेको छ ।” अझै निकुञ्ज आसपासका क्षेत्रमा रहेका स्थानीय तहहरूले फोहोर फाल्ने डम्पिङ साइट जङ्गल तथा नदी किनारमा बनाउँदा पनि त्यसको प्रत्यक्ष असर वन्यजन्तुमा पर्ने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्जलाई फोहोरबाट बचाउनु राम्रो काम भएको प्रतिक्रिया दिन्छन । “बाघ, गैँडा, हात्तीजस्ता जनावर मरेर पोस्टमार्टम गर्दा त्यसको पेटमा प्लास्टिक भेटिएका उदाहरण प्रशस्त छन् । यसका लागि पनि निकुञ्जभित्र फालिने फोहोर नियन्त्रण हुन जरुरी थियो”, उनले भने ।

निकुञ्ज घुम्न आउने पर्यटकले कुरकुरे, चाउचाउ, बिस्कुट, फ्रुटीजस्ता जङ्क फुड खाएर त्यसको प्लास्टिकका खोल जथाभावी फाल्ने गर्छन् । यस्ता खोलमा हुने नुनिलो र गुलियोको मात्राले वन्यजन्तुले यस्ता प्लास्टिक चाट्दाचाट्दै निल्ने गर्छन् ।

निकुञ्जका वन्यजन्तु चिकित्सक डा. विजय श्रेष्ठ यसरी प्लास्टिक खाएको जनावर अन्ततः पाचन प्रक्रियामै असर गरेर मर्ने बताउँछन । “प्लास्टिक खाएर जनावर मर्ने त छँदै छ, अझै जङ्क फुडको स्वादले गर्दा जनावर मान्छेको समीपमा आउने र त्यसले वन्यजन्तु र मान्छेबीचको द्वन्द्व बढ्ने जोखिम पनि बढेको छ”, डा. श्रेष्ठले भने, “फोहोर शून्य निकुञ्ज कार्यक्रमले अब यो समस्या समाधान गर्ने अपेक्षा गर्न सकिन्छ ।”

प्रमुख संरक्षण अधिकृत बरालका अनुसार केही वर्षअघि पश्चिम चितवनको मेघौलीमा दुुर्लभ वन्यजन्तु पाटेबाघ मरेको अवस्थामा भेटियो । पछि त्यसको पोस्टमार्टम गर्दा त्यसले विष खाएको कुखुरा खाएर मरेको पुष्टि भयो । बुझ्दै जाँदा नदी किनारमा यसरी मरेका कुखुरा फालिएको र त्यही कुखुरा खाँदा बाघ मरेको निष्कर्षमा निकुञ्ज प्रशासन पुग्यो । यसरी जथाभावी फालिने फोहोरले जनावरमा गम्भीर प्रभाव परेको देखेर नै निकुञ्जलाई फोहोर शून्य बनाउने अवधारणा अघि सारिएको प्रमुख बरालको भनाइ छ ।

अभियानको पहिलो कार्यक्रमस्वरूप बिहीबार सौराहामा क्रियसन नेपाल, चितवन राष्ट्रिय निकुञ्ज र रत्ननगर नगरपालिकाबीच विशेष सम्झौता भएको छ । अभियानअन्तर्गत फोहोर व्यवस्थापनमा सर्वसाधारणलाई जनचेतना जगाउन निर्माण गरिएको ‘बेस्ट स्मार्ट म्युजियम’ (उत्कृष्ट फोहोर व्यवस्थापन सङ्ग्रहालय) को व्यवस्थापन, सञ्चालन र अनुगमनका लागि त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतापत्रमा निकुञ्जका तर्फबाट म्युजियमको नियमित अनुगमन गर्ने, क्रियसनले प्राविधिक सहयोग गरी सञ्चालन गर्ने र नगरपालिकाले व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख भएको नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : २५ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क